अनलाइन घरजग्गा कारोबारमा देखिएको समस्या समाधान गर्न विभागको सहजीकरण
- BFIS News
- 2026 May 24 20:02
काठमाडौँ । स्थानीय तहबाट घरजग्गा कारोबार तथा बैंक–वित्तीय संस्थामार्फत हुने धितोबन्धकी रोक्का र फुकुवा प्रक्रियामा देखिएको समस्या समाधान गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभाग ले सहजीकरण गरेको छ ।
नयाँ व्यवस्था कार्यान्वयनका क्रममा स्थानीय तह र बैंक तथा वित्तीय संस्थामा प्राविधिक तथा व्यवस्थापकीय समस्या देखिएपछि विभागले आवश्यक निर्णय गर्दै स्थानीय तह र नेपाल बैंकर्स संघ लाई पत्राचार गरेको हो ।
सेवा प्रवाहका लागि आवश्यक पूर्वाधार तयार नहुँदा कठिनाइ उत्पन्न भएपछि विभागले न्यूनतम पूर्वाधारको सूचीसमेत तयार गरेको छ । हालसम्म २२५ स्थानीय तहले भूमि व्यवस्थापन सेवा सञ्चालनका लागि पत्राचार गरे पनि पहिलो चरणमा ३५ स्थानीय तह छनोट गरी काम सुरु गर्ने तयारी भए पनि आवश्यक पूर्वाधार नपुगेपछि सेवा प्रवाहमा समस्या देखिएको विभागले जनाएको छ ।
यसलाई सहज बनाउन मानव स्रोत, कम्प्युटर तथा अन्य विद्युतीय सामग्री, इन्टरनेट कनेक्टिभिटी, दर्ता किताब तथा कार्यकक्षलगायत आवश्यक पूर्वाधारको सूची तयार गरी स्थानीय तहलाई उपलब्ध गराइएको छ । कारोबार र कर्मचारी संख्याका आधारमा उपकरण थप गर्न सकिने व्यवस्था पनि गरिएको छ । कम्प्युटर तथा उपकरणका स्पेसिफिकेसन तथा दर्ता किताबका ढाँचा समेत विभागले नै तयार गरेको छ ।
त्यसैगरी, स्थानीय तहबाट घरजग्गा सेवा सञ्चालन गर्न भू–सेवा केन्द्र, लिखत रजिष्ट्रेसन तथा जग्गा प्रशासन फाँट, नक्सा अद्यावधिक फाँट र तामेली फाँटसहितको प्रस्तावित संगठन संरचना पनि तयार गरिएको छ ।
धितोबन्धकी रोक्का तथा फुकुवा, आंशिक फुकुवा, मूल्यांकनभन्दा बढी रकममा धितो पारित तथा अन्य प्रक्रियामा देखिएको अन्योल समाधानका लागि विभागले बैंक तथा वित्तीय संस्थासँग समन्वय गर्दै आवश्यक सहजीकरण गरेको जनाएको छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)







.jpg)









प्रतिक्रिया