Nepal Life

नेपालमा महिलाका चुनौती र सम्भावना सम्बन्धी सम्मेलन सम्पन्न,  गण्डकी प्रदेशका पालिकामा महिला प्रमुख नै छैनन्

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Sat 13:46
नेपालमा महिलाका चुनौती र सम्भावना सम्बन्धी सम्मेलन सम्पन्न,  गण्डकी प्रदेशका पालिकामा महिला प्रमुख नै छैनन्
Sanima Reliance

पोखरा | नेपाल सारथी फाउन्डेसन तथा इकोनोमिक्स हब नेपालको संयुक्त आयोजनामा "नेपालमा महिला : चुनौती र सम्भावना" विषयक क्षेत्रीय सम्मेलन सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री जितप्रकाश आले मगरले गरेका थिए भने अतिथिको रुपमा पोखरा महानगरका मेयर धनराज आचार्यले पनि सम्मेलनलाई सम्बोधन गरेका थिए ।

NIMB

प्रमुख खतिथिको रुपमा सम्बोधन गर्दै मन्त्री आलेले महिला स्वयम् सशक्तीकरण हुन आवश्यक रहेको बताएका थिए । उनले राज्यको हरेक तहमा पुरुष भन्दा महिलाको उपस्थिति ज्यादा रहेको भन्दै महिलाको वर्तमान अवस्थासँग जुध्न सक्यो भनेमा उद्देश्य प्राप्ति हुने पनि बताए । 

महानगरका मेयर आचार्यले महिलाको सवालमा महानगर सधैँ काम गर्न तत्पर रहेको सुनाउँदै अन्धविश्वासबाट टाढा भएमा परिवर्तन हुन सक्ने बताए ।  सो सम्मेलनमा गण्डकी प्रदेशका विभिन्न डाटा तथा फिगर लाई पेपर प्रेजेन्ट गर्दै पोखरा विश्वविद्यालयका असोसिएट प्रोफेसर दीपेन्द्र पहरीले गण्डकी प्रदेश सरकार अरु प्रदेश सरकारका तुलनामा बढी महिलामैत्री रहेको बताएका थिए । 

त्यसै गरी पत्रकार महासंघ कास्कीकी अध्यक्ष बिमला भण्डारीले पुरुषहरूलाई महिलाको नेतृत्व अपच भएको पाएको बताइन् ।
पुरुष भन्दा महिला धेरै भएको यो गण्डकी प्रदेशलाई साँच्चिकै महिला मैत्री प्रदेश बनाउने हो भने विभिन्न नीतिगत सुधार आवश्यक रहेको पनि उनको भनाइ थियो ।

सारथी फाउन्डेसनका कार्यक्रम संयोजक अजर गुरुङले सातै प्रदेशमा प्रादेशिक सम्मेलन सकिएपछि राष्ट्रिय सम्मेलन गर्ने बताए । उनले नेपालमा महिलाको शिक्षा, स्वास्थ्यको अवस्था बारे बुझ्नका लागि कार्यक्रमको आयोजना गरेको बताए । शुभारम्भ नेपालकी अध्यक्ष शोभादेवी भण्डारीले दूर दराजका महिलाहरू अझै पनि लुटिने स्थिति रहेको र राज्यले त्यसतर्फ ध्यान नदिएको बताइन् । 

कार्यक्रमको पहिलो सत्रमा स्वास्थ्यमा महिला भन्ने विषयक रहेको थियो भने उक्त सत्रमा डाक्टर विनोद विन्दु शर्मा, डाक्टर अन्जली सुवेदी, डाक्टर सरस्वती लगायत प्यानलिस्टहरुको उपस्थिति रहेको थियो । उक्त सत्रमा महिलाहरूले स्वास्थ्य क्षेत्रमा सामना गर्नुपरेको विभिन्न चुनौतीहरू बारेमा छलफल गरिएको थियो । 

डाक्टर शर्माले मातृ मृत्युदर अहिले प्रति एक लाख जीवित जन्ममा १ सय ५१ पुगेको तथ्याङ्क बताउँदै महिला र महिला स्वास्थ्य क्षेत्रमा गण्डकी प्रदेशले निकै काम गर्न बाँकी रहेको कुरालाई महत्त्व दिएका थिए । प्रजनन स्वास्थ्य लगायतका स्वास्थ्यका वारेमा घरघरबाट छलफल सुरु हुनु पर्ने कुरा पनि उनीहरुले उठाएका थिए । आफ्नो अभिभावकले आफ्नो छोरा छोरीहरूसँग प्रजनन स्वास्थ्य लगायतका महिला स्वास्थ्यका विषयमा खुलेर आम जनमानसमा जनस्तरमा छलफल गर्नु आवश्यक रहेको उक्त प्यानलको बुझाइ थियो । 

महिलालाई अवसर विषयक दोस्रो सत्रमा माननीय डिल्लीराम सुवेदी, शुक्रराज सुवेदी, चिनु गुरुङ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिव मनमाया भट्टराई पङ्गेनी तथा जानुका पन्तको उपस्थिति रहेको थियो । उक्त प्यानलले गत चुनावमा स्थानीय तह प्रमुख एउटा महिलाले जितेको भए पनि यस चुनावपश्चात् कुनै पनि स्थानीय तहको नेतृत्व महिलासँग नरहेको कुरा अगाडि राखेको थियो । 

उक्त प्यानलका मोडरेटर शुक्रराज सुवेदीले गण्डकी प्रदेशभित्रका विभिन्न डाटाहरू केलाउँदै प्यानलिस्टहरु सँग गम्भीर प्रश्नहरू अघि सारेका थिए । गुरुङ ब्युटी पार्लरकी सञ्चालक चिनु गुरुङ तथा लेखनाथ उद्योग वाणिज्य सङ्घकी सहसचिव जानुका पन्तले महिलाहरूले व्यावसायिक क्षेत्रमा ग्रास रुटमा भोग्नु परेको समस्याहरुको बारेमा व्यापक छलफल गरेका थिए । 

त्यसै गरी मनमाया भट्टराई पङ्गेनीज्युले गण्डकी प्रदेश सरकार महिलामैत्री सरकार रहेको र बजेट लगायत यावत कुराहरूमा महिलालाई प्राथमिकतामा राखेर आफ्नो नीति तथा कार्यक्रम अगाडि ल्याएको कुरा राखेकी थिइन् । 

यसै गरी माननीय दिल्ली राम सुवेदीले गण्डकी प्रदेश महिला सम्बन्धी महिलाको विषयमा संवेदनशील रहेर कार्य सम्पादन गर्दै आएको कुरामा जोड दिएका थिए । तेस्रो सम्मेलनमा माननीय अञ्चला चौधरी,  विमला भण्डारी तथा विना सिलवाल प्यानलिस्ट रहि महिलाका लागि न्यायिक संरचना विषयमा सत्र चलेको थियो । गण्डकी प्रदेश सरकारले महिला विकास कोषलगायत विभिन्न कुराहरू समेटेर नीति तथा कार्यक्रम तथा पञ्चवर्षीय योजना अघि सार्नुपर्ने कुरा अञ्चला चौधरी सामु राखेका थिए ।

परम्परागत शैलीलाई चिर्दै महिलाहरूको लागि पनि समान अवसर सिर्जना गर्नका लागि युवा साथीहरू अग्रसर रहनु पर्ने भन्दै महिलाहरू नेतृत्वमा आउँदा एउटा सिङ्गो समाजलाई नै सुगम तथा सुन्दर बनाइ प्रगतिको बाटोतर्फ लैजाने कुरा लगायतका कुरा यो सत्रमा उठेका थिए ।

सम्मेलनलाई शुभारम्भ नेपाल, योंग इकोनोमिस्ट सोसाइटी नेपाल र आशीर्वाद क्लब अफ नेपालले सहआयोजकमा साथ दिएको सम्मेलनका निर्देशक अङ्कित सुवेदीले जानकारी दिए । महिलाका लागि अवसर सिर्जना गर्नु, उनीहरूको स्वास्थ्यमा ध्यान दिन र महिलालाई कानुनका विषयमा ज्ञान दिनु सम्मेलनको मुख्य उद्देश्य रहेको निर्देशक सुवेदीले बताए । सातै प्रदेशमा क्षेत्रीय सम्मेलन सम्पन्न भएपछि आगामी भदौ २९ गते काठमाडौँमा अन्तर्राष्ट्रिय सम्मेलन हुनेछ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया