काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले बैंकिङ क्षेत्रमा कुनै विग मर्जर नगरी नै आफ्नै पहिचान र स्थायित्व कायम गर्दै यस वर्ष सबैभन्दा पहिला २७औं वार्षिक साधारणसभा सम्पन्न गर्न सफल भएको छ। बैंकले २७ वर्षको यात्रामा आफ्नो ब्राण्ड तथा विश्वसनीयतालाई मजबुत बनाउँदै प्रतिस्पर्धी बैंकको रुपमा आफूलाई स्थापित गरेको छ।
सन् १९९८ (वि.सं. २०५४) मा पोखराबाट १२ करोडको चुक्ता पूँजीसहित क्षेत्रीयस्तरको वाणिज्य बैंकको रुपमा स्थापना भएको माछापुच्छ्रे बैंक हालसम्म कसैसँग पनि ठूला मर्जर नगरी १२ अर्ब ८ करोडभन्दा बढी चुक्ता पूँजी पु-याउन सफल भएको छ।
माछापुच्छ्रे बैंक मिति २०५४/११/०४ मा नेपाल सरकार, उद्योग मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेडको रुपमा दर्ता भएको कम्पनी हो । साथै मिति २०५७/०६/१७ मा नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न स्वीकृति प्राप्त गरी कम्पनीले मिति २०५७/०६/१७ गते देखि आफ्नो कारोबार सञ्चालन गर्दै आएको छ । साथै माछापुच्छ्रे र स्टेण्डर्ड फाइनान्स लि. गाभिई कायम भएको “माछापुच्छ्रे बैंक लिमिटेड” लाई “क” वर्गको इजाजतपत्र प्राप्त संस्थाको रुपमा वित्तीय कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट मिति २०६९/०३/११ मा स्विकृति प्राप्त गरि मिति २०६९/०३/२५ देखि माछापुच्छ्रे बैंक लिमिटेडको नामबाट कारोबार गर्दै आएको छ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष रोशन केसीले विगतका अनेकौं चुनौतीबीच पनि माछापुच्छ्रे बैंकले सशक्त नेतृत्व र दूरदृष्टिपूर्ण रणनीति मार्फत प्रतिस्पर्धी बजारमा टिक्न सफल भएको बताए। त्यस्तै, प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोईरालाले बैंकले ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखी विभिन्न नवीनतम वित्तीय सेवा तथा डिजिटल बैंकिङ प्रविधिहरू विकास गर्दै आएको जानकारी गराए।
कोईरालाका अनुसार, डिजिटल बैंकिङमा माछापुच्छ्रे बैंक अग्रणी भूमिका निर्वाह गर्दै आएको छ भने समुदायमा आधारित परियोजनाहरू तथा सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्यक्रमहरू सञ्चालन गर्दै स्थानीय विकास र सशक्तीकरणमा पनि उल्लेखनीय योगदान पुर्याउँदै आएको छ।
स्थायित्व र पारदर्शितामा केन्द्रित
जोखिम व्यवस्थापन, पारदर्शिता तथा दीर्घकालीन रणनीति तर्फ केन्द्रित रहँदै आएको माछापुच्छ्रे बैंक वित्तीय स्थायित्व तथा विश्वसनीयता कायम गर्न सफल भएको छ। यसका साथै अनुभवी नेतृत्व टोली तथा व्यवसायिकता बैंकको थप बलियो पक्ष रहेको बैंकले जनाएको छ।
बैंकले स्थापनाकालदेखि यता केहि वर्षलाई छाडेर अधिकाम्स वर्षहरुमा लगानीकर्तालाई नियमित रूपमा लाभांश वितरण गर्दै आएको छ। बोनस शेयर, हकप्रद तथा साना मर्जरमार्फत बैंकको पूँजीमा निरन्तर वृद्धि भएको छ। २०६२/६३ सालदेखि लगातार रूपमा लाभांश वितरण गर्दै आएको बैंकले शेयरधारकको विश्वास जित्दै आएको छ।
बैंकिङ क्षेत्रको चुनौती
कोभिड–१९ महामारीले विश्वभरिका अर्थतन्त्रलाई असर पारेको समयमा नेपालमा पनि पर्यटन, वैदेशिक रोजगारी, साना तथा मझौला उद्योगहरू लगायत धेरै क्षेत्रमा नकारात्मक असर देखिएको थियो। यसको प्रभाव बैंकिङ प्रणालीमा पनि पर्ने देखिएको छ। विप्रेषण आप्रवाहमा कमी, श्रमिक फिर्ता हुने क्रम तथा आन्तरिक श्रम बजारमा दबाबका कारण बैंकिङ क्षेत्रमा चुनौती थपिएको बैंकले जनाएको छ।
भावी रणनीति
माछापुच्छ्रे बैंकले व्यवसाय विस्तारका लागि व्यक्तिगत तथा साना/मझौला कर्जामा वृद्धि गर्ने, चल्ती तथा बचत खातामा निक्षेप वृद्धि गर्दै तरलता व्यवस्थापन र जोखिम नियन्त्रणमा ध्यान दिने नीति लिएको छ। आन्तरिक कार्यप्रणालीलाई थप चुस्त र पारदर्शी बनाउँदै बैंकले सरकारी तथा गैरसरकारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरूसँग समन्वय गर्दै सुमधुर व्यवसायिक सम्बन्ध विकास गर्न लागिपरेको छ।
२७ वर्षअघि पोखराबाट सुरु भएको माछापुच्छ्रे बैंकले आजको दिनसम्म आफूलाई कुनै ठूलो मर्जर विना नै सबल, स्थिर र विश्वासिलो वित्तीय संस्थाको रुपमा स्थापित गर्न सफल भएको छ। बैंकको आगामी यात्रामा नयाँ रणनीति, प्रविधि र नवाचारसहित अझ सशक्त रुपमा अघि बढ्ने अपेक्षा गरिएको छ।
काठमाडौं। बैंक स्थापनाको गौरवमय २७ वर्ष तथा बैंकिङ्ग कारोबार सञ्चालनको सफलतापूर्वक २५ वर्ष पार गरेको ऐतिहासिक अवसरमा सम्पूर्ण शेयरधनी महानुभावहरू, नियामक निकाय, ग्राहक महाभावनुहरू, कर्मचारीहरु तथा बैंकसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बद्ध सम्पूर्ण सरोकारवालाहरूबाट प्राप्त अगाध विश्वास र आत्मीय सहयोगका लागि मेरो व्यक्तिगत तर्फबाट एंव बैंक परिवारको तर्फबाट हार्दिक आभार ब्यक्त गर्न चाहन्छु ।
स्थापनाको देखि रजत जयन्तीसम्म आईपुग्दा माछापुच्छ्रे बैंकले धेरै आरोह अवरोहहरुको सामना गरेको छ । बैंकले भोगेका हरेक सजिला अप्ठ्यारा परिस्थीतीहरुमा साथ दिदै बैंकलाई यो स्थानसम्म ल्याई पुर्याउन अहम भुमिका खेल्नु हुने तपाई सम्पूर्ण शुभचिन्तकहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दै, आगामी दिनहरूमा पनि यहाँहरूको अमूल्य साथ, विश्वास र सहयोग यथावत् रहनेछ भन्ने दृढ विश्वास प्रकट गर्दछु ।
विगतका आर्थिक वर्षहरु नेपाली वित्तीय क्षेत्र र समग्र अर्थतन्त्रका लागि चुनौतीपूर्ण रहन पुग्यो । चुनौतीपूर्ण अवस्थाका बावजुद पनि बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा उल्लेख्य प्रगति हासिल गर्न सफल भएको कुरा यस गरिमामय सभामा साझा गर्न पाउदाँ अत्यन्तै खुशी लागेको छ ।
देशका हरेक समुदाय सम्म बैंकिङ्ग पहुँच विस्तार गर्ने उद्देश्यका साथ सरल, सहज र सुलभ बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएका छौ । अत्याधुनिक प्रविधि र ग्राहकमैत्री सेवा प्रणालीमार्फत आम नागरिकलाई विश्वस्तरीय वित्तीय सुविधा प्रदान गर्ने तथा बैंकिङ्ग क्षेत्रमा दिगो, विश्वासिलो र विशिष्ट पहिचान कायम गर्न हामी सदैव क्रियाशिल रहेको कुरा यहाँहरु समक्ष विदितै छ ।
दुरदराजमा रहनुभएका समुदायमा वित्तिय पहुँच, डिजिटल रुपान्तरण, सुशासन र सामाजिक उत्तरदायित्वमा आधारित मूल्यहरूमा बैंक अडिग रहँदै आएको छ । कृषि, महिला उद्यमशीलता, तथा डिजिटल सेवामा निरन्तर नवप्रवर्तन मार्फत देशको आर्थिक समृद्धिमा प्रत्यक्ष योगदान पु¥याउने बाटोमा अगाडी बढिरहेका छौं । विगतका केहि वर्षहरूमा नेपालको आर्थिक अवस्था चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको हामी सबैमा सर्वविदितै छ ।
कहिले तरलता अभाव तथा प्राथमिक पूँजी संकुचनले व्यवसाय विस्तारमा बाधा पुग्ने तथा कहिले तरलता सहज भएको अवस्थामा पनि विभिन्न कारणले व्यवसाय विस्तार गर्न नसकिएको अवस्थाबाट देशको अर्थ व्यवस्था पछिल्लो समयमा भने क्रमशः लयमा फर्कन थालेको आभाष भइरहेको छ । हरेक वर्ष हामी कुनै न कुनै रुपमा आफ्ना सेयरधनीहरुलाई आफ्नो लगानीको यथोचित प्रतिफल प्रदान गर्नका लागि हरसम्भव कोशिस गरिनै रहेका हुन्छौँ ।
यस वर्ष हामी आ.व. समाप्तीको साढे २ महिना भित्रै उचित लाभांश सहित साधारण सभामा उपस्थित हुने अवसर जुटेको छ । बैंकले नियमनकारी निकायले जारी गर्ने निर्देशन अनुरुप आफ्ना नीति तथा कार्ययोजनाहरु तर्जुमा गरि सोही अनुरुप ति नीती तथा कार्यक्रमहरुको अनुपालन गर्दै आएको कुरा यँहाहरुलाई विदितै छ । सुशासन र नीति नियमको पालनामा बैंकले शून्य सहनशीलताको नीति अपनाएको छ, जसको कडाईका लागि बैंकले कुनै किसिमको सम्झौता गरेको छैन र भविष्यमा पनि गर्ने छैन ।
विज्ञान र प्रविधिमा भएका नयाँ नयाँ परिवर्तनहरूलाई अंगाल्दै, हामी आफ्ना सेवाहरूलाई अझ सजिलो, आधुनिक र प्रभावकारी बनाउने प्रयासमा छौ ं। साथै, सबै कानुनी व्यवस्था र नियामक निकायका निर्देशनहरूको पालना गर्दै जोखिम व्यवस्थापनमा पनि उत्तिकै सतर्क रहँदै आएका छौं । नयाँ नयाँ प्रविधिले बैंकिङ्ग क्षेत्रलाई अझ सहज र सरल बनाईरहेको अहिलेको परिप्रेक्षमा नयाँ र मूल्यमा आधारित सेवा सुविधा थप गर्ने योजनामा बैंक काम गरिरहेको समेत यहाँहरुलाई अवगत गराउन चाहन्छु ।
अन्त्यमा, सभामा उपस्थित शेयरधनीज्यूहरु एवं अतिथिज्यूहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै यहाँहरुबाट प्राप्त निरन्तर सहयोग तथा सद्भावका लागि आभार प्रकट गर्दछु । बैंकलाई प्राप्त अमूल्य मार्गदर्शनका लागि नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेन्ज लगायतका सम्पूर्ण नियामक निकायहरुलाई समेत धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
साथै, बैंकको सञ्चालक समितिको मार्गदर्शन, कर्मचारी साथीहरुको मेहनत र लगनशीलता, शेयरधनी महानुभावहरु, अन्य शुभचिन्तक एवं सरोकारवालाहरुबाट प्राप्त विश्वास एवं सुझावहरु निरन्तर र यथावत कायम रहनेमा विश्वस्त छु ।
विगतका अनुभव र घटनाक्रमबाट मूल्यवान् पाठ सिक्दै, अवसर र चुनौतीलाई समयानुकूल बैंकको हितमा उपयोग गर्दै, माछापुच्छ्रे बैंकले आफ्नो उन्नत इतिहास र विश्वासिलो पहिचान निर्माण गरी आज आफ्नो स्थापना कालको २७ वर्ष सफलतापूर्वक पूरा गर्न पुगेको छ । यस यात्रामा हाम्रो मूल उद्देश्य हाम्रा ग्राहकहरुलाई आधुनिक प्रविधि र दक्ष जनशक्तिद्वारा उत्कृष्ट सेवा प्रदान गर्नु, विखण्डित पूँजीलाई एकीकृत गरी उत्पादनशील क्षेत्रमा लगानी गर्नु, लगानीकर्ताहरुलाई अधिकतम प्रतिफल दिनु, उच्चतम स्तरको संस्थागत सुशासन र नैतिक आचरण कायम राख्नु तथा देशले अवलम्बन गरेका कानुन र नियमलाई अक्षरस पालना गर्नु रहँदै आएको छ ।
गत आर्थिक वर्षमा समग्र बैंकिङ्ग क्षेत्रले चुनौतीपूर्ण अवस्था सामना गर्नुपर्यो । कर्जाको गुणस्तरमा गिरावट आउनु, बैंक तथा वित्तीय संस्थाहरूको निष्कृय कर्जा अनुपात र गैर–बैंकिङ्ग सम्पत्तिमा वृद्धि हुनु, तथा पर्याप्त तरलता रहँदा पनि व्यवसाय विस्तारमा सीमितता हुनुजस्ता परिस्थितिहरूबीच पनि माछापुच्छ्रे बैंकले उत्कृष्ट कार्यसम्पादन, स्पष्ट दृष्टिकोण र प्रभावकारी रणनीतिको सहायताले वित्तीय परिसूचकहरूमा आफ्नो स्थानलाई निरन्तर सुदृढ पार्दै विश्वसनीय, सबल र दिगो बैंकको रूपमा आफूलाई स्थापित गर्न सफल भएको छ ।
यस यात्रामा शेयरधनी महानुभावहरूले सञ्चालक समिति प्रति प्रदान गर्नुभएको विश्वास, आस्था र भरोसाले हामीलाई निरन्तर उत्साह र उर्जा दिएको छ । साथै, बैंकका कर्मचारीवर्ग, नियामक निकाय, ग्राहकवर्ग, शुभेच्छुक तथा अन्य सम्बद्ध निकायहरूसँगको सहकार्य र योगदानले बैंकलाई अझ सबल, उत्कृष्ट र विस्तारित बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
यस अवसरमा, प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा साथ, सहयोग र शुभेच्छा प्रकट गर्नुभएको सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । अब, म यहाँहरु समक्ष २०८२ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण, आर्थिक वर्ष २०८१/८२ को नाफा नोक्सान हिसाव, नाफा नोक्सान बाँडफाँड, नगद प्रवाह विवरण साथै यस अवधिमा बैंकले गरको उपलब्धि, सञ्चालनमा देखिएका चुनौतीहरू र समग्र बैंकिङ्ग क्षेत्रको पुनरावलोकन सहित सञ्चालक समितिको प्रतिवेदन लगायत अन्य सम्पूर्ण वित्तीय विवरणहरू सभा समक्ष पेश गर्दछु । यो प्रतिवेदन कम्पनी ऐन २०६३, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ र नेपाल राष्ट्र बैंकद्वारा समय–समयमा जारी भएका निर्देशनहरूको अधिनमा रही तयार गरिएका छ ।
म यस सभामा सञ्चालक समितिको तर्फबाट बैंकिङ्ग क्षेत्रको माछापुच्छ्रे बैंक लिमिटेडको सत्ताइसौं वार्षिक साधारण सभामा प्रस्तुत सञ्चालक समितिको वार्षिक प्रतिवेदन समग्र परिसूचक प्रस्तुत गर्दै बैंकको गत आर्थिक वर्षको कार्यको समीक्षा तथा व्यवसायिक रणनीति तथा भावी योजनाहरू प्रस्तुत गर्दछु ।
अन्तर्राष्ट्रिय आर्थिक परिदृश्य
कोभिड–१९ महामारी पश्चात् क्रमशः सुधार हुँदै गएको विश्व अर्थतन्त्र बढ्दो भूराजनीतिक तनाब र पछिल्लो समय ठूला अर्थतन्त्रहरूबीचको कठोर व्यापारिक नीतिले पुनः प्रभावित हुन थालेको अन्तर्राष्ट्रिय मुद्राकोषको विश्लेषण रहेको छ । फलस्वरूप, सन् २०२४ मा ३.३ प्रतिशतले विस्तार भएको विश्व अर्थतन्त्र सन् २०२५ मा २.८ प्रतिशतले मात्र बढ्ने प्रक्षेपण रहेको छ । सन् २०२४ मा १.८ प्रतिशतले विस्तार भएको विकसित अर्थतन्त्र सन् २०२५ मा १.४ प्रतिशतले विस्तार हुने र सन् २०२४ मा ४.३ प्रतिशतले विस्तार भएको उदीयमान तथा विकासोन्मुख अर्थतन्त्र सन् २०२५ मा ३.७ प्रतिशतले विस्तार हुने कोषको प्रक्षेपण रहेको छ ।
सन् २०२४ मा भारत र चीनको अर्थतन्त्र क्रमशः ६.५ प्रतिशत र ५.० प्रतिशतले विस्तार भएकोमा सन् २०२५ मा क्रमशः ६.२ प्रतिशत र ४.० प्रतिशतले मात्र विस्तार हुने कोषको प्रक्षेपण छ । विगत तीन वर्षदेखि विश्व मुद्रास्फीति घट्दै गएको छ । सन् २०२४ मा ५.७ प्रतिशत रहेको विश्वको उपभोक्ता मुद्रास्फीति सन् २०२५ मा ४.३ प्रतिशत रहने कोषको प्रक्षेपण रहेको छ । विकसित अर्थतन्त्रको मुद्रास्फीति सन् २०२४ मा २.६ प्रतिशत रहेकोमा सन् २०२५ मा २.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण छ । साथै, उदीयमान तथा विकासशील अर्थतन्त्रको मुद्रास्फीति सन् २०२४ मा ७.७ प्रतिशत रहेकोमा सन् २०२५ मा ५.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण छ ।
विश्व मुद्रास्फीति घट्ने क्रममा रहे तापनि भू–राजनीतिक तनाब र केही मुलुकहरूको कठोर व्यापार नीतिले मूल्यमा चाप पर्न सक्ने जोखिम कायमै रहेको कोषको विश्लेषण रहेको छ । मुद्रास्फीति घट्दै गएसँगै विश्वका अधिकांश मुलुकहरूले लचिलो मौद्रिक नीति अवलम्बन गर्न थालेका छन् । युरोपियन केन्द्रीय बैंकले सन् २०२४ जुनदेखि आठ पटक निक्षेप सुविधा दरलाई घटाएको छ । यसै गरी, भारतीय रिजर्भ बैंकले सन् २०२३ फेब्रुअरीदेखि ६.५ प्रतिशत कायम गरेको नीतिगत दर सन् २०२५ फेब्रुअरी यता लगातार तीन पटक घटाएर सन् २०२५ जुनमा ५.५ प्रतिशत कायम गरेको छ । पिपुल्स बैंक अफ चाइनाले २०२३ जुनमा ३.५५ प्रतिशत रहेको एक वर्षे लोन प्राइम रेट घटाएर २०२५ जुनमा ३.०० प्रतिशत कायम गरेको छ ।
अमेरिकी फेडरल रिजर्भले फेडरल फण्ड्स रेटलाई सन् २०२४ सेप्टेम्बरको ५.२५–५.५ प्रतिशतको दायराबाट तीन पटक घटाएर सन् २०२४ डिसेम्बरमा ४.२५– ४.५० प्रतिशतको दायराभित्र कायम गरी निरन्तरता दिएको छ । मुलुकको समष्टिगत आर्थिक अवस्था परिदृश्य आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धि ४.६१ प्रतिशत हुने राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुमान छ । अघिल्लो आर्थिक वर्ष आर्थिक वृद्धि ३.६७ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८१/८२ मा कृषि क्षेत्र ३.२८ प्रतिशत, उद्योग क्षेत्र ४.५३ प्रतिशत र सेवा क्षेत्र ४.२१ प्रतिशतले वृद्धि हुने अनुमान छ । अघिल्ला दुई आर्थिक वर्षहरूमा उत्पादनमूलक उद्योग, निर्माण र थोक तथा खुद्रा व्यापार उप–क्षेत्रहरू सङ्कुचनमा गएकोमा आर्थिक वर्ष २०८१/८२ मा ती सवै उपक्षेत्रहरू विस्तार हुने अनुमान छ । आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रयमासमा आर्थिक वृद्धि ४.८ प्रतिशत रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयको पछिल्लो अनुमान छ ।
निर्माणाधीन राष्ट्रिय गौरवका तथा उच्च प्राथमिकता प्राप्त पूर्वाधार आयोजनाहरूमध्ये नागढुङ्गा सुरुङमार्ग, काठमाडौं–तराई द्रुतमार्ग, पृथ्वी लोकमार्गको पोखरा–मुग्लिन सडक खण्ड, भेरी–बबई बहुउद्देश्यीय परियोजना, सिद्धबाबा सुरुङमार्गलगायतका आयोजनाहरू सम्पन्न हुने चरणमा रहेका छन् ।
यस्ता आयोजनाहरूको निर्माणपश्चात् उद्योग र सेवा क्षेत्रको क्षमता विस्तारमा सहयोग पुग्दै आर्थिक क्रियाकलाप विस्तार हुने अनुमान रहेको छ । यसै गरी, आगामी पाँच वर्षसम्म जडित जलविद्युत् क्षमता प्रत्येक वर्ष कम्तीमा एक हजार मेगावाटका दरले थपिने गरी निर्माण कार्य अघि बढेको छ ।
बङ्गलादेशसँग विद्युत् खरिद सम्झौता भई २०८२ असार १ गतेबाट विद्युत् निर्यात हुन थालेको छ । पर्यटक आगमन सङ्ख्या कोभिड–१९ अघिको अवस्थामा पुग्नुको साथै पर्यटन पूर्वाधार विस्तार भएको छ । पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन भएमा आन्तरिक तथा वाह्य पर्यटन र यससँग सम्बन्धित अर्थतन्त्रमा अग्र–पृष्ठ सम्बन्धका क्षेत्रहरूमा उत्पादन एवम् रोजगारी वृद्धि हुने सम्भावना रहेको छ ।
नेपाल सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सूचना प्रविधि सेवा निर्यातका लागि नीतिगत सहजीकरण गर्ने, साना तथा मझौला उद्यम प्रोत्साहन गर्ने लगायतका कार्यक्रम ल्याएकोले सेवा निर्यात विस्तार हुने अनुमान छ । आर्थिक वर्ष २०८२/८३ मा नेपाल सरकारले ६.० प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । तीनै तहका सरकारको बजेटमा पुँजीगत खर्चको विनियोजन अघिल्लो वर्षको तुलनामा बढेको, वित्तीय प्रणालीमा न्यून ब्याजदरसहित लगानीको लागि पर्याप्त तरलता रहेको र लगानीसम्बन्धी कानुनहरू सुधार भई लगानीको वातावरण थप अनुकूल हुँदै गएको सन्दर्भमा कृषि, सेवा र पूर्वाधार क्षेत्रको विकास तथा विस्तार भई लक्षित आर्थिक वृद्धिदर हासिल गर्न सहज हुने देखिन्छ ।
(प्रस्तुत विचार माछापुच्छ्रे बैंकका सञ्चालक समितिका अध्यक्ष रोशन के.सी को हो। प्रस्तुत विचार बैंकको २७ औं वार्षिक साधारणसभामा केसीले दिएको मन्तव्यबाट लिइएको हो।)
काठमाडौं। माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०८१/८२ को वितरण योग्य मुनाफाबाट सबैभन्दा पहिले लाभांश घोषणा गर्न सफल भई, सबैभन्दा छिटो वार्षिक साधारण सभा आयोजना गर्न पाउँदा बैंकको प्रमुख कार्यकारी अधिकृतको हैसियतमा मलाई अत्यन्तै खुशी लागेको छ।
यस उपलब्धिको निम्ति बैंकको सञ्चालक समिति, नियामक निकाय, लेखापरीक्षक, कानुनी सल्लाहकार र तपाईं सम्पूर्ण सेयरधनी महानुभावहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । साथै, शेयरधनीहरु समक्ष छोटो समय मै लाभांश वितरण गर्नको लागि अहोरात्र खटिने मेरा सम्पूर्ण कर्मचारी साथिहरू उहाँहरुले गर्नुभएको मेहनतका लागि पनि विशेष धन्यवाद दिन चाहन्छु ।
आ.व. २०८१/८२ को श्रावण महिनाको पहिलो दिनको सुरुवात गर्दै गर्दा मलाई प्रमुख कार्यकारी अधिकृतको हैसियतमा धेरै कुराहरुको चुनौती थियो तर ती सबै चुनौतीहरुलाई पार लगाउदै बैंकले गत आ. व. मा वित्तिय सूचांकहरुमा गरेको प्रगतिलाई एउटा महत्वपूर्ण उपलब्धिको रुपमा लिन चाहन्छु । पछिल्ला आर्थिक वर्षहरुमा समग्र देशको अर्थतन्त्रमा देखा परेको शिथिलताको प्रभाव बैंकिङ्ग क्षेत्रमा पनि नपरेको होइन।
देशको अर्थतन्त्रमा देखिएको मन्दीको कारणले अर्थ बजारमा संकुचन आई नयाँ नयाँ लगानीका लागि मार्ग प्रशस्त हुन नसक्दा र भएका लगानीहरुमा पनि समस्या देखा परिरहदा पनि बैंकले आफ्ना वित्तिय सूचकांकहरुमा उल्लेख्य प्रगती हासिल गर्न सफल भएको छ। गत आ.व मा हामीले खुद नाफा रु.१ अर्व ८८ करोड आर्जन गर्न सफल भयौ जुन अघिल्लो वर्षको तुलनामा ८० प्रतिशतले बढी हो ।
अघिल्ला आ.व. मा संचालन मुनाफा १ अर्व ६६ करोड रहेकोमा गत बर्ष यसलाई बढाएर ३ अर्व १४ करोड पुर्याउन सफल भयौ । गत आ.व.मा बैंकको खुद व्याज आम्दानी ५ अर्व ७५ करोड पुगेको छ भने वितरणयोग्य मुनाफा ९३ करोड ६३ लाख रहेको छ । गत आषाढ मसान्त सम्म बैंकले निक्षेप १ खर्व ८६ अर्व संकलन गरेको छ भने कर्जा लगानी १ खर्व ४३ अर्व गरेको छ ।
यसै गरी बैंकको निष्कृय कर्जा ३.९६ प्रतिशत रहेको छ । वित्तिय सूचकांकहरुको साथ साथै सेवा सुविधा विस्तारमा पनि गत आर्थिक वर्ष माछापुच्छ्रे बैंकका लागि सकारात्मक प्रगति र उपलब्धिहरूले भरिपूर्ण वर्ष रह्यो । समिक्षा अवधिमा बैंकले डिजिटल बैंकिङ्ग सेवाहरूमा विशेष ध्यान दिएर आफ्नो सेवा दायरा बढाउन सफल भयो ।
गत आ.व.मा बैंकको मोबाइल बैंकिङ्ग, अनलाइन कारोबार, र अन्य डिजिटल सेवाहरू उपभोग गर्ने ग्राहकको संख्यामा उल्लेख्य वृद्धि भएको छ । बैंकले आफ्नो सेवा प्रणालीलाई ग्राहकहरूको आवश्यकतामा केन्द्रित राखेको छ । व्यक्तिगत सेवा, छिटो र प्रभावकारी समाधान, तथा सम्बन्ध निर्माणमा बैंकले कुनै सम्झौता गरेको छैन ।
त्यस्तै बैंकले ग्राहकहरूको आवश्यकताहरूलाई सम्बोधन गर्न विभिन्न नयाँ र नविन वित्तीय सेवाहरू विकास गरेको छ । डिजिटल बैंकिङ सेवाहरूमा बैंकको अग्रणी भूमिका छ । बैंकले आफ्नो व्यवसाय विस्तारमा मात्र नभएर स्थानीय समुदायको विकास र सशक्तीकरणमा पनि ध्यान दिएको छ । समिक्षा अवधिमा समुदायमा आधारित परियोजनाहरू र सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूमा बैंक सक्रिय रूपमा संलग्न रहेको थियो ।
जोखिम व्यवस्थापन, पारदर्शिता, र दीर्घकालीन रणनीतिहरूमा बैंकले ध्यान केन्द्रित गरेको छ जसको फलस्वरुप माछापुच्छ्रे बैंक विश्वासिलो र स्थिर वित्तीय संस्थाको रुपमा स्थापित भइसकेको छ । यसका साथै बैंकको अर्को सफलताको कडि हो बलियो नेतृत्व र व्यवसायिकता । बैंकमा अनुभवी एंव व्यावसायिक नेतृत्व टोली रहेको छ, जसले माछापुच्छ्रे बैंकलाई निरन्तर प्रगति र विकासको मार्गमा अघि बढाइरहेको छ ।
सबै तहका कर्मचारीको वृत्ति विकासलाई मध्यनजर गर्दै समीक्षा अवधिमा बैंकले कर्मचारीहरुको लागि आन्तरिक, बाह्य तथा अन्तर्राष्ट्रिय तालिम तथा वृत्ति विकास कार्यक्रम संचालन गर्दै आएको छ । बैंकले संस्थाको उत्पादकत्वमा वृद्धि ल्याउन, कर्मचारीलाई आफ्नो काम कर्तव्यमा दक्ष नाउन समीक्षा वर्षमा तालिम तथा वृत्ति विकासतर्फ यथेष्ट लगानी गरेको छ । हामीले अल्पकालीन व्यवसायमा भन्दा पनि दीर्घकालिन र दिगो बैंकिङ्गमा जोड दिएका छौँ ।
बैंकलाई थप सवल र उत्कृष्ट बैंक बनाउने अभियानमा छौं । हाम्रा देशैभर छरिएर रहेका १६५ शाखाहरु मार्फत हाम्रा करिब १६०० कर्मचारीहरु यहि उद्देश्य हासिल गर्न कटिबद्ध छन् । ग्राहकको बिश्वास नै हो जसले हामीलाई आज यो स्थानसम्म ल्याएको छ । त्यसैले ग्राहकको सन्तुष्टि, सुविधाको लागि विश्वास जित्न हामी काम गर्दछौँ । प्रतिस्पर्धा र बदलिँदो बैंकिङ्ग परिप्रेक्ष्यलाई सम्बोधन गर्दै, हामी नयाँ सम्भावनाहरू पहिल्याउँदै, सुरक्षित र दिगो वित्तीय विकासका लागि कटिबद्ध छौँ ।
माछापुच्छ्रे बैंकमा काम गर्न थालेपछि मैले धेरै चुनौतीपूर्ण समयहरू अनुभव गरेको छु । अन्तराष्ट्रिय जगतमा विभिन्न समयखण्डमा भएका द्वन्द्वहरूका कारणले देखा परको आर्थिक मन्दी, कोभिड १९ लगायतका स्वास्थ्य जटिलताका वीचबाट बैंकलाई आजको अवस्थासम्म ल्याईपुर्याउनु सहज भने पक्कै थिएन । राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा देखा परेका विभिन्न उतारचढावहरुलाई पार गर्दै प्रमुख कार्यकारी अधिकृतको हैसियतमा मैले नेपाली अर्थतन्त्रमा अझ धेरै सम्भाबनाहरु देखेको छु । जुन सम्भावनाहरुलाई यथार्थमा बदल्न माछापुच्छ्रे बैंक सदैव तयार छ ।
उत्पादनमुलक क्षेत्रमा गरिने लगानीहरु, नयाँ नयाँ व्यवसाय विस्तारका लागि बैंकको तर्फबाट गर्नुपर्ने सहयोग, विशेषगरी साना तथा मझौला व्यवसाय र कृषि क्षेत्रहरूमा गरिने लगानीमा हातेमालो गर्न बैंक हरदम तत्पर रहेको छ । देशभर फैलिएर रहेका हाम्रा शाखा सञ्जाल मार्फत नेपालका सबै क्षेत्रमा पुगेर त्यहाँका व्यवसायहरूलाई सहयोग गर्ने प्रतिबद्धता सधै कायम रहिरनेछ भने व्यवसाय संगै संस्थागत समाजिक उत्तरदायित्वका क्षेत्रमा बैंकले आफुलाई सधै एक कदम अगाडी राखिरहने पनि विश्वास दिलाउन चाहन्छु ।
माछापुच्छ्रे बैंक डिजिटल बैंकिङ्ग, सुलभ सेवा, व्यावसायिक दक्षता र आर्थिक समावेशीताको माध्यमबाट नेपालको सामाजिक र आर्थिक विकासमा सक्रिय योगदान पुयाउदै हरेक नेपालीको पहिलो रोजाईको बैंक बन्न आगामी दिनमा पनि कुनै कसर बाँकि नराख्ने समेत प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।
अन्तमा, यस बैंकको उन्नति, प्रगति र सम्वृद्धिका लागि हाम्रा हरेक कृयाकलापहरुमा सदैव गहिरो अभिरुचि देखाई हामीलाई राय सुझाव दिनु हुने आदरणीय शेयरधनी महानुभावहरु, नियमनकारी निकायहरु, सञ्चार जगत, ग्राहकवर्ग लगायत यस बैंकलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपले सहयोग पुर्याउनु हुने बैंक तथा वित्तीय संस्थाहरु, अन्य संघ–संस्थाहरु, बैंक सञ्चालक समितिका सदस्यहरु तथा कर्मचारीवर्ग प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।
(प्रस्तुत लेख बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाले बैंकको २७ औं वार्षिक साधारणभसाका क्रममा दिएको मन्तव्यका आधारमा तयार पारिएको हो।)
काठमाडौं। माछापुच्छ्रे बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक वर्ष २०८१/८२ मा ९२ लाख १९ हजार ९४५ रुपैयाँ खर्चिएको छ। बैंकले शिक्षा क्षेत्रमा २८ लाख ९६ हजार, वातावरण संरक्षणको क्षेत्रमा ३१ हजार, वित्तीय साक्षरतामा ८ लाख ५६ हजार, स्वास्थ्यमा १५ लाख ७५ हजार, मानवीय सहायता र उद्धारमा २७ लाख ३९ हजार र अन्य विविध क्षेत्रमा ११ लाख २० हजार रुपैयाँ खर्चिएको हो।
वित्तीय साक्षरताबाट समावेशी समाजतर्फ
नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार माछापुच्छ्रे बैंकले वित्तीय साक्षरतामा विशेष ध्यान दिदै आएको छ। “घर-घरमा माछापुच्छ्रे बैंक” अभियान अन्तर्गत विभिन्न विद्यालय, कलेज, संघ-संस्था र स्थानीय क्लबहरूसँग सहकार्य गरी वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गरिएको थियो। साथै, एफएम रेडियो, सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममार्फत जनचेतना अभिवृद्धि गर्न सामग्रीहरू प्रचार गरिएको थियो।
शिक्षा र स्वास्थ्यमा उल्लेखनीय योगदान
शैक्षिक क्षेत्रमा बैंकले विभिन्न सरकारी विद्यालयहरूमा पूर्वाधार सुधार, शैक्षिक सामग्री वितरण तथा डिजिटल उपकरण जडानमा सहयोग गरेको छ। केही प्रमुख कार्यहरू यसप्रकार छन्:
श्री वडिमालिका आधारभूत विद्यालय, बाजुरा: शौचालय निर्माण
जीवन ज्योती आधारभूत विद्यालय, झापा: छाना मर्मत
सरस्वती आधारभूत विद्यालय, तनहुँ: शौचालय र खानेपानी मर्मत
सञ्जय साई विद्यामन्दिर, भक्तपुर: RO फिल्टर वितरण
सरस्वती आधारभूत विद्यालय, झापा: डिजिटल बोर्ड जडान
अन्य विद्यालयहरूमा शौचालय मर्मत, पंखा तथा डस्टबिन वितरण
स्वास्थ्य क्षेत्रमा, सुर्खेत आँखा अस्पताललाई आँखाको परीक्षण मेसिन, महाकाली प्रादेशिक अस्पताललाई वाटर चिलर, साथै विभिन्न स्थानीय स्वास्थ्य चौकीहरूमा आवश्यक स्वास्थ्य सामग्रीहरू प्रदान गरिएको छ।
मानवीय सहायता र सांस्कृतिक संरक्षण
बाढीपहिरो पीडितहरूलाई सहयोग स्वरूप प्रधानमन्त्री राहत कोषमा रकम प्रदान गर्नुका साथै काभ्रेपलाञ्चोकमा राहत सामग्री वितरण गरिएको छ। साथै, बैंकले स्याङ्जाको श्री गैह्राशुर मन्दिर, हलेसी महादेव मन्दिर लगायतका धार्मिक स्थलहरूको पूर्वाधार विकासमा आर्थिक सहयोग गरेको छ। इन्द्र जात्रा, महाशिवरात्रि लगायतका पर्वहरूमा पनि बैंकको सक्रिय सहभागिता रहेको थियो।
८०% खर्च, बाँकी रकम कोषमा
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा भएको रकममध्ये करीब ८० प्रतिशत खर्च गरेको छ भने बाँकी रकम आगामी वर्ष खर्च गर्नका लागि कोषमा राखिएको छ। नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन अनुसार, सबै प्रदेशमा न्यूनतम १०% खर्च गर्नुपर्ने प्रावधान पनि पूर्ण रूपमा पालना गरिएको जनाएको छ।
माछापुच्छ्रे बैंकले दिगो विकासमा वित्तीय संस्थाको भूमिका महत्वपूर्ण हुने विश्वास राख्दै सामाजिक, मानवीय तथा वातावरणीय पक्षमा योगदान गर्दै आएको जनाएको छ।