NIMB Header 2
Nepal Life

रिलायन्स स्पिनिङ मिल्सको पहिलो शेयर कारोबारमै समस्या हुने, रु. ८२०.८० किनेर रु. ५३८.३५ मा कस्ले बेच्ने!

Muktinath Bank
  • अरुण सापकोटा
  • 2025 Dec 09 14:31
रिलायन्स स्पिनिङ मिल्सको पहिलो शेयर कारोबारमै समस्या हुने, रु. ८२०.८० किनेर रु. ५३८.३५ मा कस्ले बेच्ने!
Everest Bank

काठमाडौं। नेपालको इतिहासकै सर्वाधिक महंगो आइपिओ निष्काशन गरेको रिलायन्स स्पिनिङ मिल्सको पहिलो शेयर कारोबारमै ठुलो समस्या हुने भएको छ। दोस्रो बजारमा लगानीकर्ताले पहिलो कारोबार गर्दा आइपिओ मूल्य भन्दा घाटा खाएर बिक्री गरेपछि मात्रै म्याचिङ हुनेछ।

Shikhar
NIMB

कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि प्रति कित्ता ८२०.८० रुपैयाँमा बिक्री गर्दै गर्दा दोस्रो बजारमा पहिलो कारोबार मूल्यको रेञ्ज न्युनतम २२३.५९ रुपैयाँदेखि अधिकतम ७२६.१५ रुपैयाँ पाउनेछ। यसमा पनि कम्पनीले नेपाल विद्युत प्राधिकरणलाई तिर्न बाँकी बक्यौता रकम ७५ करोड ३६ लाख घटाउने हो भने प्रति शेयर नेटवर्थ १७९ रुपैयाँमा झर्ने देखिएको छ। यस हिसावले कम्पनीको ओपनिङ रेञ्ज १७९.४५ रुपैयाँदेखि अधिकतम ५३८.३५ रुपैयाँ कायम हुनेछ।

नेपाल स्टक एक्सचेन्जका अनुसार कम्पनीले आइपिओ सूचिकृत गर्नेबेलामा पछिल्लो लेखापरीक्षण प्रतिवेदन बुझाउनु पर्नेछ। सोहि विवरण अनुसार कायम हुने प्रतिशेयर नेटवर्थका आधारमा ओपनिङ रेञ्ज तय हुनेछ। यसमा पनि कम्पनीले आइपिओ निष्काशन गरे सँगै यस्तो नेटवर्थमा अझ ठुलो गिरावट आउछ तर नेप्सेले यस्ता कुरालाई हेर्दैन। 

यसरी नेपाल धितोपत्र बोर्डले विद्यमान कानुनी व्यवस्थालाई नजर अन्दाज नगरी बुक विल्डिङ विधिका नाममा पहिलो कारोबारमै समस्या आउने गरी प्रिमियम निर्धारण गरिदिदा दोस्रो बजारमा हुने पहिलो कारोबारमा ठुलो समस्या आउने भएको हो। अव यहाँ पछिल्ला कानुनी व्यवस्था अनुसार कम्पनीको पहिलो कारोबार अधिकतम रेञ्जमा म्याचिङ भइहाल्यो भने पनि १५० रुपैयाँ भन्दा धेरै घाटा खाएर शेयर बिक्री गरेपछि मात्रै मूल्य निर्धारण हुनेछ। यसरी २०६७ सालमा जारी भएका कानुनी व्यवस्थालाई संशोधन नगरी पछिल्लो समय विकास भएका विधिलाई अपनाउन खोज्दा यस्तो समस्या आएको बजार विज्ञहरु बताउछन्।

अव धितोपत्र बोर्ड र नेप्सेले बुक विल्डिङ विधिका शेयरमा ओपनिङ रेञ्ज सम्बन्धी व्यवस्थामा संशोधन गरिहाल्यो भने पनि पुर्वाग्रही हुनेछ। र बोर्ड र नेप्सेले ठुलो रकम घुस खाएर कानुन संशोधन गरे भन्दै आरोप लाग्नेछ। यसले गर्दा रिलायन्स स्पिनिङ मिल्सको पहिलो कारोबार निकै पेचिलो विषय बन्ने देखिएको छ।

सुरुवातमै विवादित कम्पनी

यस कम्पनीले बुक विल्डिङ विधिबाट प्रिमियम मूल्य निर्धारण गर्ने वित्तीकै ठुलो विवाद भएको थियो। यो विवाद अदालतसम्म पुग्यो। निष्काशनको सूचना जारी भएर पनि लामो समय जारी गर्न नपाएको यस कम्पनीको वित्तीय अवस्था पनि निकै संकास्पद छ।

आइपिओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ९० करोड हुनेछ। यसको १०.१४ प्रतिशत अर्थात १९ करोड २६ लाख ६० हजारको आइपिओ जारी हुनेछ। जहाँ १९ लाख २६ हजार ६०० कित्ताबाट सर्वसाधारण लगानीकर्ता सँग एक अर्ब ३८ करोड ८६ लाख ९३ हजार २८० रुपैयाँ प्रिमियम उठाउनेछ। यसरी १० प्रतिशत लगानीकर्ताबाट अर्बौ रुपैयाँ उठाएर ९० प्रतिशत संस्थापकले ठुलो रकम कमाउने रणनीति अपनाइएको छ।

कम्पनीको पछिल्लो लेखापरीक्षण प्रतिवेदन अनुसार प्रतिशेयर आम्दानी २.०८ रुपैयाँ छ। तर कम्पनीको एउटा सकारात्मक पक्ष जगेडा कोषमा ५ अर्ब ३२ करोड रुपैयाँ रहेको छ। अव यसमा एक अर्ब ३८ करोड थपिनेछ। यसबाट कम्पनीले राम्रो मुनाफा आर्जन गर्न सक्छ। अर्को तर्फ कम्पनीको संस्थापक शेयर तीन जनामा केन्द्रित छ। आइपिओ निष्काशन पछि कायम हुने चुक्ता पूँजीको ४४.९३ प्रतिशत शशिकान्त अग्रवालको कायम रहनेछ भने पवल कुमार गोल्याणको २१.९५ प्रतिशत र अक्ष्य गोल्याणको २२.९८ प्रतिशत र अन्य को ८०० कित्ता मात्रै हुनेछ। अव बुक विल्डिङ विधिबाट जारी हुने लागेको १९ करोड २६ लाख ६० हजार मध्ये पनि ४० प्रतिशत संस्थागत लगानीकर्ताले पाउनेछन् भने बाँकी ६० प्रतिशत अर्थात ११ लाख ५५ हजार ९६० कित्ता शेयर सर्वसाधारणका लागी जारी गरिदैछ।

यसमा पनि वैदेशिक रोजगारमा गएका नेपालीका लागि ५७ हजार ७९८ कित्ता बिक्रीका लागि खुला गरिएको छ। सोहि बराबरको कित्ता कर्मचारीका लागि जारी गरिएको छ। यसरी दुबै समुहमा बिक्री भएर बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता सर्वसाधारणका लागि जारी गरिने भएको छ। यसमा पनि लगानीकर्ताले न्युनतम ५० कित्ताको लागि आवेदन दिनु पर्नेछ र बाँडफाँड पनि ५० कित्ताकै दरले हुनेछ।

दोस्रो बजारमा शेयर सप्लाइ कम गरेर मूल्य उचाल्ने दाउ

कम्पनीको मुनाफा दयनिय देखिए पनि जगेडा कोषमा ७ अर्ब भन्दा माथिको रकम हुनेछ। अर्को तर्फ आगामी तीन वर्ष संस्थापक लगानीकर्ताको शेयर लकिङ हुने भएकाले १९ लाख २६ हजार ६०० कित्ता मात्रै शेयर दोस्रो बजारमा खरिद बिक्रि गर्न योग्य ठहरिनेछ। यसमा पनि कतिपय शेयर खरिद बिक्री हुँदैनन्।

यसले गर्दा बजारमा कम सप्लाइ देखाएर मूल्य उकास्ने कम्पनीको दाउ छ। यसले गर्दा बैदेशिक रोजगारमा गएका नेपालीले पनि कम्पनीको शेयरमा आवेदन दिएका छन्।

अहिले बजारमा कम्पनीको शेयरलाई लिएर जति आलोचन भएको छ भविष्यमा यसको मूल्य धेरै माथि पुग्ने प्रलोभनमा सर्वसाधारण लगानीकर्ताको राम्रो आकर्षण देखिने निश्चित छ। यसमा कम्पनी राम्रो भएर भन्दा पनि कम्पनीको शेयर सप्लाइ नै प्रमुख कारण हो। अन्यथा कम्पनीको वित्तीय अवस्था खासै राम्रो छैन। रेटिङ एजेन्सीका अनुसार कम्पनीले पछिल्लो समय ९ अर्ब ३० करोड रुपैयाँ कर्जाको रेटिङ गराएको छ। जसमा तीन अर्ब ४५ करोड दीर्घकालिन कर्जा रहेको छ। त्यस्तै अल्पकालिन बैंकिङ कर्जा २ अर्ब ३७ करोड रहेको छ। बाँकी बैंकिङ सुविधाका लागितीन अर्ब २० करोडको रेटिङ गराइएको छ। कम्पनीको दीर्घकालिन कर्जाबाटै थाहा हुन्छ वित्तीय अवस्था राम्रो छैन।  

यहि कारण नेपाल धितोपत्र बोर्ड र कम्पनी विरुद्ध उच्च अदालत पाटनमा रिट परेको थियो। यहि रिटको सुनुवाइ गर्दै उच्च अदालत पाटनले परमादेश आदेश गर्दै निष्काशनका लागि बाटो खोलिदिएको छ। यसरी अदालतले आदेश दिए पनि कम्पनीको आइपिओ निष्काशनलाई लिएर लगानीकर्ताले ठुलो आशंका व्यक्त गरिरहेका छन्।

यसरी बुक विल्डिङ विधिका नाममा एउटा कमजोर कम्पनीले सर्वसाधारण लगानीकर्ता सँग अर्बौ रुपैयाँ असुल्ने अवस्थालाई पनि धितोपत्र बोर्डले बैधानिकता दिएको लगानीकर्ता संघ संघठनका पदाधिकारीले बताउदै आएका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया