NIMB Header 2
Nepal Life

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, ४ लाख ७१ हजारले दिए २० अर्बको आवेदन

National Life
  • BFIS News
  • 2025 Dec 26 10:30
रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, ४ लाख ७१ हजारले दिए २० अर्बको आवेदन
Sanima Reliance

काठमाडौं। रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले पुस ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज (पुस ११ गते) अन्तिम दिन रहेको छ। कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँट सम्पन्न गरिसकेको छ भने हाल सर्वसाधारण लगानीकर्ताहरूका लागि आईपीओ खुला गरिएको हो।

Shikhar
NIMB

कम्पनीको आईपीओमा आजसम्म ४ लाख ७१ हजार १३३ जना लगानीकर्ताले आवेदन दिइसकेका छन्। कुल २ करोड ४७ लाख कित्ता शेयरका लागि आवेदन परेको छ, जसको रकम करिब २० अर्ब ३४ करोड रुपैयाँ बराबर रहेको छ।

सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण शेयरमध्ये ५७ हजार ७९८ कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ। बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्काशन गरिएको हो। कम्पनीको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ भए पनि प्रतिशेयर निष्काशन मूल्य ८२० रुपैयाँ ८० पैसा तोकिएको छ। यसअनुसार लगानीकर्ताले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले आवेदन दिनुपर्नेछ।

बुक बिल्डिङ्ग निर्देशिका, २०७७ को दफा (१३) को उपदफा (१) बमोजिम बोलकबोल प्रणालीमार्फत योग्य संस्थागत लगानीकर्ताहरूलाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँट गरिएको थियो। सो क्रममा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण गरिएको थियो, जसमा १० प्रतिशत छुट दिँदा सर्वसाधारणका लागि प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा कायम भएको हो।

लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू, साथै सिडिएस एण्ड क्लियरिङ्गद्वारा सञ्चालित ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

शेयर निष्काशनका लागि गराइएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी सिंगल ए माइनस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले समयमै सुरक्षित रूपमा वित्तीय दायित्व वहन गर्न पर्याप्त क्षमता राख्ने संकेत गर्दछ।

रिलायन्स स्पिनिङ्ग मिल्स नेपालका धागो उत्पादन गर्ने उद्योगहरूमध्ये रोजगारी प्रदान गर्ने सबैभन्दा ठूला उद्योगहरूमध्ये एक हो। कम्पनीले आफ्नो कुल उत्पादनको ७० देखि ७५ प्रतिशतभन्दा बढी हिस्सा भारत, टर्की, भियतनाम, युकेलगायत विभिन्न मुलुकहरूमा निर्यात गर्दै आएको छ। कम्पनीका अध्यक्ष पवन कुमार गोल्याण रहेका छन् भने प्रबन्ध सञ्चालक अक्षय गोल्याण हुन्।

कम्पनीको मुख्य उद्योग ‘ए’ इटहरी उपमहानगरपालिका वडा नं. १२, खनार, सुनसरीमा अवस्थित छ भने शाखा उद्योग ‘बी’ इटहरी उपमहानगरपालिका वडा नं. ४, दुहबी, सुनसरीमा रहेको छ। कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ६.७५ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १०.६१ वर्ष रहेको विवरणमा उल्लेख गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया