NIMB Header 2
Nepal Life

पुस २२ गतेदेखि सुपर खुदी हाइड्रोपावरको आईपीओ निष्काशन

National Life
  • BFIS News
  • 2025 Dec 28 12:39
पुस २२ गतेदेखि सुपर खुदी हाइड्रोपावरको आईपीओ निष्काशन
Sanima Reliance

काठमाडौं। सुपर खुदी हाइड्रोपावर लिमिटेडले पुस २२ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने भएको छ।

Shikhar
NIMB

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पुँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको छ। सोमध्ये १५ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १५ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको छ।

आयोजना प्रभावित क्षेत्रअन्तर्गत ४० प्रतिशत अर्थात ६ लाख २० हजार कित्ता शेयर लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नं. २ र ३ का स्थानीय बासिन्दाहरूमा बाँडफाँट गरिनेछ। बाँकी ६० प्रतिशत अर्थात ९ लाख ३० हजार कित्ता शेयर मर्स्याङ्दी गाउँपालिका वडा नं. १, ४, ५, ६, ७, ८ र ९ का स्थानीय बासिन्दाहरूमा बाँडफाँट गरिनेछ।

त्यसैगरी, सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात १ करोड ५५ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ५५ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिनेछ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि आवेदन छिटोमा माघ ६ गते र ढिलोमा माघ २१ गते बन्द हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने आवेदन छिटोमा पुस २५ गते र ढिलोमा माघ ६ गते बन्द हुने कम्पनीले जनाएको छ।

आईपीओ निष्काशनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरिरहेको २६ मेगावाट क्षमताको माथिल्लो खुदी जलविद्युत आयोजनाको कुल लागत ५ अर्ब ३८ करोड ४ लाख ११ हजार रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत २ करोड ६ लाख ९३ हजार रुपैयाँ रहेको यस आयोजनाको विद्युत उत्पादन अनुमतिपत्रको अवधि २७ वर्ष ५ महिना बाँकी रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.२१ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १३.४२ वर्ष रहेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले प्रभु बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक र प्राइम कमर्सियल बैंकको बेसीशहर शाखा तथा हिमालयन बैंकको भुलभुले शाखाबाट आवेदन दिन सक्नेछन्। स्थानीय बासिन्दाहरूले दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क तिर्नुपर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत ‘सी–आस्बा’ प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया