रिज लाइन इनर्जीको आईपीओमा आजदेखि आवेदन खुला
- BFIS News
- 2025 Dec 28 12:44
काठमाडौं। रिज लाइन इनर्जी लिमिटेडले आज (पुस १३ गते) देखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी पुँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको छ। सोमध्ये ११ करोड ८५ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ११ लाख ८५ हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको छ।
आयोजना प्रभावित क्षेत्रअन्तर्गत गोरखा जिल्लाको अजिरकोट गाउँपालिकाका सम्पूर्ण वडा तथा लमजुङ जिल्लाको दुधपोखरी गाउँपालिकाको वडा नं. १, २ र ३ तथा दोर्दी गाउँपालिकाको वडा नं. ४, ५ र ६ का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्।
यसका साथै, सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात १ करोड ४२ लाख २० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ४२ हजार २०० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको छ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि आवेदन छिटोमा पुस २८ गते र ढिलोमा माघ १२ गते बन्द हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने आवेदन छिटोमा पुस १७ गते र ढिलोमा पुस २८ गतेसम्म दिन सकिनेछ।
आईपीओ निष्काशनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरिरहेको ९.०५ मेगावाट क्षमताको सुपर चेपे जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ९ करोड ६० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २३ करोड १६ लाख रुपैयाँ रहेको छ। उक्त आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि ३० वर्ष ११ महिना बाँकी रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७ वर्ष ४ महिना र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १० वर्ष ९ महिना रहेको छ। कम्पनीले उक्त आयोजनाबाट २०८० माघ ८ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत बिक्री गर्दै आएको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले रिज लाइन इनर्जी आयोजना कार्यालय, गोरखा, प्रभु क्यापिटल लिमिटेड, कमलादी तथा प्रभु बैंकका छेपेटार र पालुङटार शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, प्रभु क्यापिटलले सञ्चालन गरेको अनलाइन पोर्टलमार्फत पनि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले दरखास्त फाराम शुल्कबापत २ रुपैयाँ तिर्नुपर्नेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत ‘सी–आस्बा’ प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)


















प्रतिक्रिया