NIMB Header 2
Nepal Life

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँड सम्पन्न, १८ हजार ४९५ जना आवेदकले पाए ५०–५० कित्ता

National Life
  • BFIS News
  • 2026 Jan 02 12:55
रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँड सम्पन्न, १८ हजार ४९५ जना आवेदकले पाए ५०–५० कित्ता
Sanima Reliance

काठमाडौं। रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बाँडफाँड औपचारिक रूपमा सम्पन्न गरेको छ। अत्यधिक लगानीकर्ताको माग परेपछि शुक्रबार गोलाप्रथामार्फत आईपीओ बाँडफाँड गरिएको हो। कम्पनीको जारी पुँजी १ अर्ब ९० करोड रुपैयाँ रहेको छ।

Shikhar
NIMB

कम्पनीले पुस ७ गतेदेखि पुस ११ गतेसम्म प्रति कित्ता ८२० रुपैयाँ ८० पैसाको दरमा सर्वसाधारणका लागि कुल ९ लाख २४ हजार ७६८ कित्ता साधारण सेयर निष्कासन गरेको थियो। उक्त निष्कासनमा ५ लाख ३२ हजार ८८८ जना आवेदकबाट २ करोड ७२ लाख १५ हजार १०० कित्ता सेयरका लागि आवेदन परेको थियो, जुन प्रस्तावित सेयरभन्दा धेरै हो।

कुल आवेदनमध्ये ५ लाख १९ हजार ४६ आवेदन स्वीकृत भएका छन् भने प्राविधिक तथा कागजातसम्बन्धी कारणले १३ हजार ८४२ आवेदन अस्वीकृत भएका छन्।

आईपीओ अत्यधिक मात्रामा ओभरसब्सक्राइब भएकाले नियामक निर्देशनअनुसार गोलाप्रथामार्फत बाँडफाँड गरिएको हो। यस क्रममा १८ हजार ४९५ जना आवेदकलाई ५०–५० कित्ता सेयर बाँडफाँड गरिएको छ। बाँकी रहेका १८ कित्ता सेयर १८ जना भाग्यमानी आवेदकलाई एक–एक कित्ताका दरले थप बाँडफाँड गरिएको हुँदा ती आवेदकले ५१ कित्ता सेयर प्राप्त गरेका छन्।

रिलायन्स स्पिनिङको आईपीओ २९.४२ गुणा ओभरसब्सक्राइब भएको थियो। यसअनुसार करिब २८ जनामध्ये १ जनाले मात्र सेयर पाउन सफल भएका छन् भने बाँकी आवेदक खाली हात परेका छन्।

यसअघि कम्पनीले बुक बिल्डिङ प्रक्रियाअन्तर्गत माघ १० गतेदेखि माघ १४ गते, २०८० सम्म योग्य संस्थागत लगानीकर्ता (QII) का लागि प्राथमिक सेयर निष्कासन गरेको थियो, जसको बाँडफाँड माघ १५ गते सम्पन्न गरिएको थियो।

कुल मिलाएर रिलायन्स स्पिनिङ मिल्सले आफ्नो जारी पुँजीको १०.१४ प्रतिशत बराबर १९ लाख २६ हजार ६ सय कित्ता सेयर निष्कासन गरेको हो। यसमध्ये ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६४० कित्ता सेयर QII लाई बाँडफाँड गरिएको छ भने बाँकी ६० प्रतिशत अर्थात् ११ लाख ५५ हजार ९६० कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो। सर्वसाधारण भागमध्ये १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आरक्षित गरिएको थियो। बाँकी १० लाख ४० हजार ३६४ कित्ता सेयर पुस ७ गतेदेखि पुस ११ गते, २०८२ सम्म सर्वसाधारणका लागि निष्कासन गरिएको हो।

बुक बिल्डिङ विधिअनुसार गरिएको यस आईपीओमा सर्वसाधारणका लागि सेयर मूल्य प्रति कित्ता ८२० रुपैयाँ ८० पैसा तोकिएको थियो। QII का लागि गरिएको प्राथमिक निष्कासनमा कट–अफ मूल्य प्रति कित्ता ९१२ रुपैयाँ निर्धारण गरिएको थियो। नियमानुसार सर्वसाधारणका लागि कट–अफ मूल्यभन्दा १० प्रतिशत कम दरमा सेयर उपलब्ध गराइएको हो।

सर्बोत्तम सिमेन्ट लिमिटेडपछि नेपालमा बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासन गर्ने रिलायन्स स्पिनिङ मिल्स दोस्रो कम्पनी बनेको छ।

केयर रेटिङ्स नेपाल लिमिटेड (CRNL) ले रिलायन्स स्पिनिङ मिल्स लिमिटेड (RSML) लाई ‘क्रेडिट वाच–डेभलपिङ’ श्रेणीमै कायम राखेको छ। कम्पनीको जारीकर्ता रेटिङ CARE-NP A- (Is) यथावत् रहेको छ, जसले पर्याप्त सुरक्षा र कम कर्जाजोखिम संकेत गर्दछ। त्यस्तै, कम्पनीका दीर्घकालीन (CARE-NP A-) र अल्पकालीन (CARE-NP A2+) बैंक कर्जा सुविधासम्बन्धी रेटिङ पनि उही अवस्थामा कायम गरिएको छ।

रिलायन्स स्पिनिङ मिल्स प्रालि २०५१ सालमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हो। ४ हजार ३०० भन्दा बढी कर्मचारी रहेको यो कम्पनी देशकै सबैभन्दा ठूलो स्पिनिङ उद्योगमध्ये एक हो। कम्पनीले अन्तर्राष्ट्रिय स्तरको पोलिएस्टर, भिस्कोस तथा एक्रिलिक धागो उत्पादन गरी मुख्यतः भारत र टर्की लगायतका देशमा निर्यात गर्दै आएको छ। सुनसरीको खानार र दुहबीमा रहेका दुई उत्पादन इकाइमार्फत कम्पनीले सञ्चालन गरिरहेको छ। सन् २०२१ जुलाईको मध्यसम्म कम्पनीको कुल वार्षिक उत्पादन क्षमता ४० हजार ६८० मेट्रिक टन रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया