पाल्पा सिमेन्टले फागुन १२ देखि सर्वसाधारणका लागि ४५ लाख कित्ता आईपीओ खुलाउने
- BFIS News
- 2026 Feb 11 09:20
काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले फागुन १२ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ।
उद्योग प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयर बाँडफाँट प्रक्रिया पूरा गरेपछि कम्पनीले सर्वसाधारणतर्फको निष्काशन सुरु गर्न लागेको हो।
कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत बराबर ७५ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो। यसमध्ये १८ लाख ७५ हजार कित्ता उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई र ५ लाख ६२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको थियो। त्यस्तै २ लाख ८१ हजार २५० कित्ता सामूहिक लगानी कोष र सोही संख्यामा शेयर कम्पनीका कर्मचारीलाई वितरण गरिएको छ।
अब बाँकी रहेको ४५ लाख कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिनेछ। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका यी शेयरमार्फत कम्पनीले ४५ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। छिटोमा फागुन १५ गते र ढिलोमा फागुन २६ गते निष्काशन बन्द हुनेछ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई ‘आईआरएन डबल बी प्लस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम संकेत गर्छ।
कम्पनीका अनुसार नेट प्रेजेन्ट भ्यालु १२ अर्ब ९९ करोड ८७ लाख रुपैयाँ छ भने इन्टरनल रेट अफ रिटर्न १३.७८५ प्रतिशत रहेको छ। साधारण आधारमा लगानी फिर्ता अवधि ६ वर्ष ८ महिना र छुट दरमा गणना गर्दा ९ वर्ष १२ महिना रहेको उल्लेख गरिएको छ।
उद्योगका लागि १० बिघा १३ कठ्ठा १२ धुर क्षेत्रफल प्रयोगमा रहेको छ भने खानी क्षेत्र १७२ रोपनीभन्दा बढी फैलिएको छ। कम्पनीले २०७६ बैशाखदेखि क्लिंकर र २०७७ बैशाखदेखि सिमेन्ट उत्पादन गर्दै आएको छ। दैनिक क्लिंकर उत्पादन क्षमता १,८०० मेट्रिक टन र सिमेन्ट उत्पादन क्षमता २,२०० मेट्रिक टन रहेको छ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले सम्हालेको छ। लगानीकर्ताले सी–आस्बा प्रणालीमार्फत स्वीकृत बैंक तथा वित्तीय संस्थाबाट तथा ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरेर आवेदन दिन सक्नेछन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)










.jpg)






प्रतिक्रिया