NIMB Header 2
Nepal Life

शेयर लगानीकर्तालाई ‘पुँजीगत लाभकर अन्तिम हो’ भने पनि आर्थिक विधेयकमा व्यवस्था नभएको आरोप

IME LIFE
  • BFIS News
  • 2026 Jun 22 16:16
शेयर लगानीकर्तालाई ‘पुँजीगत लाभकर अन्तिम हो’ भने पनि आर्थिक विधेयकमा व्यवस्था नभएको आरोप
United Ajod

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शेयर लगानीकर्तालाई पुँजीगत लाभकर अन्तिम हुने भन्दै आश्वस्त पारे पनि आर्थिक विधेयकमा त्यससम्बन्धी स्पष्ट व्यवस्था नभएको भन्दै प्रश्न उठेको छ । बजेट वक्तव्य र आर्थिक विधेयकमा फरक व्याख्या रहेको भन्दै लगानीकर्ताले आगामी दिनमा झनै बढी कर तिर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।

 

Nepal Life
NIMB

अर्थमन्त्री वाग्लेले बजेट वक्तव्य सार्वजनिक गरेपछि आयोजित पत्रकार सम्मेलनमा पुँजीगत लाभकर अन्तिम हो कि होइन भन्ने अन्योल नरहेको र यो अन्तिम नै हुने बताएका थिए । तर आर्थिक विधेयकमा भने पुँजीगत लाभकरलाई अन्तिम करका रूपमा स्पष्ट उल्लेख नगरिएको दाबी गरिएको छ ।

हाल चालु आर्थिक वर्षको असार मसान्तसम्म शेयर कारोबारबाट भएको नाफामा एक वर्षभित्र बिक्री गरिएको शेयरबाट प्राप्त लाभमा ७ प्रतिशत र एक वर्षभन्दा बढी समय राखेर बिक्री गरिएको शेयरबाट प्राप्त लाभमा ५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ ।

तर आगामी आर्थिक वर्षदेखि करको दर बढाइएको छ । नयाँ व्यवस्थाअनुसार एक वर्षभित्र बिक्री गरिएको शेयरबाट भएको लाभमा १० प्रतिशत र एक वर्षभन्दा बढी समय राखेर बिक्री गरिएको शेयरबाट भएको लाभमा ७ दशमलव ५ प्रतिशत कर लाग्नेछ ।

लगानीकर्ताका अनुसार आयकर ऐनअनुसार पुँजीगत लाभकरलाई अन्तिम करको रूपमा कायम गर्ने स्पष्ट व्यवस्था नभएकाले अर्थमन्त्रीको घोषणासँग व्यवहारिक व्यवस्था मेल खाएको छैन ।

अन्य व्यवसायबाट हुने आम्दानीमा उच्च दरमा कर लाग्ने अवस्थामा शेयर कारोबारमा मात्रै सीमित दरको करलाई अन्तिम कर बनाउने विषयमा समेत कानुनी जटिलता रहेको जानकारहरू बताउँछन् ।

सरकारले आयकरबाट ठूलो मात्रामा राजस्व संकलन गर्दै आएको छ । शेयर कारोबारबाट हुने आम्दानीलाई अन्तिम करको दायरामा राखेमा सरकारको राजस्व संरचनामा समेत प्रभाव पर्न सक्ने विश्लेषण गरिएको छ ।

लगानीकर्ताहरूले बजेट घोषणाअनुसार आर्थिक विधेयकमा समेत स्पष्ट व्यवस्था गर्नुपर्ने माग गरेका छन् । अर्थमन्त्रीको प्रतिबद्धता र कानुनी व्यवस्थाबीच देखिएको फरकले शेयर बजारमा थप अन्योल सिर्जना गरेको उनीहरूको भनाइ छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया