NIMB Header 2
Nepal Life

स्मार्ट लगानीकर्तालाई करोडपति बनाउने सेयर बजारमा कसरी प्रवेश गर्ने ?

Muktinath Bank
  • BFIS News
  • 2024 Oct 13 20:33
स्मार्ट लगानीकर्तालाई करोडपति बनाउने सेयर बजारमा कसरी प्रवेश गर्ने ?
Everest Bank

काठमाडौं । सेयर बजारबाट लगानीकर्ताले विभिन्न प्रकारका धितोपत्रहरूमा अल्पकालीन वा दीर्घकालीन लगानी गरी मुनाफा आर्जन गर्ने वा आफ्नो लगानी अभिवृद्धि गर्न सक्दछन् । सेयर बजारमा कारोबार गर्ने क्रममा विभिन्न व्यक्तिगत तथा संस्थागत लगानीकर्ताहरू संलग्न रहेका हुन्छन् ।

Shikhar
NIMB

नेपाली पूँजीबजार अन्तर्गत हाल प्राथमिक बजारमा ऋणपत्र र सामूहिक लगानी योजना बाहेकको निष्कासनमा व्यक्तिगत लगानीकर्ताहरूलाई मात्रै आईपीओमा सहभागी हुन दिइएको छ । यसरी गरिएको व्यवस्था अनुरूप आईपीओमा गरिएको लगानीमा प्रतिफल सुनिश्चित जस्तै भएकाले नेपाली लगानीकर्ताहरूमाझ यो प्रकारको लगानी निकै लोकप्रिय छ ।

धितोपत्रको दोस्रो बजार अन्तर्गत आईपीओ जारी गरेका कम्पनी वा संगठित संस्थाका धितोपत्रहरूलाई सूचीकृत गरी कारोबार गर्ने व्यवस्था मिलाइएको हुन्छ । नेपालमा हाल एउटा मात्रै धितोपत्रको दोस्रो बजार रहेको छ । यसलाई नेपाल स्टक एक्सचेन्ज लिमिटेड भनिन्छ ।

यस एक्सचेन्जमा हाल विभिन्न धितोपत्र जस्तै सूचीकृत संगठित संस्थाका संस्थापक सेयर, सर्वसाधारण समूहका शेयर, अग्राधिकार शेयरका साथै सरकारी ऋणपत्रहरू, कर्पोरेट डिबेन्चर, बण्ड तथा सामूहिक लगानी योजनाहरू सूचीकृत रहेका छन् ।

सेयर बजारले कसरी काम गर्दछ ?

सर्वप्रथम सूचीकृत हुन चाहने संगठित संस्थाले नेपाल धितोपत्र बोर्डसमक्ष प्रारम्भिक निष्काशनका लागि आवेदन दिएको हुन्छ । यसरी आवेदन दिएपछि उक्त संस्थालाई आईपिओ स्वीकृति दिने–नदिने सबै सर्वाधिकार नेपाल धितोपत्र बोर्डसमक्ष रहेको हुन्छ ।

नेपाल धितोपत्र बोर्ड नेपाली पूँजी बजारको सर्वोच्च नियामक निकाय हो । यसले सूचीकृत कम्पनीहरू, धितोपत्रको दोस्रो बजार स्टक एक्सचेन्ज, राफसाफ तथा केन्द्रीय निक्षेप निकाय सीडीएस एण्ड क्लियरिंग, मर्चेन्ट बैंकर, धितोपत्र दलाल व्यवसायी तथा लगानीकर्ताहरू सबैलाई प्रत्यक्ष रूपले व्यवसाय सञ्चालन अनुमति प्रदान गर्ने तथा करोबार गर्ने अनुमति दिनुका साथै सुपरीवेक्षण र कारबाही गर्ने काम गर्दछ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त भएपछि सूचीकृत कम्पनीहरूले आफ्नो सेयर सर्वसाधारणमा निष्काशन गर्दछन् । यसरी निष्कासन भएको सेयरमा लगानीकर्ताहरूले आस्बा प्रणालीमा आबद्ध भई आवेदन दिएका हुन्छन् । यसरी प्राप्त आवेदनहरूको आधारमा कम्पनीले योग्य आवेदकहरूको सूची निकाली उनीहरूलाई धितोपत्र बाँडफाँट गर्दछ ।

यसरी धितोपत्रको बाँडफाँट भएपश्चात् उपरोक्त कम्पनी धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरण हुन पुग्दछ । सूचीकरणसँगै उक्त कम्पनीले केन्द्रीय निक्षेप निकाय सीडीएस एण्ड क्लियरिंग लिमिटेडमा अभौतिकीकरण हुने कार्य सम्पन्न गर्नुपर्दछ ।

यसरी कम्पनीले आफ्नो सूचीकृत शेयरहरूलाई अभौतिकीकरणमा रूपान्तरण गरेपछि शेयर रजिष्ट्रार मर्चेन्ट बैंकर नियुक्त गर्नुपर्दछ । यसरी शेयर रजिष्ट्रार नियुक्त भएपछि उसले बाँडफाँटमा परेका सबै लगानीकर्ताहरूको हितग्राही खातामा शेयर हस्तान्तरणको कार्य गर्दछ ।

कम्पनीको यति प्रक्रिया पूरा भएसँगै अर्कोतर्फ नेपाल स्टक एक्सचेन्ज लिमिटेडले सूचीकृत कम्पनीलाई कारोबार खुला हुने मूल्यको रेन्ज प्रदान गर्दछ । यसरी दिएको रेन्जभित्र रहेर विशिष्टीकृत कारोबार समय अर्थात् स्पेसन प्रिओपनिङ सेसनमा उक्त कम्पनीको कारोबार भएको खण्डमा उक्त कम्पनीको सेयरलाई नियमित कारोबार समयमा लगानीकर्ताहरूले निरन्तर खरिद–बिक्री गर्न सक्दछन् ।

यसरी सूचीकृत भएपछि कम्पनीले प्रत्येक ३/३ महिनामा आफ्नो कम्पनीको हरहिसाब तथा अन्य जानकारीहरू सहित तोकिएको ढाँचामा त्रैमासिक वित्तीय प्रतिवेदन पत्रपत्रिका मार्फत सार्वजनिक गर्नुपर्दछ ।

यसका साथै सूचीकृत कम्पनीहरूले आफ्नो कम्पनीमा हुने प्रत्येक घटना जसले शेयर मूल्यलाई प्रभावित पार्दछ आदिलाई नेप्से मार्फत सर्वसाधारणमा जानकारी गराउनुपर्दछ । यसरी एउटा कम्पनी सेयर बजारमा आएपछि यसले पारदर्शिता कायम गर्नुका साथै संस्थागत सुशासन कायम गराउनेतर्फ कम्पनीलाई जिम्मेवार बनाउँदछ ।

सेयरमा कसरी लगानी गर्ने ?

सेयरमा चार किसिमले लगानी गर्न सकिन्छ । पहिलो, प्रारम्भिक सार्वजनिक निष्कासन (इनिसियल पब्लिक अफरिङ- आईपीओ) जसमा सामान्यतया तपाईंले एक हजार रुपैयाँ वा सोभन्दा बढी लगाएर लगानी सुरु गर्न सक्नुहुन्छ ।

दोस्रो, थप निष्कासन (फरदर पब्लिक अफरिङ, एफपीओ) मा सहभागी हुने । कुनै कम्पनीले अगाडि नै आईपिओ जारी गरिसकेको रहेछ र फेरि थप पूँजी संकलन गर्न खोजिरहेको छ भने यो प्रक्रियालाई एफपीओ भनिन्छ ।

तेस्रो, कम्पनीले विद्यमान लगानीकर्तालाई धितोपत्र जारी गर्छ । यो लगानीकर्ताहरूलाई पहिले नै निश्चित दरमा थप खरिद गर्न दिने प्रक्रियालाई हकप्रद सेयर जारी गर्ने भनिन्छ।

चौथो, धितोपत्र दलाल (ब्रोकर) मार्फत दोस्रो बजारमा सूचीकृत कम्पनीहरूको शेयर खरिद गर्न पनि सकिन्छ । सामान्यतया शेयरमा लगानी गर्ने भन्दा ब्रोकर मार्फत दोस्रो बजारबाट सेयर खरिद गर्ने भन्ने बुझिन्छ ।

सेयर बजारका महत्वपूर्ण संस्थाहरू
नियामकः नेपालको शेयर बजार नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नियमन गर्छ । बजार सम्बन्धी कानून तर्जुमा तथा कार्यान्वयन गर्ने, धितोपत्र दर्ता तथा निष्काशनका लागि अनुमति प्रदान गर्ने, बजार सम्बद्ध संस्थाहरू (स्टक एक्सचेन्ज, ब्रोकर, मर्चेन्ट बैंकर आदि) लाई लाइसेन्स प्रदान गर्ने, सुपरीवेक्षण गर्ने, दण्ड–सजाय गर्ने लगायत काम सेबोनले गर्छ ।

स्टक एक्सचेन्जः नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दोस्रो बजार सञ्चालन गर्छ । यो नेपालको एक मात्र स्टक एक्सचेन्ज हो । यहाँ लगानीकर्ताले शेयर, बन्ड र म्युचुअल फन्डका एकाइहरू धितोपत्र दलाल (ब्रोकर) मार्फत खरिद र बिक्री गर्छन् ।

कारोबार समयः नेप्सेमा तीन वटा कारोबार सत्रहरू छन् ।

विशिष्टीकृत प्रारम्भिक सत्र – बिहान १० : ३० देखि १० : ४५ बजेसम्म (आईपीओ पश्चात् सूचीकृत कम्पनीको पहिलो कारोबार हुने सत्र)

प्रारम्भिक सत्र – बिहान १० : ३० देखि १० : ४५ बजेसम्म (बजार खुल्नुअघि नै दैनिक कारोबार खुला मूल्य सिर्जना गर्न सञ्चालन गरिने सत्र)

नियमित सत्र – बिहान ११ : ०० देखि दिउँसो ३ : ०० बजेसम्म (नियमित कारोबार सत्र)

अन्तिम सत्र – हाल नेप्सेमा यस सत्रको व्यवस्था रहेको छैन । खासमा यस सत्रको व्यवस्था कारोबार समय सकिनु कम्तीमा पनि ३० मिनेट अघिदेखिको समयलाई लिइने गरिन्छ ।

यस सत्रमा हुने कारोबारका आधारमा नै दैनिक अन्तिम मूल्य घोषणा गर्नुका साथै दैनिक नेप्से लगायत अन्य परिसूचकहरू तोकिनुपर्ने व्यवस्था हुनुपर्नेमा हाल नियमित सत्रकै आधारमा नेप्सेमा सूचीकृत कम्पनीहरूको अन्तिम मूल्य तथा दैनिक परिसूचकांकहरूको अन्तिम तह घोषणा गरिने गरिएको छ ।

धितोपत्र दलाल (ब्रोकर) : स्टक एक्सचेन्जमा कारोबार गर्ने लगानीकर्ताले सेबोनबाट इजाजतपत्र प्राप्त ब्रोकर मार्फत कारोबार गर्नुपर्छ । यसका लागि ब्रोकर कार्यालय वा अनलाइनबाट कारोबार खाता खोल्नुपर्छ । हाल ९४ वटा ब्रोकरले काम गरिरहेका छन् ।

यिनीहरूले लगानीकर्ता र स्टक एक्सचेन्जबीच मध्यस्थकर्ताको रूपमा काम गर्छन् । कारोबार प्रक्रियाः लगानीकर्ताले आफ्नो कारोबार खाता (टीएमएस) मार्फत खरिद र बिक्री अर्डरहरू राख्न सक्छन् । ती अर्डरहरू नेप्सेको ट्रेडिङ प्लेटफर्ममा म्याच हुन्छन् । नेप्सेको सिस्टमले अर्डर म्याच गर्दा मूल्य र समयको प्राथमिकताका आधारमा गर्छ ।

अर्थात्, नेप्सेको सिस्टमले पहिला मूल्यलाई हेर्छ त्यसपछि समयलाई हेरेर जसको उच्च मूल्य वा न्यून मूल्य हो वा जसको कारोबार आदेश समय पहिलो हो त्यो हेरेर खरिद वा बिक्रीको म्याचिंग गर्ने कार्य गर्दछ ।

सूचकांकः सेयर बजारको सूचकांकले सामान्यतया बजार कुन दिशामा गइरहेको छ भन्ने बताउँछ । यो बजारमा कारोबार भइरहेका कम्पनीहरूको मूल्य घटबढ देखाउने औसत अंक हो । बजारमा कारोबार भइरहेका अधिकांश कम्पनीको सेयर मूल्य घटिरहेको बेलामा सूचकांक घट्छ र बढिरहेको बेलामा बढ्छ । नेपालमा समग्र बजार सूचकांकलाई नेप्से भन्छन् ।

अरू समूहगत सूचकांक पनि छन्, तिनले सम्बन्धित क्षेत्रको स्थिति बताउँछन् । सूचकांकहरू लगानीकर्ता, विश्लेषक र अर्थशास्त्रीहरूका लागि चासोको विषय हुन्छ । सूचकांकले वित्त बजारको स्वास्थ्य नाप्न सहयोग गर्छ । नेपाल स्टक एक्सचेन्जमा भएका सूचकांकहरूः

नेप्से (मेन बोर्ड इन्डेक्स)
सेन्सिटिभ इन्डेक्स
फ्लोट इन्डेक्स
सेन्सिटिभ फ्लोट इन्डेक्स

सब इन्डेक्स
बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य व्यापार ।

करः सेयर बजारमा लगानीकर्ताले आफ्नो नाफामा पूँजीगत लाभ कर तिर्नुपर्ने हुन्छ । करका दर र नियमहरू भिन्न हुनसक्छन् । लगानीकर्ता आफूले किनेको शेयर ३६५ दिनसम्म राखेर त्यसपछि बेचेर नाफा गर्छ भने उसले नाफाको ५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्छ । एक वर्षभित्रै (३६५ दिनभित्रै) बिक्री गर्ने अल्पकालीन लगानीकर्ताले भने पूँजीगत लाभकर बापत ७.५ प्रतिशत तिर्नुपर्छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया