एभरेष्ट कलरले आइपीओ निष्काशन गर्ने, सर्वसाधारणलाई १५ प्रतिशत
- BFIS News
- 2024 Oct Fri 10:43
काठमाडौं । एभरेष्ट कलरले सर्वसाधारणका लागि आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनको प्रस्ताव राखेर पहिलो वार्षिक साधारण सभा समेत आह्वान गरेको छ ।
कम्पनीको कार्तिक ६ गते बसेको संचालक समितिको बैठकले आगामी मंसिर १ गते शनिबारका दिन साधारण सभा राखेको हो । सभा वाईट प्यालेस बैंकेट, मध्यपुर ठिमी- ३, भक्तपुर बिहान ११ बजेबाट सुरु हुनेछ ।
निकट भविष्यमा आइपीओ जारी गर्ने तयारी गरेको कम्पनीले साधारणसभाबाट आइपीओ निष्कासनको प्रस्ताव पारित गर्ने जनाएको छ । २६ करोड चुक्ता पुँजी रहेको कम्पनीले १५ प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्ने जनाएको छ । यस हिसावले कम्पनीले सर्वसाधारणलाई ४ करोड ५८ लाख रुपैयाँ बराबरको शेयर जारी गर्नेछ ।
साधारण सभाले सर्वसाधारणलाई सेयर जारी गर्न नियामक निकायसँग अनुमति लिने लगायत निष्कासन सम्बन्धि सम्पूर्ण कार्य गर्नका लागि संचालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिनेछ ।
त्यस्तै, कम्पनीले साधारण सभाबाट आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०८०/२०८१ को वासलात, नाफा र नोक्सान हिसाव, नगद प्रवाह लगायत वित्तीय विवरण छलफल गरी पारित गर्ने तथा लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गराउने जनाएको छ ।
२०६८ सालमा स्थापना भएको कम्पनीले भक्तपुर र चितवनमा एल्मुन्सन पेन्ट तथा प्राइमर उत्पादन गर्दै आइरहेको छ । इमल्सन पेन्ट लगायतका धेरै प्रकारका रङ तथा रङजन्य वस्तुहरु उत्पादन गरिरहेको एभरेष्टले सर्वसाधारणमा आइपिओ जारी गर्ने लक्ष्य राखेको हो ।
प्रतिक्रिया