NIMB Header 2
Nepal Life

शेयर बजारका लगानीकर्ताले गर्ने १० गल्ती !

Citizen Life
  • BFIS News
  • 2025 Aug 25 20:05
शेयर बजारका लगानीकर्ताले गर्ने १० गल्ती !
National Life

काठमाडौं। आम मानिसहरुले शेयर बजारमा कमाएको मात्रै देख्ने गर्छन्। नजिकको कसैले शेयरबाट छोटो समयमा धेरै पैसा कमाएको देखेर वा सुनेर लालायित हुन्छन्। तर उनिहरुले शेयर बजार सबैभन्दा धेरै जोखिमको क्षेत्रमो भन्ने कुराको भने मेसो पाउदैनन्। जव लहै लहैमा लगानी गरेर ठुलो रकम गुमाउन पुग्छन् तव शेयर बजार प्रति उनिहरुको अभिव्यक्ति नकारात्मक बन्न पुग्छन्। त्यसैले त भनिन्छ शेयर बजार जोखिम बहन गर्नेका लागि मात्रै हो।

NIMB

शेयर बजारमा लगानी गर्दै गर्दा धेरै लगानीकर्ताले उत्साह, लोभ, डर वा जानकारीको कमीका कारण केही साझा गल्तीहरू गर्छन्। यी गल्तीहरूले ठूलो नोक्सान पुर्‍याउन सक्छ। प्रायः लगानीकर्ताले गर्ने १० भुलः

१. बिना अध्ययन वा अनुसन्धान लगानी गर्नु

धेरै लगानीकर्ताहरु "हल्ला"को भरमा सुनेर वा अरूको सल्लाहमा लगानी गर्छन्, कम्पनीको आधारभूत विवरण (fundamentals) बुझेका हुँदैनन्। यसले गर्दा शेयर बजारका क्षेत्रमा धेरै अध्ययन र अनुसन्धान गर्नु जरुरी छ। अर्को भनेको शेयर बजारको साइकललाई नजिकबाट अनुभव पनि गर्नु पर्छ। एउटा अनुभव अर्को पटक कामै नलाग्ने पनि हुन सक्छ भने कुनै समयमा त्यसबाट सिकेको कुराले मालामाल पनि भइन्छ। यसका लागि गहिरो अध्ययन जरुरी छ।

२. छोटो अवधिमा आकर्षक मुनाफा कमाउने सोच

शेयर बजारमा छिटो धनी बन्ने सपना धेरैको हुन्छ। तर बजारमा ठुलो उतारचढाव हुने भएकाले छोटो अवधिको सोचले नोक्सान पुर्‍याउन सक्छ। छिटो कमाउने लोभमा क्षमता भन्दा बढि कर्जा लिएर लगानी गर्दा पछुताउनु पर्न सक्छ। त्यसैले आक्रामक रुपमा बजारमा खरिद बिक्री गर्नु पर्ने एउटा ठुलो गल्ती बन्न सक्छ।

३. डर वा लोभको कारण निर्णय गर्नु

बजार घट्दा डरले बेच्ने, बजार बढ्दा लोभले किन्ने प्रवृत्ती पनि घातक बन्न सक्छ। बजारको ट्रेण्ड विश्लेषण नगरी धेरै कमाउने लोभमा महंगिएको शेयर किन्ने बानी पनि राम्रो होइन। कुनै कुनै स्क्रिप्ट धेरै बढ्दै गर्दा त्यसमा जोखिम छ भनेर बुझ्नु पर्छ। जुन कम्पनीमा आक्रामक सुधार भइरहेको छ त्यसमा हौसिएर लगानी गर्नु निकै घातक बन्न सक्छ। अर्को तर्फ किनेको केहि समयमै घट्यो भने आत्तीएर डरमा बिक्री गर्नु पनि राम्रो होइन। कम्पनीको ट्रेण्ड नहेरी डरमा बिक्री गर्नु घातक हुन सक्छ। जसले गर्दा आफुले बिक्री गरे पछि कम्पनीको मूल्य बढ्न सक्छ। यो सबै कम्पनी विशेष र बजारको ट्रेण्डमा आधारित हुन्छ।

४. पोर्टफोलियो विविधीकरण (Diversification) नगर्नु

सबै पैसा एउटै कम्पनी वा क्षेत्र (sector) मा लगानी गर्नु जोखिमपूर्ण हुन्छ। विविधीकरण नगर्दा सम्पूर्ण लगानी डुब्न सक्छ। बजारमा एकै पटक सबै सेक्टर नचल्न सक्छ। धेरै वटा सेक्टरका कम्पनीमा लगानी गर्यो भने जुन सेक्टर बढ्यो त्यसको शेयर बिक्री गर्ने जसको घट्यो त्यसको खरिद गर्नु पर्छ। यसका लागि पोर्टफेलियोमा विविधिकरण हुनु पर्छ। धेरै कमाउने भन्दै भएजति लगानी एउटै कम्पनीमा खन्याउदा बजारका अवसरलाई गुमाउनु पर्छ।

५. बजारको समय मिलाउने प्रयास गर्नु (Market Timing)

उतारचढावको सटिक अनुमान गर्न खोज्नु कठिन हुन्छ। जो कोही बजारको समय पत्ता लगाउन प्रायः असफल हुन्छन्। म टाइमिङ हेरेर लगानी गर्छु भन्दा भन्दै कम्पनीको शेयर मूल्य बढिसकेको हुन्छ अनि बिक्री गर्ने सवालमा पनि यहि नियम लागु हुन्छ। यसले गर्दा बजारको प्रवृत्ती र आफ्नो टार्गेटलाई सदैव ख्याल गर्नु पर्छ।

६. धैर्य नगर्नु

शेयर बजारमा धैर्य राख्नुपर्ने हुन्छ। धेरैले मूल्य नबढेपछि चाँडै बेचिदिन्छन् वा नोक्सानमा डम्प गर्छन्। त्यसैले त भनिन्छ 'Hold is Gold'। यो नियम बुलिस बजारको अन्तिम चरणमा लागु हुँदैन। तर वियरिस बजारमा यो नियम एकदमै सार्थक हुन्छ। बजार तल्लो विन्दुमा भएको बेलामा शेयर बिक्री गर्नु भन्दा धैर्यता कायम राख्न सक्नु पर्छ। यो नियम नियमित कारोबारमा पनि लागु हुन्छ। खरिद गरेको भोलिपल्टै देखि बिक्री गर्न तम्सिदा कमाउन सकिदैन। बजारमा आज किनेको शेयर भोलिपल्टै बढेर बिक्री गर्न सकिदैन। यसका लागि निश्चित समय धैर्यधारण गर्न सक्ने क्षमता बनाउनु पर्छ।  

७. नोक्सानी रोक्नु (Stop Loss)

कहिलेकाहीं कम्पनीको अवस्थाबारे पुनर्विचार गरी घाटा स्वीकार्नुपर्ने हुन्छ। तर कतिपय लगानीकर्ताले आशै आशामा ठुलो रकम गुमाइरहेका हुन्छन्। यदि आफुले शेयर खरिद गरेपछि बजार नकारात्मक हुने अवस्था देखियो वा कम्पनीको नकारात्मक सूचना आइरहेको छ भने थप नोक्सानी घटाउन (Stop Loss) को नीति लिनु पर्छ।

८. गलत सूचनामा विश्वास गर्नु

सामाजिक सञ्जाल वा 'बजारका कथित विश्लेषक' ले दिएको गलत सूचनामा आधारित लगानीले झन् जोखिम बढाउँछ। यसले गर्दा आधिकारिक पोर्टफेलियो म्यानेजर वा नजिकको विश्वासिलो बजार विश्लेषकले भनेका कुरालाई मात्रै पछ्याउनु पर्छ। प्रायः नेपालको बजारमा आफुले टन्न शेयर खरिद गरिसके पछि फलानो कम्पनी धेरै बढ्दैछ किन्नु भनेर सुझाव दिने प्रचलन छ। यसले गर्दा आफुले शेयर खरिद गरेर खातामा आउदासम्म किनेको भन्दा धेरै घटिसकेको हुन्छ।

९. ऋण लिएर लगानी गर्नु

शेयर बजार अनिश्चित हुने भएकाले ऋण लिएर लगानी गर्दा घाटा भएपछि ऋण तिर्न झन् समस्या आउन सक्छ। त्यसैले कर्जा लिदा पनि भोलि घटेको समयमा पनि धान्न सक्ने किसिमले मात्रै लिनु पर्छ। भोलि शेयर थोरै मात्रै घट्यो भने पनि सावा भन्दा तल नोक्सानी बेहोर्नु पर्ने अवस्था आउदैन।

१०. नाफा बुक नगर्नु

शेयर खरिद गरे पछि धेरैले बिक्री गर्न सक्दैनन्। त्यसैले शेयर खरिद गरिसके पछि नाफा बुक गर्नु पर्छ। अझ धेरै नाफा हुन्छ भन्ने लोभले गर्दा सावा पनि गुमाउनु पर्छ। कहिलेकाहीँ मूल्य धेरै बढिसकेको भए पनि “अरू बढ्ला” भन्ने सोचले मुनाफा निकाल्दैनन्, र फेरि मूल्य घटेपछि पछुतो मान्छन्।

यी गल्तीहरूबाट बच्नको लागि लगानीकर्ताले बजारको बुझाइ राख्नु, धैर्य गर्नु, रणनीति बनाउनु, र लगानी गर्नुअघि राम्ररी सोचविचार गर्नु आवश्यक छ। शेयर बजारमा लगानी गर्दा सही रणनीति अपनाउनु अति आवश्यक हुन्छ ताकि लगानीकर्ताको लगानी सुरक्षित रहोस् र लामो समयसम्म राम्रो प्रतिफल पाउन सकियोस्। यि १० वटा प्रमुख रणनीतिहरू जसले लगानीकर्तालाई दिलाउने छ उच्च प्रतिफल

१. लामो अवधिको सोच राख्ने

शेयर बजारबाट छिटो नाफा कमाउने सोच भन्दा दीर्घकालीन लगानी रणनीति बढी लाभदायक हुन्छ। कम्पनीको आधारभूत स्थिति हेरेर लगानी गर्नु पर्छ।

२. लगानीको विविधीकरण (Diversification)

सवै पैसा एउटै कम्पनीमा नलगाई विभिन्न कम्पनी, उद्योग र क्षेत्रहरूमा लगानी गर्नुहोस्। यसले जोखिम कम गर्न सहयोग गर्छ।

३. आर्थिक समाचार र रिपोर्टहरूमा अपडेट रहने

बजारको ट्रेन्ड, कम्पनीको नाफा-नोक्सान विवरण, सरकारी नीति परिवर्तन आदिबारे जानकारी राख्न आवश्यक छ।

४. कम्पनीको आधारभूत विश्लेषण (Fundamental Analysis) र्ने

सूचिकृत कम्पनीहरुको EPS, P/E Ratio, NAV, ROE, र कम्पनीको भविष्यको सम्भावनाहरू अध्ययन गरेर लगानी निर्णय गर्नुहोस्।

५. प्राविधिक विश्लेषण (Technical Analysis) सिक्ने

चार्ट, ट्रेन्डलाइन, भोल्युम, MACD, RSI आदि जस्ता प्राविधिक उपकरण प्रयोग गरेर सही समयमा बाय/सेल निर्णय लिन सकिन्छ।

६. भावनात्मक निर्णय नगर्ने

डर वा लोभका कारण हतारमा सेयर किनबेच नगर्नुहोस्। लगानीमा धैर्यता आवश्यक हुन्छ। डर भयमा वा भावनामा बसेर निर्णय लिदा पछुताउनु पर्छ।

७. स्टप-लस (Stop Loss) प्रयोग गर्ने

जोखिम नियन्त्रण गर्न स्टप-लस सेट गर्नुहोस् ताकि बजार उल्टो दिशामा गएमा ठूलो घाटा नहोस्।

८. नियमित रूपमा पोर्टफोलियो समीक्षा गर्ने

तपाईंले लगानी गरेका कम्पनीहरूको अवस्था समय–समयमा जाँच गरी आवश्यक परेमा पोर्टफोलियो समायोजन गर्नुहोस्।

९. डिभिडेन्ड पनि ध्यानमा राख्ने

कुनै कम्पनीले दिने लाभांश (dividend) पनि तपाईंको आम्दानीको स्रोत हो। यस्ता कम्पनीहरूमा लगानी दीर्घकालीन रूपमा फाइदाजनक हुन सक्छ। लाभांश दिन सक्ने कम्पनीको शेयर मूल्य पनि दोस्रो बजारमा तुलनात्मक रुपमा धेरै हुन्छ। यसले गर्दा लाभांश दिन सक्ने क्षमता गर्नु पर्छ। नेप्सेमा कम्पनीको लाभांश घोषणा, बुक क्लोज मिति, साधारणसभा मितिलाई हेरेर मात्रै लगानी गर्नु पर्छ।

१०. शेयर बजार विशेषज्ञ वा सल्लाहकारको राय लिने

यदि तपाईं नयाँ लगानीकर्ता हुनुहुन्छ भने, अनुभवी लगानीकर्ताहरू वा वित्तीय सल्लाहकारको सुझाव लिनु उपयुक्त हुन्छ। तर नचिनेको वा सामाजिक सञ्जालका कथित विश्लेषकहरुको भरमा मात्रै शेयर किन्नु हुँदैन।

शेयर बजार उच्च जोखिमयुक्त क्षेत्र हो। त्यसैले यि बाहेक धेरै विषयहरुमा अध्ययन गरेर लगानीका निर्णय गर्नु पर्छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया