हाथवे इन्भेष्टमेन्टको बुल र वियरिस अनुभव : उतारचढावबीच पनि स्थायित्वतर्फको यात्रा
- BFIS News
- 2025 Oct 15 16:35
काठमाडौं, असोज २९ – बुल मार्केटको दवदवामा स्थापना भएको हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड अहिले वियरिस बजारसँग जुधिरहेको छ। कम्पनीले स्थापना भएको पहिलो तीन महिनामै ५ प्रतिशत लाभांश दिएर लगानीकर्तामा ठूलो आशा जगाएको थियो। यसले गर्दा आजका दिनमा पनि हाथवेको यात्रा अन्य संस्थागत र व्यक्तिगत लगानीकर्ताका लागि बलियो उदाहरण बन्ने गरेको छ।
कम्पनीले यस अवधिमा ठुला ठुला उताचढावको सामना गरिसकेको छ। स्थापना पछि कम्पनीले तीन वटा बुल र चार वटा वियरिस बजारको अनुभव संगालिसकेको छ। बुलिस बजारमा आकर्षक लाभांश दिन सफल भएको हाथवे सँग वियरिस बजारमा हकप्रद शेयर जारी गर्नु परेको अनुभव पनि छ। अर्को तर्फ रणनीति परिवर्तन गर्दा आफ्नै भवन बनाउन सफल भएको कथा पनि सँग सँगै छ।
यसले गर्दा कम्पनीको शेयरमा अहिले पनि लगानीकर्ताको ठुलो चासो रहन्छ। साथ साथै हाथवेको रणनीति बुझ्न हरेक लगानीकर्ताहरु आतुर हुन्छन्। तर कम्पनीले आइपिओ निष्काशन गर्दा गरेका कतिपय प्रक्षेपण भने वियरिस बजारका कारण सफल देखिएका छन्।
आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक निष्कासन गरेको कम्पनीले त्यसबेला सार्वजनिक गरेको विवरणपत्रमा प्रतिशेयर आम्दानी (EPS) रु. ७.२५ पुग्ने दाबी गरे पनि यो हाल घटेर रु. २.२८ मा सिमित भएको छ। कम्पनीको कुल मुनाफा पनि प्रक्षेपणभन्दा ६१.८६ प्रतिशतले घट्दै रु. ६ करोड ४६ लाखमा सीमित भएको छ।
यद्यपि, कम्पनीले यस अवधिमा बोनस सेयर वितरणमार्फत २१ प्रतिशतले चुक्ता पूँजी बृद्धि गरेको छ। हाल चुक्ता पूँजी रु. १ अर्ब ५८ करोड ५५ लाख ८४ हजार पुगेको छ भने शेयर सदस्य संख्या ७६,८७५ जनामा उक्लिएको छ।

नयाँ लगानीमा विस्तार, तर प्रक्षेपणभन्दा कम
कम्पनीले दीर्घकालीन लगानीमा भने उल्लेखनीय वृद्धि गर्दै रु. १५ करोड १० लाखको नयाँ लगानी गरेको छ। तथापि, शेयर बजारमै लगानीको सन्दर्भमा कम्पनीले प्रक्षेपण गरेको रु. २ अर्ब ३९ करोडको तुलनामा रु. १ अर्ब ४५ करोड मात्र लगानी गर्यो, जुन ३९ प्रतिशतले कम हो।
कम्पनीको आयकर दायित्व पनि ८५.३३ प्रतिशतले घटेको छ। यसको मुख्य कारण भनेको अपेक्षित मुनाफा आर्जन गर्न नसक्नु हो। उता, कर्मचारी खर्च र व्यवस्थापन खर्चमा भने वृद्धि देखिएको छ, जसमा कर्मचारी बोनस प्रमुख कारण रहेको कम्पनीले स्पष्ट पारेको छ।

विगतका सफलताहरू
२०६५ चैत १४ गते स्थापना भएको हाथवे इन्भेष्टमेन्टले प्रारम्भिक तीन महिनामै लाभांश वितरण गर्दै उत्साहजनक यात्रा सुरु गरेको थियो। त्यसपछि २०६९ देखि २०७१ को अवधिमा कम्पनीले सानदार प्रगति गर्दै IPO निष्काशन गर्ने सपना देख्यो।
२०७१ देखि २०७४ को अवधिमा कम्पनीले रणनीति परिवर्तन गर्दै अरुण फाइनान्स र एनबी इन्स्योरेन्स जस्ता संस्थाहरूलाई टेकओभर गर्दै आफ्नो बजार सशक्त बनायो। यिनै सफलताका कारण कम्पनीले हाथवे कम्प्लेक्स निर्माण गर्न सकेको हो, जहाँबाट अहिले केन्द्रीय कार्यालय सञ्चालन भइरहेको छ।

बुलमार्केटमा चमक, वियरमार्केटमा चुनौती
२०७७/७८ को बुलमार्केटमा कम्पनीले ऐतिहासिक ५५ प्रतिशत बोनस शेयर वितरण मात्र गरेन, सहायक कम्पनीको रूपमा हाथवे स्टक डिलर स्थापना पनि गर्यो। कम्पनीले वियरिस मार्केटलाई सदुपयोग गर्दै हाइलाइफ फुड्स जस्ता कम्पनीमा लगानी बढायो। जसबाट अहिले कम्पनीले अतिरिक्त आम्दानी गरिरहेको छ।
तर, कोभिड-१९ पछिको बजार सुस्तताको असर अझै पनि कम्पनीले खेपिरहेको छ। बजारमा लगानीको मुख्य माध्यम शेयर बजार भएकोले अतिरिक्त आम्दानीका स्रोतबाट भने चुकिरहेको छ।

बजारको स्वभाव बुझ्दै अघि बढ्दै
नेप्सेको उतारचढाव जस्तै हाथवे इन्भेष्टमेन्टको विगत १७ वर्षको यात्रा पनि त्यस्तै रहेको छ। जुन कम्पनीको एउटा उदाहरणीय अनुभव हो, जहाँ स्थायित्वको खोजीमा कम्पनीले सफलताको शिखर चढ्दा चढ्दै पनि गहिराइ चुम्नुपर्यो।
हालसालै कम्पनीले आर्थिक वर्ष २०८१/८२ को नाफा र जगेडाकोषबाट १२ प्रतिशत बोनस सेयर र ०.६२३ प्रतिशत नगद लाभांश वितरण गरेको छ। कम्पनीको कुल सम्पत्ति रु. २ अर्ब ६८ करोड पुगेको छ। साथै, अधिकृत पूँजीलाई रु. ३ अर्ब ५० करोड बनाउने प्रस्ताव पनि पारित भइसकेको छ।

अगामी योजनाहरू
कम्पनीले आगामी वर्षहरूमा सेयरधनीहरूको हात खाली नहोस् भन्ने उद्देश्यका साथ स्थायित्व, विवेकपूर्ण लगानी र दीर्घकालीन परियोजना विस्तारमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाएको छ।
हाथवे इन्भेष्टमेन्ट दीर्घकालीन तथा अल्पकालीन परियोजनामा जोखिम मूल्याङ्कनसहित लगानी गर्ने रणनीतिमा अडिग देखिन्छ। कम्पनीको अनुभवले के देखाउँछ भने, बजारमा स्थायित्व छैन तर दीर्घकालीन सोच र विवेकपूर्ण रणनीतिले चुनौतीलाई अवसरमा बदल्न सकिन्छ। बुलको उत्साहदेखि वियरिसको चुनौतीसम्मको यात्रामा हाथवे इन्भेष्टमेन्टले देखाएको संयम र अनुभवले यो कम्पनीलाई आगामी वर्षहरूमा अझ परिपक्व, सुदृढ र लगानीकर्तामैत्री कम्पनीका रूपमा स्थापित गराउने अपेक्षा गरिएको छ।


![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)










.jpg)

.jpeg)




प्रतिक्रिया