प्रतिस्पर्धात्मक व्यवसाय: अवसर र चुनौतीहरू, कमलेश अग्रवालको लेख
- कमलेश अग्रवाल
- 2025 Dec 03 13:49
अहिलेका कानुन द्विअर्थी लाग्ने खाले छन् । लगानीमैत्री पनि छैनन् । आयकर कानुनका केही दफाले त सहजीकरण गर्नुको सट्टा झन् धेरै बाधा सिर्जना गरेका छन् । यी प्रावधानको संशोधन आवश्यक छ ।
काठमाडौं। भदौ २३ र २४ को जेनजी विद्रोह आन्दोलनका क्रममा उद्योगी, व्यवसायी, प्रतिष्ठान तथा निजी सम्पत्तिमा आक्रमण भयो। यसले लगानी वातावरणमा नकारात्मक असर परेको छ । यस घटनाले निजी क्षेत्रको मनोबलमा आघात पुगेको छ ।
खस्किएको मनोबल उठाउन सरकारले लगानी प्रवर्द्धन र संरक्षण नीति ल्याउनुपर्ने देखिन्छ । जसरी विदेशी लगानीको हकमा सम्बन्धित मुलुकसँग द्विपक्षीय लगानी प्रवर्द्धन र संरक्षण सम्झौता (बिप्पा) गरिएको हुन्छ, त्यसरी नै निजी क्षेत्रको विश्वास उकास्न यस्तै प्रकृतिको नीति चाहिन्छ ।
निजी क्षेत्रको सम्पत्तिको जोखिम वहन गर्ने भनेको बिमाबाट हो । तर, नेपालमा बिमामार्फत पाइने दाबी भुक्तानी झन्झटिलो छ । सरकारले बिमा दाबी भुक्तानीलाई द्रुत गतिमा दिने व्यवस्था गर्नुपर्छ । हामीले संकलन गरेको तथ्यांकअनुसार जेनजी आन्दोलनका बेला निजी क्षेत्रमा झन्डै १ खर्ब ५० अर्ब रूपैयाँको क्षति भएको देखिन्छ। यो भनेको कुल गार्हस्थ उत्पादनको २.५ प्रतिशत हो। यसमध्ये झन्डै ५० अर्ब रूपैयाँ बिमाको वहनभन्दा बाहिर छ । यसमध्ये पनि अधिकांशले आगलागी बिमा गरेका हुन्छन् । हुलदंगा, आतंकवादको वहन हुने गरी बिमा गरिएको हुँदैन । यसरी बिमाले मात्रै व्यवसायीको लगानी जोखिम वहन गर्न नसक्ने भएकाले बिप्पाको नीति सरकारले ल्याउनुपर्छ भनिएको हो ।
भनिरहनुपर्दैन, सही आर्थिक नीति भयो भने नेपाल दक्षिण एसियाकै सर्वाधिक प्रतिव्यक्ति आय भएको देश बन्छ । नेपालमा कृषि क्षेत्रले कुल गार्हस्थ उत्पादनको २४ प्रतिशत मात्र ओगटेको छ । झन्डै ६५ प्रतिशत जनता यसैमा आश्रित छन् । यसको अर्थ हामीले कृषि क्षेत्रलाई सदुपयोग गर्ने नीति बनाउन सकिरहेका छैनौं। इतिहासको कुनै कालखण्डमा नेपाल खाद्यान्न निर्यात गर्ने मुलुकको स्पमा चिनिन्थ्यो । गत वर्षको तथ्यांकअनुसार नेपालमा ३ खर्ब रूपैयाँभन्दा धेरैको खाद्यपदार्थ आयात भएको छ ।
कृषिप्रधान मुलुक भनिए पनि नेपालमा किसानले न उन्नत बिउ सहजै पाउँछन्, न त मल नै । जलस्रोतको दोस्रो ठूलो देश भनेर स्कुलमा पढाइए पनि किसानले सिँचाइ नपाएर हैरानी खेप्नु सामान्यजस्तो भइसक्यो । यसले गर्दा हाम्रो उत्पादकत्व धेरै कम छ ।
हामीभन्दा ठीक उल्टो पर्यावरण भएको मुलुक इजरायल हो । हाम्रो भूमि उर्बर छ तर इजरायलमा मरूभूमि । हाम्रोमा सिँचाइका लागि प्राकृतिक नदी छन्। तर, इजरायलमा तीन गुणा बढी उत्पादकत्व छ । हामीकहाँ कृषि क्षेत्रमा प्रचुर सम्भावना भए पनि खेर गइरहेको छ ।
हाम्रोमा सम्भावनाको अर्को क्षेत्र हो, जलविद्युत् । धेरै समय अगाडि नेपालमा ८३ हजार मेगावाट जलविद्युत् उत्पादनको सम्भावना रहेको अनुमान थियो । अहिले १ लाखभन्दा धेरै मेगावाट जलविद्युत् उत्पादनको सम्भावना रहेको देखिन्छ । तर, ३४/३५ सय मेगावाटभन्दा धेरै उत्पादन गर्न सकिएको छैन । जबकि १० वर्षमा १० हजार मेगावाट जलविद्युत् भारतमा निर्यात गर्ने भनेका छौं। नेपालले ४० मेगावाट विद्युत बंगलादेश निर्यात गरिरहेको छ । यति धेरै सम्भावना रहेको राष्ट्रमा निष्प्रभावी नीतिका कारण हरेक दिन नदीबाट पानी खेर गइरहेको छ । नेपालको पानी एक प्रकारले सुनको खानी नै हो। पूर्ण क्षमताको आधा मात्रै उत्पादन गर्न सकियो भने एउटा जलविद्युत् क्षेत्रले मात्रै पनि नेपालको आर्थिक कायापलट गरिदिने सामर्थ्य राख्छ । नेपालले खानेपानी बेचेर पनि उन्नति गर्न सक्छ । विश्वमा खानेपानी अभाव बढिरहेको छ । यदि व्यवस्थित ढंगले पिउने पानी बाहिर पठाउन सकियो भने ठूलो बजार बनाउन सकिन्छ ।
हिमाली नदीबाट बग्ने चिसो पानीमा ट्राउट माछापालन गर्न सके विश्वमा यसको बजार पहिल्याउन सकिन्छ । केही समय अगाडि नर्वेबाट पनि ट्राउट माछामा लगानी गर्ने रूचि देखाइएको थियो । पानीबाटै हाइड्रोजन ग्यास उत्पादन गरेर ठूलो आयोजना सञ्चालन गर्न सकिन्छ । विश्वमा हाइड्रोजनबाट सञ्चालन हुने धेरै ठूला गाडी बनिरहेका छन् । केही समयअघि काठमाडौ विश्वविद्यालयले कोरियन गाडी उत्पादन कम्पनी हुन्डाईसँग मिलेर परीक्षण पनि गरेको थियो । हाइड्रोजनसम्बन्धी नीति आइसके पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।
हाम्रोमा आयुर्वेदिक औषधीको पनि ठूलो सम्भावना छ । रामायणजस्ता पौराणिक ग्रन्थमा राम-रावण युद्धमा लक्ष्मण वाणको प्रहारबाट मुर्छित भएपछि उनलाई बचाउन हिमालयन पर्वतबाट सञ्जीवनी बुटी लिन हनुमानलाई पठाइएको थियो भनिएको छ। त्यही सञ्जीवनी बुटीले लक्ष्मणको प्राण रक्षा गरिएको थियो । हाम्रा हिमालयमा यस्ता औषधीय गुण भएका बुटी थुप्रै छन्, जसको खोज हुन आवश्यक छ ।
खनिज पदार्थको पनि प्रचुर सम्भावना छ। हिमालय शृंखला, चुरे पर्वतमा प्राकृतिक खानी भएको बताइन्छ । तर, त्यसबारे अन्वेषण नै हुन सकेको छैन । बल्लतल्ल सिमेन्ट उद्योगमा हामी आत्मनिर्भर बनेका छौं । सुन, पेट्रोल, ग्यास रहेको भनिए पनि कति मात्रामा छ भन्ने अध्ययनै हुन सकेको छैन । दैलेख, काठमाडौं, ललितपुरमै पनि प्राकृतिक ग्यास देखिएका समाचार पढिएको थियो। विदेशीले स्याटेलाइटबाटै नेपालमा युरेनियमको सम्भावना रहेको खुलासा गरेका छन् ।
पर्यटन नेपालको अर्थतन्त्रको पिलर बन्न सक्छ । नेपाल प्राकृतिक सौन्दर्यको खानी नै हो । केही कुरा बनाइरहनु पर्दैन । सूचना प्रविधिमा पनि हामीले धेरै काम गर्न सक्छौं । सूचना प्रविधि र पर्यटन व्यवसाय बोर्डरलेस छ । भौगोलिक सीमाले छेक्न सक्दैन ।
हाम्रो अर्को सबल पक्ष भनेको युवा जनशक्ति हो । विश्वका धेरै राष्ट्रमा युवा जनशक्तिको कमी भए पनि हाम्रोमा ५७ प्रतिशत युवा छन् । जापान, युरोपजस्ता विकसित मुलुकमा युवा जनशक्तिको संख्या कम हुनु ठूलो चुनौती बनिरहेको छ । तर, हाम्रोमा यो जनशक्ति बिदेसिन बाध्य छ । यो उर्बर जनशक्तिलाई देशमै राख्ने वातावरण बनाउन सके मुलुकको समृद्धिमा टेवा पुग्नेछ ।
चुनौती
राज्य संयन्त्रमा हुने भ्रष्टाचारबाट निजी क्षेत्र पीडित छ । भ्रष्टाचारकै कुरा उठाएर युवा शक्तिले जेनजी आन्दोलन गयो । स-साना काम गर्न पनि कर्मचारीलाई पैसा नबुझाई नहुने स्थिति छ ।
भूपरिवेष्ठित मुलुक भएकाले नेपालमा कुनै पनि उद्योग, कलकारखाना चलाउनुपर्यो भने उत्पादन लागत धेरै महँगो पर्न आउँछ । अन्य मुलुकको तुलनामा उत्पादन लागत मात्रै २० प्रतिशत बढी हुँदो रहेछ । सार्क मुलुक भुटानसँग दाँजौं । त्यहाँ उत्पादनमूलक क्षेत्रलाई प्रतियुनिट २ रूपैयाँ ४० पैसामा विद्युत्
उपलब्ध गराइन्छ । नेपालमा पनि यस्तो सुविधा दिने नीति लिइए उत्पादन लागत घटाउन सकिने थियो । घरेलु उत्पादन नबढाईकन अर्थतन्त्र आत्मनिर्भर हुँदैन। अहिले अर्थतन्त्र नै वैदेशिक रोजगारीबाट आउने विप्रेषणले धानेको अवस्था छ। विप्रेषणको जगमा उभिएको अर्थतन्त्र कति कच्चा हुन्छ भन्ने कोभिड-१९ को महामारीमा देखियो। कोभिडका कारण वैदेशिक रोजगारी खुम्चिएपछि मुलुकको विदेशी मुद्रा सञ्चिति नै झन्डै रित्तिएको थियो । अहिले विदेशी मुद्रा सञ्चिति इतिहासमै सबैभन्दा बढी २७ अर्ब डलर पुगेको विप्रेषणले नै हो । विप्रेषण भित्रिने बाटो यताउति भयो भने त्यसको असर अर्थतन्त्रमा सोझै पर्न जान्छ । त्यसैले आत्मनिर्भर उन्मुख अर्थतन्त्रको नीति नबनाई हुँदैन । यसका लागि सबैभन्दा पहिला प्रतिस्पर्धात्मक वातावरण बनाउनुपर्छ । उत्पादन लागत घटाएर प्रतिस्पर्धात्मक बन्न सकिन्छ । पूर्वाधार राम्रो भए उत्पादन लागत घटाउन सकिन्छ ।
आयात हुने वस्तुभन्दा नेपालमा उत्पादन लागत कम हुने स्थिति बन्यो भने मात्र प्रोत्साहन हुन्छ । यसो गर्न सकिए खाद्यान्नमै ३ अर्बभन्दा बढी रकम रोकिन्छ । जलविद्युत् उत्पादन बढायो भने वार्षिक अर्बो रूपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात घट्छ । यति धेरै औषधी आयात गरिरहेका हुन्छौं । देशकै जडीबुटी प्रयोग गरेर नेपालमै औषधी उत्पादन गर्न सकिन्छ ।
आयात प्रतिस्थापन हुने गरी उत्पादनमुलक क्षेत्रमा लगानी गर्न हामीलाई लगानीकै आवश्यकता छ । स्वदेशी लगानीले मात्रै धान्दैन । विदेशी लगानी चाहिन्छ । तर, विदेशी लगानी भित्र्याउन धेरै अप्ठेरा छन् । विदेशी लगानीका लागि एकद्वार प्रणालीको सुरूआत त भयो तर त्यो कागजमा मात्रै । लगानी बोर्डले सार्वजनिक कार्यक्रममा यो कुरा स्वीकारेको पनि सच्याउने कसले ? विदेशी लगानी लिएर आउन न सजिलो छ, न जान र प्रतिफल लैजान नै ।
लगानी र पानी एउटै प्रकृतिको हुन्छ । जता ओरालो उतै बग्ने । लगानी पनि जता सजिलो हुन्छ, त्यतै बहन्छ । जता बहन्छ, त्यतै थपिँदै जान्छ । यदि बहाव अनुकूल भयो भने सरकारले लगानी ल्याउनुप-यो भनेर चिच्याइराख्नै पर्दैन । नआइजभन्दा पनि आउँछ । तर, हाम्रोमा लगानीको त्यस्तो बहावै छैन ।
गत वर्ष सरकारले उच्चस्तरिय आर्थिक सुधार सुझाव आयोग गठन गरेको थियो । आयोगलाई व्यवसायीले बुँदागत सुझाव दिएका थियौं । संयोग, हालका अर्थमन्त्री रामेश्वर
खनाल आयोग संयोजक हुनुहुन्थ्यो । हामीले दिएको सुझाव लागू भए मुलुकले साढे ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेका थियौं। राज्य र व्यवसायीको संयुक्त दस्तावेश हो, आयोग प्रतिवेदन। त्यो प्रतिवेदन कार्यान्वयन भए धेरै समस्या समाधान हुने अपेक्षा छ । मुलुकको अर्थतन्त्र सुधार्न र यस क्षेत्रमा हाल देखिएका अधिकांश समस्या समाधान गर्न मूलतः व्यवसायीले निम्न कुरा खोजेका छन्ः
१ सुरक्षा प्रत्याभूति
२. राजनीतिक स्थायित्व
३ नीतिगत आर्थिक स्थायित्वः सरकार फेरिनासाथ नीति परिवर्तन हुने अवस्थाबाट मुक्ति ।
४. राजनीति र अर्थनीतिलाई छुट्टाछुट्टै राख्नुपर्छ । निजी क्षेत्रको प्रयासमा सबै दललाई एकै ठाउँ बोलाएर प्रतिबद्धता त लियौं तर, त्यो कहिल्यै पनि प्राथमिकतामा परेन ।
५ सबै मिलेर लगानीमैत्री वातावरण निर्माण । यो भनेको भ्रष्टाचारमुक्त समाज र सुशासन हो ।
६. विदेशी लगानीमा एकद्वार प्रणालीको प्रभावकारी कार्यान्वयन
७. आत्मनिर्भर अर्थतन्त्रको निर्माण
८ पूर्वाधार विकास
९. प्रतिस्पर्धी कर नीति
सुझाव आयोगले कुन कानुनमा संशोधन गर्नुपर्छ भनेर सूची नै दिएको छ । अहिलेका कानुन द्विअर्थी लाग्नेखाले छन् । लगानीमैत्री छैनन् । आयकर कानुनका केही दफाले सहजीकरण गर्नुको सट्टा झन् धेरै अन्योलपूर्ण अवस्था सिर्जना गरेका छन् । यी प्रावधानको संशोधन आवश्यक छ । मूल्य अभिबृद्धि करमा पनि एक दरले हुँदैन। अति आवश्यक वस्तु र विलासिताका वस्तुमा एउटै कर हुनु सामाजिक न्यायको सिद्धान्तबमोजिम मिल्दैन । भारतले जीएसटीका दर धेरै हेरफेर गरेको छ । यसअनुसार नेपालले संशोधन गरेको छैन ।
आर्थिक वर्ष २०७३/७४, २०७४/७५ मा ७७ प्रतिशतभन्दा बढी आर्थिक वृद्धिदर हासिल गरेका थियौं । चालू आर्थिक वर्षमा विश्व बैंकले पहिला ५२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेकामा अहिले २.१ प्रतिशतमा झर्ने अनुमान गरेको छ । यो तथ्यांकले अर्थतन्त्रबारे सोच्न ढिला भइसकेको या बेला घर्किन लागेको संकेत गर्दैन र ?
(अग्रवाल नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष हुन् । प्रस्तुत लेख आर्थिक पत्रकार समाजले प्रकाशन गरेको अर्थनीति, सेजन स्मारिका २०८२ बाट लिइएको हो)
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)












.jpeg)





प्रतिक्रिया