सेयर बजारमा हामीले गर्ने नियमित गल्तीहरू, प्रकाश दाहालको विश्लेषण
- BFIS News
- 2025 Dec 04 19:30
काठमाडौं। दैनिक सेयर बजारमा साना–ठूला सबै लगानीकर्ताले दोहोर्याइरहने केही सामान्य गल्तीहरूले नाफा होइन, उल्टो जोखिम बढाइरहेको हुन्छ। बजार बुलिस हो कि बियरिस भन्ने पहिचान गर्न नसक्नेदेखि लिएर कमजोर कम्पनी छनोट, सूचनामै भरपर्न नसक्नु, हरियोमा किनेर रातोमा बेच्ने हतार, र अव्यवस्थित व्यापार रणनीतिसम्म यिनै व्यवहारिक त्रुटिहरूका कारण धेरै लगानीकर्ताले राम्रो मौका हुँदाहुँदै पनि नाफा बुक गर्न सकिरहेका हुँदैनन्। सही योजना, विश्लेषण र अनुशासन अपनाउन सके यिनै गल्तीहरू रोकथाम भएर सेयर बजार सुरक्षित तथा लाभदायक बन्न सक्छ।
१) बजारको ट्रेन्ड नबुझ्नु
धेरै लगानीकर्ताको मुख्य गल्ती नै बजार बुलिस हो कि बियरिस भन्ने पहिचान गर्न नसक्नु हो। बजारले नयाँ बुलिस यात्रा सुरु गरेको छ भने त्यतिबेला बेच्न हतारिनु हुँदैन। ‘होल्ड इज गोल्ड’ को रणनीति अपनाउनु आवश्यक हुन्छ।
२) कम्पनी छनोटमा कमजोरी
सेयर बजारमा कम्पनी छनोट अत्यन्त महत्वपूर्ण छ। राम्रो बजार छवि, सुशासन र स्थिर आम्दानी भएका कम्पनीमा लगानी गर्दा दैनिक नाफा कमाउन सकिन्छ। तर कमजोर व्यवस्थापन र कमसल सुशासन भएका कम्पनीमा लगानी गर्दा समय र रकम दुवै जोखिममा पर्न सक्छन्।
३) हरियोमा किन्नु र रातोमा बेच्ने बानी
साना लगानीकर्ताहरूको सामान्य गल्ती भनेको ‘हरियो देखिनेबित्तिकै किन्न दौडिनु’ हो, जुन बियरिस बजारमा अत्यन्त हानिकारक हुन्छ।
४) अरुसँग मात्र सोधेर ट्रेड गर्नु, आफ्नै गृहकार्य नगर्नु
सेयर बजारमा सोधखोज आवश्यक हुन्छ, तर अरूले भनेको कुरालाई अनुसन्धान र विश्लेषण नगरी अन्धाधुन्ध पछ्याउनु जोखिमपूर्ण हुन्छ। अरूबाट प्राप्त सूचना सत्यापित (verify) गर्नुपर्छ।
५) कम्पनीको सूचना आएपछि मात्र किन्नु
बजारमा आन्तरिक सूचना अनुसार धेरैजसो सेयर पहिले नै बढिसकेको हुन्छ। त्यसैले लाभांश घोषणा वा ठूलो सूचना सार्वजनिक भएपछि बजार घट्ने पनि गर्छ। यसले लगानीकर्ता सूचना चक्रभन्दा पछि परेको संकेत गर्छ। सेयर बजारमा सूचना भनेको सवारी साधनका लागि इन्धन जत्तिकै महत्वपूर्ण हो।
६) लोभका कारण नाफा बुक गर्न नसक्नु
यदि तपाईं ट्रेडर हुनुहुन्छ भने कति प्रतिशत नाफामा सेयर बेच्ने भन्ने निर्णय ‘किन्ने दिन’ नै गर्नुपर्छ। छोटो अवधिमा २०–२५ प्रतिशत नाफा आएको छ भने नाफा बुक गरेर बेच्नु उपयुक्त हुन सक्छ।
७) अरूको रणनीतिमा चल्नु
सेयर बजारमा हरेकको जोखिम सहने क्षमता, लक्ष्य र रणनीति फरक हुन्छ। त्यसैले आफ्नो व्यापार योजना आफैंले तयार पार्नु उत्तम हुन्छ।
८) तत्कालीन बजार विश्लेषण गर्न नसक्नु
बजार कति बढ्यो? कुन सेक्टर अगाडि बढिरहेको छ? कुन कम्पनीहरू अझै पनि undervalued छन्? यी प्रश्नहरूको विश्लेषण गर्न सक्नुपर्छ। सामान्यतया बैंक तथा वित्तीय संस्थाको P/E ratio १७ भन्दा तल भए undervalued र ३० भन्दा माथि भए overvalued मानिन्छ। Undervalued मा किन्नु र overvalued मा बेच्नु उपयुक्त रणनीति हो।
९) नेप्से इन्डेक्स र कम्पनीको गतिशीलता तुलना गर्न नसक्नु
धेरै लगानीकर्ताले केवल नेप्से इन्डेक्स मात्र हेरेको पाइन्छ। तर नेप्से इन्डेक्स भनेको सबै सेक्टरको औसत सूचक हो। त्यसैले इन्डेक्स बढ्यो भनेर तपाईंले किनेको कम्पनी अनिवार्य रूपमा बढ्छ भन्ने हुँदैन। प्रत्येक कम्पनीको आधारभूत पक्ष (fundamentals) र बजार व्यवहार छुट्टै विश्लेषण गर्नुपर्छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)













.jpeg)





प्रतिक्रिया