शेयर बजारमा ‘आइपिओ धन्दा’ मौलाउँदै, सर्वसाधारण ठगीको जोखिम बढ्यो
- BFIS News
- 2025 Dec 05 13:48
काठमाडौं। पछिल्ला वर्षहरूमा केही कम्पनीको आइपिओको सफलतापछि त्यसकै लोभ देखाएर नयाँ–नयाँ समूहहरू ‘आइपिओ धन्दा’ मा उत्रिन थालेका छन्। वैधानिक प्रक्रियाको आवरणमा सर्वसाधारणबाट पैसा उठाई ठगी गर्ने क्रम तीव्र बन्दै गएको छ। बैंक, वित्तीय संस्था र इन्भेष्टमेन्ट कम्पनीमा काम गरेका व्यक्तिहरूको नाम भजाउँदै “ छिट्टै आइपिओ निष्काशन हुन्छ, अहिले प्रिमियममा शेयर किन्नुस्” भन्दै आएको फोनकलले लगानीकर्तामाझ त्रास फैलिएको छ।
प्रि-आइपिओको बहानामा बिनाधितो पैसा उठाउने धन्दा
यी समूहहरू कम्पनीको आर्थिक अवस्था, व्यावसायिक योजना वा प्रतिफलभन्दा पनि केवल “तीन वर्षपछि लकिङ अवधि खुल्छ, त्यसपछि दोस्रो बजारमा महँगोमा बेचेर मालामाल हुन सकिन्छ” भन्दै प्रलोभन बाँडिरहेका छन्।
बजार विश्लेषक दिनेस आचार्यले यस्तै किसिमका फोनहरू आइरहेपछि सामाजिक सञ्जालमार्फत सबै लगानीकर्तालाई सचेत गराएका छन्। उनि सँगै धेरै लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डको ध्यानाकर्षणसमेत गराइराखेका छन्। उनीहरूले चेतावनी दिंदै भनेका छन्, “यस्ता गतिविधि रोकिएनन् भने सहकारी संकटजस्तै ठूलो समस्या शेयर बजारमै आउन सक्छ।”
आचार्यका अनुसार एउटा नचिनेको नम्बरबाट एक नानीले फोन गर्दै आफूलाई इन्भेष्टमेन्ट कम्पनीको प्रमोटर शेयर बेच्ने जिम्मा दिएको बताइन्। जांचबुझ गर्दा, सिनामंगल एयरपोर्ट रोड क्षेत्रमा रहेको ‘एयरपोर्ट स्टेसन’ नामको रेष्टुरेन्ट चलाउने समूहले ब्रह्माण्डज्योती होल्डिङ जस्तै नाममा कम्पनी दर्ता गराएको, भोलि आइपिओ आउने छ भन्दै विद्यार्थीलाई नै कर्मचारी बनाएर टेलिफोनमार्फत प्रि-आइपिओको रकम उठाइरहेको उनले बताएका छन्। यस समुहले गुल्मीमा कृषि फार्म र ९० किलोवाटको लघुजलबिद्युत परियोजना बनाउने सपना देखाएर करोडौँ संकलन गरिसकेको छ। त्यसमाथि ‘प्रमोटर शेयर’ भन्दै प्रतिशेयर २५ रुपैयाँसम्म प्रिमियम उठाइरहेको जस्ता तथ्य भेटिएको बताए।
यी समूहले प्रि-आइपिओ बेचिदिए कमिशन दिने लोभ देखाउने, जग्गा दलालीमा जस्तै उच्च प्रलोभन दिने र अडिट रिपोर्ट वा बैलेन्सशीट देखाउनै नमान्ने गरेका छन्।
कर्पोरेट नामको दुरुपयोग
ठूला कर्पोरेट हाउस र चर्चित व्यक्तिहरूको नाम प्रयोग गरेर मूल्य बढाउने, प्रोजेक्सन पेपर देखाएर ठूलो कमिशनको प्रस्ताव ल्याउने, तर अडिट रिपोर्ट माग्दा नदिने प्रवृत्ति व्यापक भएको आचार्य बताउँछन्। उनी भन्छन्, “यो त केवल एउटा उदाहरण हो। मेरो अफिस भएको भवनमै हरेक दिन औषधी कम्पनीका एमआरजस्तै सजिएर आउने युवायुवती प्रि-आइपिओ भन्दै प्रमोटर शेयर बेच्दै हिंड्छन्।”
एक २५ वर्ष पुरानी औषधी कम्पनीको नाममा १५० रुपैयाँको शेयर बेचिदिए २०% कमिशन दिने प्रस्तावसमेत गरिएको उनले बताए। फोन, इमेल तथा एसएमएसमार्फत ठगी अभियान अझै तीव्र बनेको छ।
व्यक्तिगत जानकारी कसरी पुग्छ उनीहरूसित? धेरैजसो लगानीकर्ताले एउटै प्रश्न गर्छन् “हाम्रो नाम, फोन नम्बर र इमेल उनीहरू कहाँबाट पाउँछन्?” आचार्यका अनुसार, कतिपय ब्रोकर र बैंकका पूर्व–कर्मचारीहरूले व्यक्तिगत जानकारी संकलन गरी यस्ता समूहलाई उपलब्ध गराइदिएको आशंका बलियो छ।
सेबोनको ढिलासुस्तीले ठगी मौलाएको आरोप
लगानीकर्ताहरूले धितोपत्र बोर्डले यस्ता गतिविधि रोक्न नसकेको आरोप लगाइरहेका छन्। “सेबोनले पाइपलाइनमा भनेर कम्पनीको नाम राखिदिँदा ठगिनेहरूले त्यही नाम देखाएर मूल्य झनै बढाउन सहज भएको छ,” उनीहरू भन्छन्।
अब त कम्पनी चलाउनभन्दा ‘आइपिओ खोल्ने’ लोभमा मात्रै कम्पनी दर्ता गर्ने चलन बढेको विश्लेषकहरूको ठम्याइ छ। तीन वर्षपछि १००० रुपैयाँमा बेच्न पाइन्छ भनेर भ्रम फैलाएर पैसा उठाउने काम बढ्दो छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)













.jpeg)





प्रतिक्रिया