NIMB Header 2
Nepal Life

अहिलेसम्मकै महंगो रिलायन्स स्पिनिङको आइपिओमा पहिलो दिनै ६.८ गुणा बढी आवेदन

National Life
  • BFIS News
  • 2025 Dec 08 21:24
अहिलेसम्मकै महंगो रिलायन्स स्पिनिङको आइपिओमा पहिलो दिनै ६.८ गुणा बढी आवेदन
Sanima Reliance

काठमाडौं। अहिलेसम्मकै महंगो मानिएको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको प्राथमिक शेयर (आइपिओ) मा पहिलो दिनमै उच्च चहलपहल देखिएको छ। वैदेशिक रोजगारमा गएकाहरूका लागि आजदेखि खुला गरिएको उक्त आइपिओमा पहिलो दिनमै ६.८ गुणा बढी आवेदन परेको कम्पनीले जनाएको छ।

Shikhar
NIMB

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको १ लाख १५ हजार ५९६ कित्ता शेयरका लागि सोमबार मात्र १३ हजार ४४२ जनाले झण्डै ६४ करोड ७३ लाख रुपैयाँ बराबरको आवेदन दिएका छन्। प्रति कित्ता ८२०.८० रुपैयाँको दरले छुट्याइएको यो हिस्सा भर्ने न्यूनतम आवेदन ५० कित्ता रहेको छ, जसका लागि लगानीकर्तालाई कम्तीमा ४१ हजार ४० रुपैयाँ आवश्यक पर्छ।

चार दिनका लागि खुला गरिएको यस आइपिओको निष्काशन आगामी माघ २५ गते बन्द हुनेछ। बुक विल्डिङ विधिबाट मूल्य निर्धारण गरिएको यो आइपिओ उच्च मूल्यकै कारण बजारमा विवाद र विरोधका बीच आएको हो। शेयर मूल्यप्रति उठेका प्रश्नहरूका कारण लगानीकर्ताहरूले मुद्दा समेत दायर गरेका थिए। तर सर्वोच्च अदालतले कम्पनीको पक्षमा निर्णय सुनाएपछि आजदेखि सर्वसाधारणका लागि निष्काशन प्रक्रिया सुरु गरिएको हो।

बुक बिल्डिङमार्फत मूल्य निर्धारण

कम्पनीको जारी पुँजी रु १ अर्ब ९० करोड मध्ये १०.१४ प्रतिशतले हुन आउने रु १९ करोड २६ लाख ६० हजार बराबरको १९,२६,६०० कित्ता साधारण शेयर बुक बिल्डिङ प्रक्रियामार्फत निष्काशन हुँदैछ।

यसको पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको ७,७०,६४० कित्ता शेयर प्रति कित्ता रु ९१२ को दरमा पूर्ण रूपमा बिक्री भई कट–अफ मूल्य रु ९१२ तोकिएको हो। निर्देशिका अनुसार सर्वसाधारणका लागि कट–अफ मूल्यमा १० प्रतिशत छुट दिई रु ८२०.८० मा शेयर निष्काशन गरिँदैछ।

कसकसका लागि कति शेयर?

रु ८२०.८० को दरमा सार्वजनिक निष्काशन गरिन लागिएको ११,५५,९६० कित्ता साधारण शेयरमध्ये

 १०% (१,१५,५९६ कित्ता) : वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि

 ५% (५७,७९८ कित्ता) : सामूहिक लगानी कोषका लागि

 ५% (५७,७९८ कित्ता) : कम्पनीका कर्मचारीका लागि

 बाँकी ९,२४,७६८ कित्ता : अन्य सर्वसाधारण लगानीकर्ताका लागि खुला

यदि वैदेशिक रोजगारीतर्फ छुट्याइएको हिस्सा पूरा बिक्री नभएमा बाँकी सेयर सर्वसाधारणतर्फ नै समायोजन गरी निष्काशन गरिने कम्पनीले जनाएको छ।

उच्च मूल्य, बजारको चासो, विवाद र अन्ततः अदालतको हस्तक्षेपपछि सुरु भएको यो आइपिओले पहिलो दिनमै देखाएको आकर्षणले आगामी दिनमा झनै ठूलो प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया