Nepal Life

रिलायन्स स्पिनिङ मिल्सको आईपीओविरुद्ध सर्वोच्च अदालतमा रिट, लगानीकर्ता संघ आन्दोलित

NMB Bank
  • BFIS News
  • 2025 Dec 13 09:01
रिलायन्स स्पिनिङ मिल्सको आईपीओविरुद्ध सर्वोच्च अदालतमा रिट, लगानीकर्ता संघ आन्दोलित
National Life

काठमाडौं। नेपाल शेयरबजार लगानीकर्ता संघले रिलायन्स स्पिनिङ मिल्सको आइपिओ निष्काशन प्रक्रिया पारदर्शी र लगानीकर्ता मैत्री नभएको आरोप लगाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको छ।

Shikhar
NIMB

संघका अनुसार लामो समयदेखि विवादित रहँदै आएको उक्त कम्पनीको आईपीओ प्रक्रियामा गम्भीर अनियमितता भएको भन्दै यसअघि नेपाल धितोपत्र बोर्ड, अर्थ मन्त्रालय, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलगायत सम्बन्धित निकायमा अनुसन्धानका लागि अनुरोध गरिए पनि सुनुवाइ नभएपछि न्यायिक निकायको प्रयोग गर्नु परेको हो।

संघले २०८२ मंसिर १९ गते नेपाल धितोपत्र बोर्डका अध्यक्ष तथा निमित्त कार्यकारी निर्देशकसँग वार्ता गरी आईपीओ स्थगन गरी पुनर्मूल्यांकनपछि मात्र प्रक्रिया अघि बढाउन माग गरेको थियो। तर सो मागको बेवास्ता गर्दै भोलिपल्ट आव्हान पत्र सार्वजनिक गरिएपछि संघले सर्वोच्च अदालतमा रिट दायर गरेको जनाएको छ। हाल उक्त मुद्दा कैफियत प्रतिवेदन मगाई बहसको चरणमा रहेको संघले जानकारी दिएको छ।

संघका अनुसार कम्पनीले पुराना तथा तोडमरोड गरिएका तथ्यांक प्रयोग गरेको, सरकारबाट प्राप्त नै नभइसकेको निर्यात प्रोत्साहन (इन्सेन्टिभ) आम्दानीमा समावेश गरेको, नेपाल विद्युत प्राधिकरणको बक्यौता विद्युत महसुल खर्चमा नदेखाई विवरण तयार गरेको तथा म्युचुअल फण्डमार्फत गरिएको अधिक मूल्यांकनका आधारमा योग्य संस्थागत लगानीकर्ताको कटअफ मूल्य निर्धारण गरिएको छ। यी सबै कार्यलाई संघले ‘कानूनको गम्भीर उल्लंघन’ (Gross Violation of Law) भएको ठहर गरेको छ।

संघले हाल रिलायन्स स्पिनिङ मिल्सको सन्दर्भमा विभिन्न सञ्चार माध्यममा प्रकाशित आधारहीन समाचारप्रति पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघ र यसका पदाधिकारीहरू कुनै व्यक्तिगत स्वार्थ, लोभ वा लालचबिना सर्वसाधारण लगानीकर्ताको हकहित संरक्षणका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

संघले आफ्नो यस पहलमा सम्पूर्ण लगानीकर्ता, आम सञ्चार माध्यम, नियामक निकाय तथा सरोकारवाला सबै पक्षको सहयोगका लागि आग्रह गरेको छ। साथै, भविष्यमा पनि लगानीकर्ताको हकहितविपरीत हुने कुनै पनि गतिविधिविरुद्ध निरन्तर आवाज उठाइरहने प्रतिबद्धता संघले दोहोर्‍याएको छ।

नेपाल शेयरबजार लगानीकर्ता संघका सम्पूर्ण सदस्य तथा कार्यसमितिको तर्फबाट जारी विज्ञप्तिमा पूँजीबजारको विकास, सुधार र आधुनिकीकरणका लागि संघ सधैं सक्रिय रहने उल्लेख गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया