ज्योति विकास बैंकका कर्मचारीमाथि भएको दुर्व्यवहारको सिबिफिनद्वारा घोर भर्त्सना
- BFIS News
- 2025 Dec 15 19:12
काठमाडौं। सप्तरी जिल्लाको रुपनीस्थित ज्योति विकास बैंक शाखाका कर्मचारीमाथि गरिएको लज्जास्पद, घृणित तथा हिंस्रक दुर्व्यवहारप्रति नेपाल बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) ले घोर भर्त्सना गरेको छ।
सिबिफिनद्वारा जारी विज्ञप्तिअनुसार, लामो समयदेखि कर्जाको किस्ता नियमित हुन नसकेको विषयमा समाधान खोज्न स्वयं ऋणीको आग्रहमा छलफलका लागि पुगेका बैंक कर्मचारीहरुलाई स्थानीय तहका जिम्मेवार अधिकारीको नेतृत्वमा रहेका ऋणीहरुको समूहले घण्टौँसम्म नियन्त्रणमा राखी अमानवीय, पशुवत व्यवहार गर्दै कुटपिटसमेत गरेको आरोप लगाइएको छ। उक्त घटनाले कर्मचारीको शारीरिक तथा मानसिक सुरक्षामाथि गम्भीर आघात पुगेको सिबिफिनको ठहर छ।
घटनापछि स्थानीय सुरक्षा निकायले जाहेरीबिनै स्वतः अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा पीडितको जाहेरी दर्ता नगरी मिलापत्रका लागि दबाब दिएकोप्रति समेत सिबिफिनले कडा आपत्ति जनाएको छ। यस प्रकारको गैरजिम्मेवार कार्यले अपराधलाई प्रोत्साहन गर्ने खतरा रहेको उल्लेख गरिएको छ।
सिबिफिनले निहित स्वार्थपूर्तिका लागि बैंक तथा वित्तीय संस्था जस्ता संवेदनशील क्षेत्रमाथि हुने यस्ता ज्यादतीले कर्तव्यनिष्ठ कर्मचारीको मनोबल गिराउने मात्र नभई समग्र बैंकिङ प्रणाली र अर्थतन्त्रमा नकारात्मक असर पार्ने चेतावनी दिएको छ। दोषीमाथि हदैसम्मको कारबाही गर्न नेपाल सरकार, गृह मन्त्रालय तथा मातहतका सुरक्षा निकायसमक्ष जोडदार मागसमेत गरिएको छ।
विज्ञप्तिमा हाल देशमा शान्ति सुरक्षा, सुशासन तथा आर्थिक गतिविधि सुदृढ गर्ने प्रयास भइरहेकै समयमा बैंक तथा वित्तीय संस्था र त्यहाँ कार्यरत कर्मचारीमाथि भएको आक्रमणलाई सिबिफिनले बैंकिङ क्षेत्रमाथिको मात्र नभई स्वयं सरकारमाथिकै आक्रमणका रूपमा व्याख्या गरेको छ।
साथै, बैंकिङ कारोबारमा अवरोध सिर्जना गर्ने, अफवाह फैलाउने, कर्जा नतिर्न दुरुत्साहन गर्ने, कर्मचारीमाथि आक्रमण तथा मानमर्दन गर्ने जस्ता कानुनविपरीत गतिविधिहरू बढ्दै गएकोप्रति सिबिफिनले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।
बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित कुनै गुनासो भए सम्बन्धित बैंकको माथिल्लो व्यवस्थापन वा नेपाल राष्ट्र बैंकको गुनासो सुनुवाइ इकाईमा उजुरी दिन सकिने वैधानिक व्यवस्था हुँदाहुँदै कानून आफ्नै हातमा लिएर गरिने यस्ता कार्य निन्दनीय रहेको सिबिफिनको भनाइ छ।
बैंक तथा वित्तीय संस्था र त्यहाँ कार्यरत सम्पूर्ण कर्मचारीको प्रभावकारी सुरक्षा सुनिश्चित गर्न तथा बैंकिङ सेवा निर्वाध रूपमा सञ्चालन हुने सुरक्षित वातावरण निर्माण गर्न संघीय, प्रदेश र स्थानीय सरकार, गृह मन्त्रालयसहित सबै सरोकारवाला निकायसँग सिबिफिनले अपील गरेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)


















प्रतिक्रिया