बैंक तथा वित्तीय संस्थामाथि भएका घटनाप्रति नेपाल राष्ट्र बैंकको गम्भीर ध्यानाकर्षण
- BFIS News
- 2025 Dec 17 06:25
काठमाडौं । हालैका दिनमा बैंक तथा वित्तीय संस्था लक्षित विभिन्न घटनाप्रति नेपाल राष्ट्र बैंक (एनआरबी) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थाको संयुक्त प्रयासमा देशभरका सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको पहुँच विस्तार भइसकेको उल्लेख गर्दै केन्द्रीय बैंकले यसले स्थानीयस्तरमै सर्वसाधारणलाई निक्षेप राख्न, कर्जा लिन, विप्रेषण सेवा प्राप्त गर्न तथा सामाजिक सुरक्षा भत्तालगायतका वित्तीय सेवा सहज रूपमा उपलब्ध गराएको जनाएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र केन्द्रीय बैंकका निर्देशनअनुसार कर्जा प्रवाह गर्ने, प्रवाहित कर्जाको परियोजना अनुगमन गर्ने तथा कर्जा असुलउपर गर्नु सम्बन्धित बैंक तथा वित्तीय संस्थाको प्रमुख दायित्व हो । सर्वसाधारणबाट संकलित निक्षेपलाई कर्जाका रूपमा प्रवाह गरिने भएकाले कर्जा फिर्ता नभएमा निक्षेपकर्तालाई रकम फिर्ता गर्न कठिनाइ हुने र तरलतामा प्रत्यक्ष प्रभाव पर्ने हुँदा ऋणीले लिएको कर्जा नियमित रूपमा भुक्तानी गर्नु अपरिहार्य रहेको बैंकले स्पष्ट पारेको छ ।
यद्यपि, कुनै प्रतिकूल परिस्थितिका कारण ऋण भुक्तानीमा समस्या परेमा त्यसलाई सम्बोधन गर्न नेपाल राष्ट्र बैंकले समय–समयमा कर्जा पुनरसंरचना तथा पुनरतालिकीकरणजस्ता व्यवस्था गर्दै आएको पनि जनाएको छ ।
बैंकिङ कारोबारका क्रममा कुनै किसिमको गुनासो भएमा सम्बन्धित बैंक तथा वित्तीय संस्था र नेपाल राष्ट्र बैंकमा गुनासो सुनुवाइको व्यवस्था रहेको उल्लेख गर्दै ग्राहकले आफूलाई मर्का परेको ठानेमा औपचारिक रूपमा गुनासो दर्ता गरी समाधान खोज्न सक्ने व्यवस्था रहेको बैंकले जानकारी दिएको छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था तथा त्यहाँ कार्यरत कर्मचारीविरुद्ध गैरव्यावसायिक र उच्छृङ्खल गतिविधि नियन्त्रण नभए वित्तीय साधन परिचालनमा कठिनाइ हुने र समग्र वित्तीय सेवा प्रभावित हुने चेतावनी दिएको छ । त्यसैले वित्तीय सेवा अवरुद्ध हुने किसिमका गतिविधिमा संलग्न नहुन सबै सरोकारवालालाई आग्रह गरिएको छ ।
साथै, बैंक तथा वित्तीय संस्था र त्यहाँ कार्यरत कर्मचारीसँग गैरजिम्मेवार व्यवहार गर्ने वा उच्छृङ्खल गतिविधिमा संलग्न व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने स्पष्ट गर्दै नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीको मनोबल उच्च राखी निर्भीक रूपमा काम गर्न अनुरोध गरेको छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)


















प्रतिक्रिया