NIMB Header 2
Nepal Life

राष्ट्र बैंकद्वारा आर्थिक तथा वित्तीय अवस्थामाथि अन्तरक्रिया, उत्पादन र पूर्वाधारमा लगानी नबढेसम्म अर्थतन्त्र सुधार हुँदैन

National Life
  • BFIS News
  • 2025 Dec 24 20:57
राष्ट्र बैंकद्वारा आर्थिक तथा वित्तीय अवस्थामाथि अन्तरक्रिया, उत्पादन र पूर्वाधारमा लगानी नबढेसम्म अर्थतन्त्र सुधार हुँदैन
Sanima Reliance

काठमाडौं, पुस ९। ‘आर्थिक तथा वित्तीय स्थिति र मौद्रिक नीतिको कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रम आज काठमाडौंमा सम्पन्न भएको छ। नेपाल राष्ट्र बैंकको आयोजनामा भएको उक्त कार्यक्रममा अर्थविद्, आर्थिक तथा वित्तीय क्षेत्रका सरोकारवाला संघसंस्थाका प्रतिनिधि, सरकारी निकायका उच्च अधिकारी, उद्योगी–व्यवसायी, बैंकर तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो।

Shikhar
NIMB

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले मुलुकमा पूर्वाधार विकासको अवस्था कमजोर रहेको उल्लेख गर्दै पूर्वाधार संरचना विस्तारका लागि संस्थागत क्षमता अभिवृद्धि आवश्यक रहेको बताए। उनले पूर्वाधार विकासमा वैदेशिक लगानी आकर्षित गर्न नीतिगत तथा संरचनागत वातावरण अझ सहज र अनुकूल बनाइनुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रममा राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. रामशरण खरेलले आर्थिक तथा वित्तीय स्थिति र मौद्रिक नीतिको कार्यदिशा विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। उनले समष्टिगत अर्थतन्त्रको पृष्ठभूमि, अर्थतन्त्र तथा वित्तीय क्षेत्रको वर्तमान अवस्था, विद्यमान चुनौती र ती चुनौती सम्बोधन गर्न सरकार तथा राष्ट्र बैंकबाट गरिएका नीतिगत प्रयासबारे चर्चा गरे। साथै दीर्घकालीन सुधारका लागि आवश्यक मार्गचित्रसमेत प्रस्तुत गरिएको थियो।

कार्यपत्रमाथि टिप्पणी गर्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थविद् पृथ्वीराज लिगलले कुल राष्ट्रिय बचत बढ्दै गए पनि लगानीको अनुपात कमजोर रहेको बताए। बाह्य क्षेत्रको अवस्था सबल देखिए तापनि अर्थतन्त्रका अन्य सूचकहरू कमजोर रहेको उल्लेख गर्दै अधिक तरलता उत्पादनमूलक क्षेत्रमा परिचालन नभएसम्म अर्थतन्त्र सुधार नहुने उनको भनाइ थियो।

अर्थविद् डा. गोविन्द नेपालले विदेशी विनिमय सञ्चितिलाई उत्पादनमूलक र पूर्वाधार विकासका क्षेत्रमा परिचालन गर्न सरकारको सक्रिय भूमिका आवश्यक रहेको बताए। त्यसैगरी, अर्थशास्त्री डा. कल्पना खनालले ब्याजदर निरन्तर घट्दै जाँदा पुँजी पलायनको जोखिम बढ्न सक्ने चेतावनी दिँदै उपलब्ध वित्तीय स्रोतलाई पूर्वाधार परियोजनामा केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याइन्। राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा सह–प्राध्यापक डा. रमेशचन्द्र पौडेलले मुलुकको अर्थतन्त्र शिथिल अवस्थामा रहेको उल्लेख गर्दै वैदेशिक लगानी परिचालन तथा उत्पादन र उत्पादकत्व वृद्धि गर्न सबल वित्त नीति आवश्यक रहेकोमा जोड दिए।

कार्यक्रममा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, नेपाल राष्ट्र बैंकका उच्च अधिकारी तथा आर्थिक–वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न निकायका प्रतिनिधिले प्रस्तुत कार्यपत्र र समसामयिक आर्थिक अवस्थाबारे सुझाव र धारणा राखेका थिए।

कार्यक्रमको समापन अवसरमा नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा मानव संसाधन व्यवस्थापन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले कार्यक्रमको उद्देश्य स्पष्ट पार्दै वित्तीय क्षेत्रलाई सुदृढ र गतिशील बनाउन राष्ट्र बैंकले गरिरहेका नीतिगत तथा संस्थागत प्रयासबारे जानकारी गराएका थिए।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया