NIMB Header 2
Nepal Life

वैकल्पिक राजनीतिबाट मूलधारतर्फ : रास्वपामा विवेकशील धारको बढ्दो प्रभाव, नाम हराए पनि विचार बचाउने अभिभारा

Muktinath Bank
  • BFIS News
  • 2025 Dec 29 20:03
वैकल्पिक राजनीतिबाट मूलधारतर्फ : रास्वपामा विवेकशील धारको बढ्दो प्रभाव, नाम हराए पनि विचार बचाउने अभिभारा
National Life

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र साविक विवेकशील नेपाली दलबाट आएका नेताहरूको प्रभाव र क्रेज उल्लेखनीय रूपमा बढ्दै गएको छ। कहिल्यै सत्ताको केन्द्रमा नपुगे पनि वैकल्पिक, सुसंस्कृत र मुद्दा–केन्द्रित राजनीतिका लागि परिचित विवेकशील धार अहिले रास्वपामार्फत पुनः मूलधारको राजनीतिक बहसमा मजबुत रूपमा देखिन थालेको छ।

Shikhar
NIMB

तत्कालीन विवेकशीलले उठाएका धेरैजसो राजनीतिक मुद्दाहरू सुशासन, पारदर्शिता, जवाफदेहिता र नागरिक सहभागिता आज रास्वपाले निरन्तर उठाउँदै आएको छ। यही वैचारिक निरन्तरताका कारण विवेकशील पृष्ठभूमिका नेताहरू रास्वपाभित्र स्वाभाविक रूपमा स्वीकार भइरहेका छन्।

२०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनेकी रञ्जु दर्शनाले २३ हजारभन्दा बढी मत ल्याएर वैकल्पिक राजनीतिले सम्भावना बोकेको सन्देश दिएकी थिइन्। त्यही विवेकशील अभियान आज ‘निसर्त’ एकताको निर्णयसहित रास्वपामा समाहित भएको छ। पार्टीको नाम, नेतृत्व, पद र चुनाव चिह्न केही पनि नरहने गरी गरिएको उक्त एकतामा पनि विवेकशील धारले सम्मानजनक स्थान पाएको विश्लेषण गरिएको छ।

विवेकशील नेपाली दलका संस्थापक उज्ज्वल थापालाई नेपालमा वैकल्पिक राजनीतिको ढोका खोल्ने व्यक्तिका रूपमा स्मरण गरिन्छ। पुराना राजनीतिक दलका तौरतरिकाबाट आजित जनताका लागि उनले नयाँ बाटो देखाएका थिए। २०६९ सालतिर सुरु भएको विवेकशील अभियानको मूल उद्देश्य नै युवा पुस्तालाई राजनीतिप्रति आकर्षित गर्नु, राजनीतिक प्रणालीका कमजोरीमाथि खुला बहस गर्नु र सुसंस्कृत राजनीतिक अभ्यासको थालनी गर्नु थियो।

धेरै युवामा ‘राजनीति भनेको फोहोरी खेल हो’ भन्ने धारणाबाट व्याप्त रहेको समयमा उज्ज्वल थापाले त्यो फोहोर सफा गरेर मात्र सभ्य राजनीति निर्माण गर्न सकिने सन्देश दिएका थिए। सरल, शालिन र तामझामविहीन व्यक्तित्वका थापा सार्वजनिक रूपमा कम देखिए पनि नागरिक चेतनाको तहमा गहिरो प्रभाव छोड्न सफल भए। उनी राजनीतिमा थिए, तर सत्ता र पदको महत्वाकांक्षा थिएन; थियो त केवल राजनीति बदल्ने दृढ इच्छाशक्ति। शक्ति र सत्ताको मापदण्डले हेर्दा उनी ‘फुटनोट’ जस्ता देखिए पनि वैकल्पिक राजनीतिक चेतनाको हिसाबले उनी सिंगो ‘च्याप्टर’ नै हुन्।

आज जसरी वैकल्पिक राजनीतिका रूपमा रवि लामिछाने नेतृत्वको रास्वपा अगाडि बढिरहेको छ, त्यसको वैचारिक जगमा उज्ज्वल थापाको योगदान स्पष्ट देखिन्छ। त्यसैले पनि रास्वपामार्फत विवेकशील धार पुनर्जीवित भइरहेको अनुभूति धेरैले गरेका छन्।

यसको पछिल्लो उदाहरण रास्वपाको समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा देखिएको छ। रञ्जु दर्शनाले सामाजिक सञ्जालमार्फत बागमती प्रदेश अन्तर्गत ‘खस आर्य’ क्लस्टरमा १३ हजार ५ सय ५१ मत प्राप्त गरी समग्रमा तेस्रो र महिला तर्फ पहिलो स्थान हासिल गरेकोमा पार्टी सदस्यहरूप्रति आभार व्यक्त गरेकी छन्। विवेकशील साझाबाट रास्वपामा समाहित भएकी रञ्जुले रमेश प्रसाईं र प्रमोद न्यौपानेपछि तेस्रो स्थान हासिल गरेकी हुन्।

त्यसैगरी तत्कालीन विवेकशील साझाकी अध्यक्ष समीक्षा बाँस्कोटाले १२ हजार ४ सय ६० मत ल्याएर सोही क्लस्टरमा छैठौं स्थान हासिल गरेकी छन्। रास्वपाले खस आर्य, आदिवासी जनजाति, मधेसी, दलित, थारु र मुस्लिम क्लस्टरमा सबैभन्दा धेरै मत प्राप्त गर्ने उम्मेदवारहरूको नाम सार्वजनिक गरेको हो। पार्टी सदस्यहरूका लागि मतदान समय आज बिहान १० बजेसम्म तोकिएको थियो।

रास्वपाले समानुपातिकतर्फ ११० उम्मेदवार छनोट गर्नुपर्ने भए पनि हाल ५४ जनाको मात्र नाम सार्वजनिक गरेको छ। प्रतिनिधि सभामा समानुपातिकतर्फ ११० सिटका लागि निर्वाचन हुँदैछ र दलहरूले आजै उम्मेदवारको नामावली निर्वाचन आयोगमा बुझाउनुपर्ने थियो। रास्वपा र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पक्षबीच सहमति भएकाले आधा मात्र नाम सार्वजनिक गरिएको बताइएको छ। बालेन शाह पक्षलाई ४० जनाको नाम दिनुपर्ने सहमतिअनुसार रास्वपाले अन्ततः ७० नाम तय गर्नुपर्ने भए पनि हालसम्म ५४ जनामा मात्र टुंगो लगाएको हो।

समानुपातिक निर्वाचन प्रणालीमा सिङ्गो मुलुकलाई एउटै निर्वाचन क्षेत्र मानिन्छ। कुनै पनि दलले कम्तीमा सदर मतको ३ प्रतिशत कटाएपछि मात्र सिट पाउँछ। २०७९ सालको निर्वाचनमा झण्डै ८५ हजार मत बराबर एक सिट परेको थियो। सो निर्वाचनमा रास्वपाले ११ लाख ३० हजार ३ सय ४४ मत ल्याएर १३ सिट प्राप्त गरेको थियो।

यसपटक झण्डै ९ लाख मतदाता थपिएकाले एक सिटका लागि ९० देखि ९५ हजार मत आवश्यक पर्ने अनुमान छ। सार्वजनिक भएका ५४ जनालाई निर्वाचित गराउन रास्वपाले करिब ४८ लाख ६० हजार मत आवश्यक पर्ने देखिन्छ। २०७९ मा समानुपातिकतर्फ नेकपा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो भएका थिए भने रास्वपा चौथो स्थानमा थियो।

तर अहिलेको राजनीतिक माहोल, वैकल्पिक धारको पुनःउभार र विवेकशील पृष्ठभूमिका नेताहरूको सक्रियताले रास्वपाको यात्रा नयाँ मोडतर्फ अघि बढिरहेको संकेत गरेको छ। वैकल्पिक राजनीतिका बीउ रोप्ने उज्ज्वल थापाको सपना रास्वपामार्फत कति अगाडि बढ्छ, त्यो भने आगामी निर्वाचनले स्पष्ट गर्नेछ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया