बैंकिङ क्षेत्रमा आक्रमण अस्वीकार्य, हमला जारी रहे ‘प्रतिरक्षा’ गर्न बाध्य हुन्छौं: सन्तोष कोइराला
- BFIS News
- 2025 Dec 29 20:50
काठमाडौं । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि पछिल्लो समय बढ्दै गएको भौतिक आक्रमण, धम्की र दुर्व्यवहारप्रति गम्भीर आपत्ति जनाएका छन्। आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘नलेज सेयरिङ’ कार्यक्रममा मन्तव्य दिँदै उनले यस्ता गतिविधिले बैंकिङ क्षेत्रलाई गम्भीर संकटतर्फ धकेल्ने चेतावनी दिए।
कोइरालाले भर्खरै ज्योति विकास बैंकका कर्मचारी ऋण असुलीका क्रममा आक्रमणमा परेको घटनाको उल्लेख गर्दै बैंकर्स संघसहित सम्पूर्ण बैंकिङ समुदायले उक्त घटनाको घोर भर्त्सना गरेको बताए। “नेपाल कानुनी राज्य हो। ऋण दिने र उठाउने सबै प्रक्रिया स्पष्ट कानुनी ढाँचामा छन्। ती कानुन र राष्ट्र बैंकका निर्देशन पालना गर्नु हाम्रो बाध्यता हो,” उनले भने।
राजनीतिक स्वार्थ पूरा गर्न बैंकका कर्मचारीलाई निशाना बनाउने प्रवृत्तिको विरोध गर्दै उनले बैंकिङ क्षेत्र राजनीतिक रूपमा निरपेक्ष र पेशागत रहेको स्पष्ट पारे। “राजनीतिसँग हाम्रो लेनदेन छैन। तर राजनीतिक अभिष्ट पूरा गर्न कर्मचारीमाथि धरपकड, धम्की, कालोमोसो दल्ने, जुत्ताको माला लगाउने जस्ता क्रियाकलाप स्वीकार्य हुँदैनन्,” उनले भने।
कोइरालाले बैंकिङ क्षेत्रमा करिब ५० हजार नेपालीले रोजगारी पाएको उल्लेख गर्दै यस्ता घटनाले कर्मचारी र उनीहरूका आश्रित परिवारमा गम्भीर मानसिक आघात पुग्ने बताए। “देशभित्रै रोजगारी सिर्जना गरिरहेका संस्थामाथि आक्रमण हुनु दीर्घकालीन रूपमा अर्थतन्त्रका लागि हानिकारक हुन्छ,” उनले जोड दिए।
बैंक तथा वित्तीय संस्थाहरूले करिब ७५–७६ खर्ब रुपैयाँको निक्षेप परिचालन गर्दै ५४–५५ खर्ब रुपैयाँ ऋण लगानी गरिरहेको स्मरण गराउँदै उनले बैंकिङ क्षेत्र अत्यन्त जिम्मेवार र नियमनमा रहेको क्षेत्र भएको बताए। पछिल्ला घटनाले संयम भंग गराउने प्रयास देखिएको उनको भनाइ थियो।
बैंकका कर्मचारीलाई कानुनी बाटो अपनाउन आग्रह गर्दै कोइरालाले प्रशासन, प्रहरी र बैंकर्स संघमार्फत उजुरी र समन्वयको व्यवस्था रहेको बताए। साथै, सरकारले पनि बैंकिङ क्षेत्रको सुरक्षा सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए।
ऋण मिनाहाको विषयमा बोल्दै उनले स्रोतको सुनिश्चितता बिना अतिरञ्जित घोषणाले जनतालाई भ्रमित गर्ने र देशलाई गलत दिशातर्फ लैजाने चेतावनी दिए। “सबै कुरा ब्ल्याक एन्ड ह्वाइटमा स्पष्ट नआएसम्म यस्ता अभिव्यक्तिले समस्या मात्र बढाउँछन्,” उनले भने।
हाल बैंकिङ प्रणालीमा करिब ६ खर्ब रुपैयाँ बराबरको उच्च तरलता रहेको उल्लेख गर्दै उनले लगानीको माग अपेक्षाअनुसार नबढेको बताए। राजनीतिक र आर्थिक विश्वासको अभावले लगानी सुस्त भएको संकेत गर्दै उनले अवस्था क्रमशः सुधार हुने अपेक्षा व्यक्त गरे। नेपाल राष्ट्र बैंकले ल्याइरहेका सुधारात्मक कदम र प्रतिवेदन कार्यान्वयनले स्थिति सहज बनाउने उनको विश्वास छ।
कार्यक्रममा उनले पत्रकारिताको भूमिकाप्रति पनि ध्यानाकर्षण गराए। “पत्रकारिता जिम्मेवार हुनुपर्छ। प्रमाणविहीन आरोप, व्यक्तिगत लाञ्छना र नकारात्मक प्रस्तुतीकरणले व्यक्ति र परिवारको मानसिकतामा गहिरो असर पर्छ,” उनले भने। समाचार लेख्दा तथ्य प्रमाणित गरेर अन्त्यसम्म पुर्याउन र नकारात्मक अभियानलाई बढावा नदिन उनले पत्रकारहरूलाई आग्रह गरे।
अन्त्यमा कोइरालाले बैंकिङ क्षेत्रमाथि भइरहेका आक्रमणले देशलाई समुन्नतितर्फ होइन, संकटतर्फ लैजाने भन्दै सबै पक्षलाई संयमता, संवाद र कानुनी प्रक्रियामार्फत समाधान खोज्न अपील गरे।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)


















प्रतिक्रिया