ग्राहक मैत्री प्रविधि र सुशासनबाट आईएमई लाइफ थप बलियो बन्दै: सीईओ पवन खड्का
- BFIS News
- 2026 Jan 08 12:08
काठमाडौं। आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवन कुमार खड्काले कम्पनीको वित्तीय अवस्था सुदृढ हुँदै गएको र आगामी दिनमा प्रविधि, सुशासन तथा दिगोपनालाई प्राथमिकतामा राख्दै व्यवसाय विस्तार गरिने बताएका छन्।
कम्पनीको नवौं वार्षिक साधारण सभामा प्रस्तुत मन्तव्यमा सीईओ खड्काले आर्थिक वर्ष २०८०/०८१ मा कम्पनीले उल्लेखनीय प्रगति हासिल गरेको जानकारी दिए। उनका अनुसार समीक्षा वर्षमा कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा कूल बीमा शुल्क संकलन २०.७० प्रतिशतले वृद्धि गर्न सफल भएको छ। यसअन्तर्गत प्रथम बीमा शुल्क संकलन २५.८४३ प्रतिशत र नविकरण बीमा शुल्क संकलन १८.३०९ प्रतिशतले बढेको छ।
त्यसैगरी जीवन बीमा कोष ४३.१० प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै उनले यसकै आधारमा कम्पनीले १०.५२६३२७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव नवौं वार्षिक साधारण सभामा पेश गर्न सफल भएको बताए। भविष्यमा पूँजीलाई सुरक्षित र विवेकपूर्ण ढंगले लगानी गर्दै जीवन बीमा कोष, जगेडा कोष तथा सोल्भेन्सी मार्जिनजस्ता प्रमुख वित्तीय सूचकहरूलाई थप सुदृढ बनाउने नीति अवलम्बन गरिने उनको भनाइ थियो।
सीईओ खड्काले कम्पनीका समग्र वित्तीय सूचकहरू उत्साहजनक रहेको उल्लेख गर्दै समीक्षा वर्षमा बीमा शुल्क संकलनसँगै दाबी भुक्तानी संख्यामा पनि वृद्धि भएको बताए। यसले ग्राहकप्रतिको कम्पनीको जिम्मेवारी र सेवा प्रभावकारीता स्पष्ट हुने उनको धारणा थियो।
प्रविधिको क्षेत्रमा भएको प्रगतिबारे जानकारी दिँदै उनले मोबाइल एपमार्फत बीमितलाई एक लाख रुपैयाँसम्म बीमालेख धितो राखी ऋण लिन सक्ने सुविधा उपलब्ध गराइएको बताए। साथै, अनलाइन केवाईसी, बीमालेख नवीकरण, बीमालेख खरिद, स्वचालित भुक्तानी, पेपरलेस प्रणाली, साइबर सुरक्षा र सफ्टवेयर एकीकरणजस्ता कार्य सम्पन्न भइसकेको जानकारी दिए। भविष्यमा अझै ग्राहक–मैत्री प्रविधि विस्तार गरिने प्रतिबद्धता उनले व्यक्त गरे।
मानव संसाधन विकासलाई कम्पनीको महत्वपूर्ण सम्पत्ति मान्दै सीईओ खड्काले कर्मचारी र अभिकर्ताको ज्ञान, सीप र नेतृत्व क्षमता अभिवृद्धिका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षकबाट तालिम दिइँदै आएको बताए। समीक्षा वर्षमा मानव संसाधन, सुशासन, वित्तीय अनुशासन, जोखिम व्यवस्थापन, दाबी भुक्तानीलगायत विषयमा ४७ वटा आन्तरिक तथा बाह्य तालिम सञ्चालन गरिएको उनले जानकारी दिए।
संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत कम्पनीले वित्तीय साक्षरता, रक्तदान, स्वास्थ्य शिविर, वृक्षारोपण तथा राहत सामग्री वितरणजस्ता कार्यक्रम देशभर सञ्चालन गर्दै आएको पनि सीईओ खड्काले बताए। यसलाई अझ व्यवस्थित बनाउन कम्पनीले सन् २०२४ देखि लागू हुने गरी छुट्टै सीएसआर नीति कार्यान्वयनमा ल्याएको छ।
त्यसैगरी कम्पनीले वातावरणीय, सामाजिक तथा सुशासन (ESG) का सिद्धान्तहरूलाई आफ्ना नीति तथा कार्यक्रममा समावेश गरेको उल्लेख गर्दै डिजिटल सेवा विस्तार, अनलाइन बीमालेख जारी र बीमा शुल्क संकलनमार्फत वातावरणीय प्रभाव घटाउन योगदान पुगेको बताए। आगामी दिनमा ऊर्जा खपत प्रभावकारी बनाउने, डिजिटल माध्यमको प्रयोग बढाउने र स्रोतसाधनको विवेकपूर्ण उपयोग गर्दै वातावरणीय प्रभाव न्यूनिकरण गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।
सुशासनलाई उच्च प्राथमिकतामा राख्दै कम्पनीले आर्थिक वर्ष २०८०/०८१ देखि नै Risk Based Capital (RBC) प्रणाली लागू गरिसकेको र NFRS 17 कार्यान्वयनको प्रक्रियामा रहेको जानकारी पनि सीईओ खड्काले दिए।
सीईओ खड्काले आगामी वर्षहरूमा कम्पनीको बजार उपस्थितिलाई अझ विस्तार गर्ने, ग्राहक सेवालाई थप सुदृढ बनाउने र प्रविधिको अधिकतम उपयोगमार्फत शेयरधनी, बीमित, कर्मचारी, अभिकर्ता तथा सम्पूर्ण सरोकारवालाको हित संरक्षणका लागि आवश्यक रणनीति र कार्ययोजना कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै सबैको निरन्तर साथ, सहयोग र समर्थनको अपेक्षा गरे।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)









.jpeg)








प्रतिक्रिया