NIMB Header 2
Nepal Life

चुनौतीपूर्ण अर्थतन्त्रमा पनि प्रभु महालक्ष्मी लाइफको दिगो प्रगति : सीईओ सन्तोष प्रसाईं

Muktinath Bank
  • BFIS News
  • 2026 Jan 13 15:35
चुनौतीपूर्ण अर्थतन्त्रमा पनि प्रभु महालक्ष्मी लाइफको दिगो प्रगति : सीईओ सन्तोष प्रसाईं
National Life

काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईंले कम्पनीले चुनौतीपूर्ण आर्थिक अवस्थाबीच पनि दिगो र स्थिर प्रगति हासिल गरेको बताएका छन्। कम्पनीको ९औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले वित्तीय अनुशासन, जोखिम व्यवस्थापन र सेवाको गुणस्तरमा निरन्तर सुधारका कारण कम्पनीप्रति सरोकारवालाको विश्वास अझ मजबुत बनेको उल्लेख गरे।

Shikhar
NIMB

उनका अनुसार सर्वसाधारणलाई भरपर्दो, सहज र गुणस्तरीय जीवन बीमा सेवा प्रदान गर्ने उद्देश्यका साथ स्थापित प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले विस्तार हुँदै गएको शाखा सञ्जाल, व्यवस्थापन प्रणालीमा सुधार र प्रविधिको प्रयोगमार्फत संस्थागत आधार सुदृढ बनाउँदै आएको छ। प्रतिस्पर्धात्मक जीवन बीमा बजारमा कम्पनीले डिजिटलाइजेसन, प्रक्रिया स्वचालन र सेवा नवप्रवर्तनमार्फत ग्राहक अनुभव सुधारमा विशेष ध्यान दिएको उनले बताए।

आर्थिक वर्ष २०८१/८२ को वित्तीय उपलब्धि

आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले उल्लेखनीय वित्तीय प्रगति गरेको जानकारी दिँदै सीईओ प्रसाईंले कुल बीमा शुल्क आम्दानी ५ अर्ब ३७ करोड रुपैयाँ पुगेको बताए। सो अवधिमा जीवन बीमा कोष १४ अर्ब २ करोड रुपैयाँ, लगानीयोग्य कोष १९ अर्ब ८३ करोड रुपैयाँ र कर पछिको खुद नाफा ३८ करोड ७० लाख रुपैयाँ कायम भएको छ।

उनले घट्दो ब्याजदर र सीमित लगानी अवसरको परिस्थितिमा पनि अनुशासित अन्डरराइटिङ, बढ्दो ग्राहक आधार र प्रभावकारी कोष व्यवस्थापनका कारण सन्तोषजनक नतिजा हासिल भएको बताए। साधारणसभामा सञ्चालक समितिले सेयरधनीलाई कुल ८.४२१ प्रतिशत लाभांश प्रस्ताव गरेको जानकारी दिइयो। प्रस्तावित लाभांशमा ४ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने करसहित ४.४२१ प्रतिशत नगद लाभांश समावेश छ। सीईओ प्रसाईंले यसले कम्पनीको पूँजीगत सुदृढता कायम राख्दै सेयरधनीलाई उचित प्रतिफल दिने प्रतिबद्धता झल्काउने बताए।

व्यवसाय विस्तार र रणनीतिक प्राथमिकता

कम्पनीको व्यवसाय विस्तार सन्तोषजनक रहेको उल्लेख गर्दै उनले अघिल्लो आर्थिक वर्षको तुलनामा पहिलो वर्षको बीमा शुल्क आम्दानी ६१ प्रतिशतले वृद्धि भएको जानकारी दिए। गत वर्ष ‘डेर टु ड्रीम बिग’ भन्ने मूल नाराका साथ अघि बढेको कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ लाई ‘एक्स्पोनेन्सियल ग्रोथ इयर’ घोषणा गर्दै मापन, कार्यक्षमता र दिगोपनामा केन्द्रित रणनीति अपनाएको छ।

डिजिटल प्लेटफर्म विस्तार, अभिकर्ता भर्ना तथा तालिम, राष्ट्रव्यापी तालिम कार्यक्रम र कर्मचारी क्षमताविकासलाई प्रमुख प्राथमिकता दिइएको उनले बताए।

लगानी, जोखिम व्यवस्थापन र सुशासन

देशभित्रको सामाजिक–राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय द्वन्द्व र आर्थिक सुस्तताका कारण बीमा क्षेत्र थप चुनौतीपूर्ण बनेको उल्लेख गर्दै सीईओ प्रसाईंले ब्याजदरमा आएको करिब ५० प्रतिशत गिरावटले लगानी प्रतिफलमा असर पारेको बताए। जोखिममा आधारित पूँजी (आरबीसी) प्रणाली र नियामक निर्देशिकाअनुसार वैकल्पिक तथा विविधीकृत लगानी रणनीति अपनाइएको उनको भनाइ थियो।

उनले कम्पनीले सुशासन, आन्तरिक नियन्त्रण, पारदर्शिता र नियामक अनुपालनलाई थप सुदृढ बनाउँदै दीर्घकालीन दिगो वृद्धि र बीमितको हित संरक्षणमा केन्द्रित रहेको बताए।

सीईओ प्रसाईंले गुणस्तरीय बीमा उत्पादन, सुदृढ आन्तरिक प्रणाली र ग्राहक सेवामा प्राथमिकतामार्फत कम्पनीले आगामी दिनमा आफूलाई भरपर्दो र स्थिर जीवन बीमा संस्थाको रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरेका छन्। उनले प्रवर्द्धक, सेयरधनी, नियामक निकाय, बीमित, अभिकर्ता, व्यवसायिक साझेदार, शुभेच्छुक तथा सम्पूर्ण कर्मचारीप्रति आभार व्यक्त गर्दै निरन्तर सहयोगको अपेक्षा गरे।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया