घर बनाउने सोचमा हुनुहुन्छ? इतिहासकै सस्तो घर कर्जा, कुन बैंकको कति ब्याजदर?
- आयुश बस्नेत
- 2026 Jan 19 09:35
काठमाडौं। कतै तपाईं घर बनाउने योजना बनाइरहनु भएको त छैन? यदि छ भने अहिलेको समय घर निर्माण वा खरिदका लागि निकै अनुकूल देखिएको छ। बैंक तथा वित्तीय प्रणालीमा अधिक तरलता हुँदा कर्जाको ब्याजदर ऐतिहासिक रूपमा न्यून तहमा झरेको छ। निक्षेपमा पैसा राख्दा २ प्रतिशत हाराहारी मात्र ब्याज पाइने अवस्था रहे पनि कर्जा भने ४ देखि ५ प्रतिशतसम्ममै उपलब्ध भइरहेको छ।
घर हरेक मानिसको आधारभूत आवश्यकता हो। तर घर कहाँ बनाउने, कस्तो बनाउने भन्ने विषय व्यक्तिको आर्थिक क्षमतामा निर्भर गर्छ। घर बनाउन जग्गा अनिवार्य आवश्यकता हो। विशेषगरी शहरमा आफ्नै घर बनाउने चाहना धेरैको भए पनि एक आम नेपालीका लागि यो सहज विषय भने होइन। सामान्य व्यवसाय गर्ने वा जागिर खाने व्यक्तिले जीवनभरको कमाइ बचत गर्दा पनि घर बनाउने चुनौती रहन्छ।
यही अवस्थालाई सहज बनाउन बैंक तथा वित्तीय संस्थाहरूले घरजग्गा कर्जामा आकर्षक सुविधा ल्याएका छन्। तपाईंसँग केही पूँजी छ तर त्यो रकमले मात्र घर बनाउन सम्भव छैन भने बैंकको ऋण थपेर घरजग्गा जोड्न सक्नुहुन्छ। आफ्नो आम्दानी अनुसार किस्तामा ऋण तिर्ने सुविधा उपलब्ध हुन्छ। बैंकरहरूका अनुसार अहिलेको समय इतिहासकै सबैभन्दा स्वर्णिम अवसर हो। किनभने तरलता अलिकति घट्नासाथ ब्याजदर फेरि माथि जान सक्छ, जसले मासिक किस्ता बढाउँछ। अहिले फिक्स्ड ब्याजदरमा ऋण लिएमा आगामी लामो समयसम्म वित्तीय व्यवस्थापन सहज हुने उनीहरूको भनाइ छ।
तपाईंको कमाइ कति छ?
बैंकले ऋण दिनुअघि तपाईंको आम्दानीको स्रोत र क्षमता मूल्यांकन गर्छ। घर खर्च कटाएर मासिक किस्ता तिर्न सक्ने अवस्था छ कि छैन भन्ने आधारमा ऋण स्वीकृत हुन्छ। सामान्यतया बैंकहरूले ऋणी व्यक्ति, वा एकाघरका श्रीमान–श्रीमती वा परिवारका सदस्यको कुल मासिक आम्दानीको बढीमा ६० प्रतिशतसम्म किस्ता हुने गरी ऋण दिन्छन्। उदाहरणका लागि, एकाघरको मासिक आम्दानी १ लाख रुपैयाँ छ भने अधिकतम ६० हजार रुपैयाँसम्म मासिक किस्ता पर्ने ऋण मात्र उपलब्ध हुन्छ। प्रायः ६० वर्षभन्दा कम उमेरकालाई यस्तो ऋण प्रदान गरिन्छ।
धितोको मूल्यांकन कति आउँछ?
निजी आवासीय घर निर्माण वा खरिद गर्न बैंकबाट ३ करोड रुपैयाँसम्म कर्जा पाइने व्यवस्था छ । नेपाल राष्ट्र बैङ्कले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत यस्तो कर्जाको सीमा २ करोडबाट बढाएर ३ करोड बनाउने व्यवस्था गरेको छ।
पहिलो घर निर्माण वा खरिद गर्दा कर्जा मूल्य अनुपात ८० प्रतिशत बनाइएको छ भने अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म बनाउने व्यवस्था रहेको छ। यो राष्ट्र बैंकको व्यवस्था हो तर बैंकहरुले आ-आफ्नै हिसावले कर्जाको स्किम बनाउदछन्।
ऋण कसरी लिने?
घर कर्जा लिन बैंकमा निवेदन दिनुपर्छ। निवेदनसँगै धितो राख्ने घरजग्गाको धनीपुर्जा, नागरिकताको प्रतिलिपि, नक्साको ट्रेसलगायत कागजात पेश गर्नुपर्छ। जग्गा धितोमा राख्दा बैंकले नापी कार्यालयबाट ट्रेस मगाउँछ। ट्रेस प्राप्त भएपछि सूचीकृत मूल्यांकनकर्ता कम्पनीमार्फत धितो मूल्यांकन गरिन्छ।
मूल्यांकन प्रतिवेदन आएपछि ऋण स्वीकृतिको प्रक्रिया अघि बढ्छ। ऋण स्वीकृत भएपछि धितो राखिएको घरजग्गा मालपोत कार्यालयबाट बैंकको नाममा रोक्का गरिन्छ। रोक्का प्रक्रिया पूरा भएपछि ऋणीको खातामा ऋण रकम उपलब्ध गराइन्छ। यस सम्बन्धमा थप जानकारीका लागि नजिकको बैंक शाखामा सम्पर्क गर्न सकिन्छ।
कुन बैंकको व्याजदर कति?
बैंक तथा वित्तीय संस्थाले माघ महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार राष्ट्रिय वाणिज्य बैंकले ४.६७ प्रतिशतमा घर कर्जा अफर गरेको छ। यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकले एक वर्षका लागि फिक्स्ड हुने गरी ६.९९ प्रतिशत ब्याजदरको अफर ल्याएको छ। हाल अधिकांश बैंकहरूले आकर्षक प्रोडक्टसहित न्यून ब्याजदरमा घर कर्जा आह्वान गरिरहेका छन्। निश्चित आम्दानी हुने व्यक्तिका लागि फिक्स्ड ब्याजदर भविष्यमा झनै फाइदाजनक हुने देखिन्छ।
नबिल बैंक
नबिल बैंकले घर कर्जाका लागि ५.५४ प्रतिशतमै अफर गरेको छ। बैंकले Affordable Loan मा ५.७९ प्रतिशत व्याजदरमा कर्जा दिइरहेको छ। सुपर होम लोनका लागि ६.०४ प्रतिशत, सस्टेनेबल होम लोन ६.०४ प्रतिशत, ७ वर्षका लागि ढुक्क हुने गरी ८.९९ प्रतिशत, १० वर्षका लागि ढुक्क ९.४९ प्रतिशतमा कर्जा दिइरहेको छ।
नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंकले ३ करोडसम्मको घर कर्जाका लागि ५.३४ प्रतिशतमै घर कर्जा उपलब्ध गराइरहेको छ। तीन करोड भन्दा कम कर्जाको हकमा ७.३४ प्रतिशतमा उपलब्ध गराइरहेको छ।
ग्लोबल आइएमई बैंक
ग्लोबलले ६.६६ प्रतिशतमै घर कर्जा उपलब्ध गराइरहेको छ। बैंकले फिक्ड व्याजदर कायम राख्नेका लागि ८.९९ प्रतिशतमै कर्जा दिइरहेको छ।
लक्ष्मी सनराइज बैंक
लक्ष्मी सनराइज बैंकले ६.२५ प्रतिशतमै घर कर्जाका लागि अफर गरिरहेको छ। होम लोन इक्वीटी प्रोडक्टका लागि ६.७५ प्रतिशत, होम इक्वीटी रिसल्भिङ क्रेडिटका लागि ७.२५ प्रतिशत, १५ वर्षको फिक्सड दरका लागि ७.९९ प्रतिशत कायम गरेको छ।
राष्ट्रिय बाणिज्य बैंक
राष्ट्रिय बाणिज्य बैंकले घर कर्जाका लागि विभिन्न स्किमहरु ल्याएको छ। भुकम्प पिडितका लागि बैंकले ४.६७ प्रतिशत व्याजदरमै घर कर्जा उपलब्ध गराइरहेको छ। नेपाल आर्मीका लागि ४.७४ प्रतिशत, तीन करोडसम्मको व्यक्तिगत घर कर्जाका लागि ५.९२ प्रतिशत, १५ देखि २० वर्ष अवधिको घर कर्जाका लागि भने ६.४२ प्रतिशत रहेको छ। बैंकले १५ वर्षको लागी फिक्स्ड व्याजदर हुने गरी ९.२५ प्रतिशत रहेको छ। २० वर्ष अवधिको फिक्स व्याजदर भने ९.५० प्रतिशत रहेको छ।
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले २ करोड बराबरको घर कर्जाका लागि ५.९८ प्रतिशत व्याजदर कायम गरेको छ। दुई करोड भन्दा कम व्याजदरका लागि बैंकले ६.४८ प्रतिशतमा कर्जा प्रवाह गरिरहेको छ। ५ वर्षको फिक्सड हुने गरी ७.७५ प्रतिशत कायम गरेको छ। १० वर्षको फिक्स्ड हुने गरी ८.५० प्रतिशतमा दिइरहेको छ।
एभरेष्ट बैंक
एभरेष्ट बैंकले ७ वर्षका लागि फिक्सड हुने गरी ७.४९ प्रतिशतमै घर कर्जा प्रवाह गरिरहेको छ। सामान्य घर कर्जाक लागि ५.८० प्रतिशतमै दिइरहेको छ।
एनएमबी बैंक
एनएमबी बैंकले सबैभन्दा आकर्षक २० वर्ष अवधिका लागि फिक्सड हुने गरी ५.९८ प्रतिशत व्याजदरमै ३ करोडसम्मका लागि घर कर्जा उपलब्ध गराइरहेको छ। जग्गा खरिदकालागि पनि बैंकले एक करोडसम्मको कर्जा ६.४८ प्रतिशतमै दिइरहेको छ। बैंकले सुलभ होम लोन अन्तर्गत १० वर्षका लागि फिक्सड हुने गरी ९.९९ प्रतिशत व्याजदरमा कर्जा दिइरहेको छ। बैंकले धितो मूल्याङ्कन तथा ऋणीको अवस्था अनुसार मूल्याङ्कन गरेर व्याजदर तय गर्दछ।
हेर्नुहोस् कुन बैंकको कति ?

![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)












.jpeg)




प्रतिक्रिया