नेशनल लाईफको एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न, ८३ जना सम्मानित
- BFIS News
- 2026 Jan 19 17:13
काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले धुलिखेलस्थित दुषित थानी हिमालयन रिसोर्टमा एमडिआरटी (Million Dollar Round Table) सम्मान तथा तालिम कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको प्रमुख आतिथ्यतामा तथा प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सम्पन्न भएको हो।
अभिकर्ताहरूको अन्तर्राष्ट्रिय फोरम एमडिआरटीले एमडिआरटी २०२६ का लागि तोकेको बीमाशुल्क संकलन मापदण्ड पूरा गरेका नेपालभरका अभिकर्ताहरूमध्ये टिओटी (Top of the Table) मा २ जना, सिओटी (Court of the Table) मा ४ जना र एमडिआरटीमा ७७ जना गरी कुल ८३ जना अभिकर्ताहरूलाई समारोहका बीच सम्मान गरिएको थियो।
कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए। सो अवसरमा सहभागी अभिकर्ताहरूलाई चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक काजिम रजाले जीवन बीमा व्यवसायमा थप प्रेरणा प्रदान गर्दै अभिकर्ताहरूको व्यवसायिक दक्षता अभिवृद्धि र निरन्तर एमडिआरटी लक्ष्य हासिल गर्न सहयोग पुग्ने गरी उदाहरणसहितको तालिम प्रदान गरेका थिए।
समारोहमा प्रमुख कार्यकारी अधिकृतले कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै केही नयाँ अभ्यासहरू सुरु गरिएको र यसबाट अभिकर्ताहरू उत्साहित भएको बताए। उनले एमडिआरटी २०२६ का लागि तोकिएको बीमाशुल्क संकलन गरी एमडिआरटी, सिओटी तथा टिओटीको गरिमामय लक्ष्य हासिल गर्न सफल सबै अभिकर्ताहरूलाई विशेष सम्मान गरेका थिए। साथै, कम्पनीले एमडिआरटी अभिकर्ता उत्पादनलाई थप प्रोत्साहन गर्ने उद्देश्यले ल्याएको ‘मासिक योजना चेज योर एमडिआरटी’ अन्तर्गत सफल अभिकर्ताहरूलाई तोकिएको प्रोत्साहन प्रदान गरिएको थियो। यसैगरी, सबैभन्दा बढी एमडिआरटी अभिकर्ता उत्पादन गर्न सफल तिनकुने शाखालाई पनि सम्मान गरिएको थियो।
कार्यक्रममा कम्पनीकी उपप्रमुख कार्यकारी अधिकृत स्मृती राज कँडेलले सहभागीहरूलाई स्वागत गरेका थिए भने नायब महाप्रबन्धक प्रज्वल सायमीले धन्यवाद ज्ञापन गरेका थिए।
विभिन्न मनोरञ्जनात्मक प्रस्तुति, उपलब्धिमूलक उत्प्रेरणात्मक तालिम तथा उच्चस्तरीय सम्मान कार्यक्रम समावेश गरिएको उक्त भव्य समारोहमा सम्मान ग्रहण गरेका बिजनेस लिडरहरूले आफूहरूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व महसुस भएको प्रतिक्रिया व्यक्त गरेका थिए।

![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)


















प्रतिक्रिया