नेपाली कांग्रेसको ‘क्रान्तिकारी’ छनोट : स्याङ्जा–१ मा अर्थतन्त्र बुझेका भरतराज ढकाल सिफारिस
- BFIS News
- 2026 Jan 19 21:57
काठमाडौं। नेपाली कांग्रेसले स्याङ्जा क्षेत्र नम्बर १ का लागि भरतराज ढकाललाई उम्मेदवारका रूपमा अघि सारेको छ। जिल्लाबाट प्रारम्भिक छनोटका क्रममा दबौ नम्बरमा राखिएको उनको नाम अन्ततः परिवर्तनमुखी युवा नेतृत्वको पहलमा सिफारिस सूचीमा परेको हो। इकोनोमिक आर्किटेक्टका रूपमा परिचित व्यवसायिक व्यक्तित्व ढकाल मुक्तिनाथ विकास बैंकका संस्थापक तथा मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी निर्देशक हुन्।
यसपटक नेपाली कांग्रेसले उम्मेदवार छनोटमा परम्परागत अभ्यासभन्दा फरक, ‘क्रान्तिकारी’ कदम चालेको छ। जनआक्रोश, युवा असन्तुष्टि र ‘जेन–जी’ आन्दोलनपछि सिर्जित दबाबलाई नजिकबाट नियालिरहेका गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वले “हाम्रोभन्दा राम्रो व्यक्तित्व” अघि सार्ने प्रयास गरिरहेका छन्। यही प्रयासका क्रममा ढकाल सिफारिसमा पर्न सफल भएका हुन्।
नेपालको सात दशक लामो राजनीतिक यात्रामा व्यवस्था र पात्रहरू पटक–पटक फेरिए, तर एउटा साझा प्रश्न अझै अनुत्तरित छ राजनीतिक परिवर्तनले आर्थिक समृद्धि किन दिन सकेन? पछिल्लो समय ‘जेन–जी’ आन्दोलनपछि यो बहस झन् चर्किएको छ कि अब राजनीतिमा परम्परागत अनुहार चाहिने हो कि संस्थागत सुशासन र आर्थिक समृद्धिमा योगदान दिन सक्ने भिजनरी नेतृत्व? यसै प्रश्नको उत्तर हुन् भरतराज ढकाल जस्ता व्यक्तित्व नेपाली कांग्रेस जस्तो सात दशक विरासत बोकेको दलबाट निर्वाचनमा उम्मेदवार बन्न सक्नु।
शून्यदेखि शिखरसम्मको यात्रा
भरतराज ढकालको जीवनयात्रा कुनै विरासत वा सौभाग्यको उपज होइन। स्याङ्जाको एउटा सामान्य गाउँबाट सुरु भएको उनको संघर्षले इच्छाशक्ति भए असम्भव केही हुँदैन भन्ने सन्देश दिन्छ। सहकारीबाट बैंक खोल्ने सपना देख्दा “सहकारी चलाउनेले बैंक कसरी चलाउँछ?” भन्ने व्यङ्ग्य उनले धेरै सुन्नुपर्यो। तर, उनले त्यसलाई चुनौतीका रूपमा लिए।
नेपालका सबै बैंकहरूको गहिरो अध्ययनपछि उनले एउटा जीवनमन्त्र अपनाए “कि बेस्ट हुनुपर्यो, बेस्ट हुन नसके बेटर, त्यो पनि नसके फरक।” यही फरक सोचका साथ १ करोड ३० लाख पूँजीबाट सुरु भएको मुक्तिनाथ विकास बैंक आज ८ अर्बभन्दा बढी पूँजी भएको राष्ट्रिय स्तरको बैंक बनेको छ। यस सफलताको केन्द्रमा बलियो प्रणाली र संस्थागत सुशासन रहेको उनी निकटहरू बताउँछन्।
बैंकिङबाट कृषितर्फको साहसिक मोड
सफल बैंकरका रूपमा ‘ग्ल्यामरस’ जीवन बिताइरहेका ढकालले सबै सुविधा त्यागेर कृषि रोज्नु नै उनलाई अरूभन्दा फरक बनाउने मुख्य कारण मानिन्छ। “बैंकले पैसा चलाउँछ, तर देश उत्पादनले चल्छ,” भन्ने निष्कर्षमा पुगेका ढकालले २० वर्षको बैंकिङ करिअरलाई विश्राम दिएर मुक्तिनाथ कृषि कम्पनी स्थापना गरे। यो निर्णयलाई धेरैले जोखिमपूर्ण माने पनि उनले यसलाई अर्थतन्त्रको जग सुधार्ने दीर्घकालीन भिजनका रूपमा व्याख्या गरेका छन्।
उनले नेपालमा पहिलो पटक सार्वजनिक निजी सामुदायिक साझेदारी (PPCP) मोडलको वकालत गर्दै बीउदेखि बजारसम्मको संस्थागत मूल्य श्रृंखला विकासमा जोड दिएका छन्। “गाउँको उत्पादन सहरमा, सहरको पुँजी गाउँमा” भन्ने उनको मन्त्र कृषि क्षेत्रको रूपान्तरणको आधार बनेको छ।
नीति निर्माणमा व्यवसायिक अनुभवको आवश्यकता
ढकालको दाबी छ आजका धेरै राजनीतिक नेतृत्वले संगठन र सत्ता समीकरण त बुझ्छन्, तर व्यवसायिक जोखिम, लगानीको चक्र, रोजगारी सिर्जना र बजारको मनोविज्ञानबारे पर्याप्त बुझाइ छैन। पब्लिक लिमिटेड कम्पनीहरूमा दशकौँ बिताएका व्यक्तिको अनुभव नीति निर्माण तहमा पुग्दा समग्र अर्थतन्त्रलाई विधि र प्रणालीको शासनमा बाँध्न सहयोग पुग्ने उनको तर्क छ।
उनले संसदमा पुगेपछि तीनै तहका सरकारका लागि स्पष्ट रोडम्याप अघि सारेका छन् स्थानीय तहमा एक संरचना, एक कृषि परियोजना; प्रदेश तहमा कृषि औद्योगिक आयोजना; र केन्द्रमा कृषि क्षेत्रका लागि एकीकृत प्राधिकरण निर्माण गर्ने। उनको अनुभवले नेपालको कृषि क्षेत्रलाई आधुनिक र व्यवसायिक बनाउने नीतिगत पहलमा ठोस कदम चल्नेमा आशा गर्न सकिन्छ। उनको अनुभवलाई राज्यले उपयोग गर्नका लागि सबैभन्दा पहिला स्याङ्जा क्षेत्र नम्बर एकका जनताले निर्वाचित गर्नु पर्छ।
यो पनि पढ्नुहोस्
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)


















प्रतिक्रिया