NIMB Header 2
Nepal Life

काठमाडौं–१ मा प्रकाशमान बाहिरिँदा राश्वपाकी रञ्जु दर्शनलाई कत्तीको सहज?

National Life
  • BFIS News
  • 2026 Jan 20 23:08
काठमाडौं–१ मा प्रकाशमान बाहिरिँदा राश्वपाकी रञ्जु दर्शनलाई कत्तीको सहज?
Sanima Reliance

काठमाडौं। काठमाडौं क्षेत्र नम्बर १ यस वर्ष पनि बहुप्रतिक्षित र रोचक निर्वाचन प्रतिस्पर्धाको केन्द्र बन्ने संकेत देखिएको छ। लामो समयदेखि यही क्षेत्रबाट निर्वाचित हुँदै आएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह यस पटक मैदानमा नउत्रँदा राजनीतिक समीकरण नै फेरिएको छ। सिंहको सट्टामा कांग्रेसले नयाँ अनुहार प्रबल थापालाई उम्मेदवार बनाएपछि क्षेत्र नम्बर १ थप चासोको विषय बनेको हो।

Shikhar
NIMB

प्रकाशमान सिंहले २०६४, २०७०, २०७४ र २०७९ गरी चार पटक लगातार काठमाडौं–१ बाट निर्वाचन जितेका थिए। पछिल्ला चुनावहरूमा पनि उनी र रविन्द्र मिश्रबीच कडा प्रतिस्पर्धा हुँदै आएको थियो। २०७४ को चुनावमा विवेकशील साझाबाट उम्मेदवार बनेका मिश्र ८१९ मतले पराजित भएका थिए भने २०७९ को निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उम्मेदवार बनेका मिश्रलाई सिंहले १३२ मतले हराएका थिए। सो निर्वाचनमा सिंहले ७ हजार १४३ मत पाउँदा मिश्रले ७ हजार ११ मत ल्याएका थिए।

तर यस पटक चित्र फरक छ। कांग्रेसभित्र नेतृत्व परिवर्तन र टिकट वितरणको समीकरणले प्रकाशमान सिंहलाई काठमाडौं–१ को टिकटबाट बाहिर राख्यो। विशेष महाधिवेशनमार्फत कांग्रेसको नेतृत्व परिवर्तन भएपछि पनि सिंहले टिकट पाउने अपेक्षा गरिएको थियो। तर अन्ततः कांग्रेसले उनलाई टिकट नदिई प्रबल थापालाई अघि सारेको छ।

प्रबल थापा कांग्रेसको महाधिवेशन तथा महासमिति सदस्य हुनुका साथै प्रदेश सभा क्षेत्रीय कार्यसमिति सचिव हुन्। राजनीतिक पृष्ठभूमिका हिसाबले उनी चासोको केन्द्रमा छन्। उनको परिवारमा राप्रपा तथा राजावादी धारसँग नजिकका व्यक्तिहरू धेरै छन्। उनी राप्रपाका पूर्व अध्यक्ष कमल थापाका भान्जा तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त लोकमानसिंह कार्कीका ज्वाइँ हुन्। परिवारको यस्तो पृष्ठभूमि हुँदाहुँदै पनि प्रबल सानैदेखि कांग्रेस राजनीतितर्फ आकर्षित भएको बताइन्छ। उनका बुवा कांग्रेसका सक्रिय कार्यकर्ता थिए, तर प्रबल सानै हुँदा उनको निधन भएको थियो।

उता, यस क्षेत्रमा राप्रपाबाट रविन्द्र मिश्र फेरि मैदानमा छन्। पत्रकारिताबाट राजनीतिमा आएका मिश्र विगतका दुई निर्वाचनमा फरक–फरक दलबाट उम्मेदवार बनेर पराजित भइसकेका छन्। यस पटक पनि उनको राजनीतिक भविष्य कता मोडिन्छ भन्ने प्रश्न उठिरहेको छ। अघिल्ला चुनावको तुलनामा यस पटक मिश्रको चर्चा केही कम देखिए पनि उनको मत आधार कसरी विभाजित हुन्छ भन्नेले परिणाममा असर पार्ने विश्लेषण गरिएको छ।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रञ्जु दर्शना उम्मेदवार बनेकी छन्। समानुपातिक सूचीबाट आफ्नो नाम हटाएर उनी काठमाडौं–१ बाट प्रत्यक्ष चुनावी मैदानमा उत्रिएकी हुन्। काठमाडौं महानगरको मेयर पदमा विवेकशील दलबाट उम्मेदवार बनेर उल्लेख्य मत ल्याएकी दर्शनाको आफ्नै ‘क्रेज’ छ। विवेकशील साझाको पृष्ठभूमिबाट आएको उनको राजनीतिक यात्रा अहिले रास्वपाको वैकल्पिक शक्तिको दाबीसँग जोडिएको छ। यस क्रममा उनी आफ्ना पुराना सहयात्री रविन्द्र मिश्रसँगै आमनेसामने हुने भएकी छन्।

रास्वपाले राष्ट्रव्यापी रूपमा सिर्जना गरिरहेको जनलहरले दर्शनालाई बल दिइरहेका बेला कांग्रेसको परम्परागत जनाधार भएको यस क्षेत्रमा परिणाम सहज नहुने संकेत देखिएको छ। कांग्रेसका नयाँ उम्मेदवार, रास्वपाको उदय र राप्रपाको निरन्तर प्रयासका कारण काठमाडौं–१ कसैका लागि पनि सजिलो क्षेत्र बनेको छैन। उता नेपाल कम्युनिष्ट पार्टीबाट भने मेनका भण्डारीको उम्मेदवारी परेको छ। नेकपा एमालेको तर्फबाट मोहन रेग्मीले उम्मेदवारी दिएको छ। 

अब चुनावी अभियान कसरी अघि बढ्छ, कसले कस्तो माहोल सिर्जना गर्छ र मतदाताको मन कसले जित्छ भन्ने कुराले अन्तिम परिणाम तय गर्नेछ। यही कारण काठमाडौं क्षेत्र नम्बर १ यस वर्ष पनि सबैको नजरमा परेको, अत्यन्त रोचक र प्रतिस्पर्धात्मक निर्वाचन क्षेत्र बनेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया