NIMB Header 2
Nepal Life

फागुन २१ का १६ ‘हटस्पट’ निर्वाचन क्षेत्र, जसले बढाउँदैछन् चुनावी रौनक

National Life
  • BFIS News
  • 2026 Jan 21 12:14
फागुन २१ का १६ ‘हटस्पट’ निर्वाचन क्षेत्र, जसले बढाउँदैछन् चुनावी रौनक
Sanima Reliance

काठमाडौं।  फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता सम्पन्न भएसँगै चुनावी माहोल तातेको छ।

Shikhar
NIMB

देशभरका सबै निर्वाचन क्षेत्रको प्रतिस्पर्धा स्वभाविक रूपमा रोचक हुने भए पनि केही क्षेत्र यस्ता छन्, जहाँको प्रतिस्पर्धाले यसपटकको निर्वाचनलाई विशेष रूपमा रोमाञ्चक बनाएको छ। ती क्षेत्रहरूलाई विश्लेषकहरूले ‘हटस्पट’ का रूपमा हेरेका छन्।

झापा र डडेल्धुरा: किल्लामा फेरबदलको संकेत

सुदूरपूर्वको झापा र सुदूरपश्चिमको डडेल्धुरा २०४७ सालयताका हरेक निर्वाचनमा चर्चाको केन्द्रमा रहँदै आएका छन्। झापा नेकपा एमालेको किल्ला र डडेल्धुरा नेपाली कांग्रेसको किल्लाका रूपमा चिनिँदै आएको छ। तर यसपटक डडेल्धुराबाट लगातार जित्दै आएका कांग्रेस सभापति शेरबहादुर देउवाले टिकट नपाएपछि नैनसिंह महर उम्मेदवार बनेका छन्। देउवा मैदानबाहिर रहँदा डडेल्धुराको चुनावी ‘चार्म’ केही घटेको आकलन गरिएको छ।

उता झापा भने यसपटक राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रियस्तरमै चर्चामा छ। एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृह क्षेत्र झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले उम्मेदवारी दर्ता गरेपछि राजनीतिक तापक्रम एकाएक बढेको छ। यससँगै झापा–२ पनि अर्को हटस्पट बनेको छ, जहाँ एमालेबाट निवर्तमान सभामुख देवराज घिमिरे र रास्वपाबाट निवर्तमान उपसभामुख इन्दिरा राना आमनेसामने छन्। यसै क्षेत्रमा राप्रपाबाट अधिवक्ता स्वागत (भद्र) नेपाल र स्वतन्त्रतर्फ वरिष्ठ अधिवक्ता डा. युवराज संग्रौला पनि उम्मेदवार छन्।

भक्तपुरदेखि रोल्पासम्म युवा र चर्चित अनुहारको भिडन्त

भक्तपुर–२ मा एमाले सचिव महेश बस्नेत, नेकपाका युवा नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’, रास्वपाबाट राजीव खत्री र कांग्रेसबाट पत्रकार कविर राणा उम्मेदवार बनेका छन्। रोल्पामा नेकपाबाट वर्षमान पुन उम्मेदवार बनेका छन् भने म्याग्दीमा शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

रौतहट, काठमाडौं र दाङमा पेचिलो प्रतिस्पर्धा

पूर्वप्रधानमन्त्री माधव नेपालको गृह क्षेत्र रौतहट–१ पनि चर्चामा छ। २०७४ मा यही क्षेत्रबाट निर्वाचित पूर्व उद्योगमन्त्री अनिल झाले पार्टी परिवर्तन गर्दै नेपाली कांग्रेसबाट उम्मेदवारी दिएपछि यहाँको प्रतिस्पर्धा रोचक बनेको छ।

काठमाडौं–१ मा राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र फेरि मैदानमा छन्। अघिल्ला दुई निर्वाचनमा कांग्रेसका प्रकाशमान सिंहसँग पराजित मिश्र यसपटक नयाँ प्रतिस्पर्धीहरूसँग जुध्दै छन्। काठमाडौं–५ मा कांग्रेस महामन्त्री प्रदीप पौडेल र एमाले वरिष्ठ नेता ईश्वर पोखरेलबीच ‘हेभिवेट’ भिडन्त दोहोरिँदै छ। काठमाडौं–३ मा रास्वपाबाट राजुनाथ पाण्डे, उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ र एमालेका रामेश्वर फुयाँल उम्मेदवार बनेका छन्।

दाङ–२ मा एमाले महासचिव शंकर पोखरेल, रास्वपाका विपिन आचार्य, कांग्रेसका किरणकिशोर घिमिरे र नेकपाका निर्मल आचार्यबीचको प्रतिस्पर्धा चासोको विषय बनेको छ।

सुनसरी, गोरखा र सर्लाहीमा छुट्टै रंग

सुनसरी–१ मा धरानका मेयर हर्कराज राई (साम्पाङ) को उम्मेदवारीले माहोल तताएको छ। गोरखा–२ मा एमालेबाट मिलन गुरुङ (चक्रे मिलन), प्रलोपबाट पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र रास्वपाका कविन्द्र बुर्लाकोटीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ।

सर्लाही–२ मा महिन्द्र राय र राजेन्द्र महतोबीच पुरानै प्रतिद्वन्द्विता दोहोरिँदै छ भने सर्लाही–४ मा कांग्रेस सभापति गगन थापा र डा. अमरेश कुमार सिंहबीचको भिडन्तले चासो बढाएको छ।

चितवन र रुपन्देही पनि केन्द्रमा

चितवन–२ मा रास्वपाका रवि लामिछाने ह्याट्रिक जितको प्रयासमा छन्। सहकारी ठगी प्रकरणका कारण उनले वारिसमार्फत उम्मेदवारी दर्ता गरे पनि उनको चुनावी भविष्यलाई लिएर चासो बढेको छ। चितवन–३ मा रेनु दाहाल र सोबिता गौतमबीचको प्रतिस्पर्धाले थप रोमान्चकता थपेको छ।

रुपन्देही–२ मा एमाले उपाध्यक्ष विष्णु पौडेल र कांग्रेसका उद्यमी चुन्नुप्रसाद पौडेलबीचको प्रतिस्पर्धा चर्चामा छ। यस क्षेत्रमा नेकपाबाट विश्वदीप पाण्डे पनि उम्मेदवार बनेका छन्।

यी १६ क्षेत्रहरूमा देखिएको तीव्र प्रतिस्पर्धाले फागुन २१ को निर्वाचनलाई थप रोचक र निर्णायक बनाउने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया