NIMB Header 2
Nepal Life

लघुवित्तलाई बलियो बनाएर वित्तीय क्षेत्र सुधार गर्न सरोकारवालाको जोड

National Life
  • BFIS News
  • 2026 Jan 24 12:16
लघुवित्तलाई बलियो बनाएर वित्तीय क्षेत्र सुधार गर्न सरोकारवालाको जोड
Sanima Reliance

काठमाण्डौ । नेपालको वित्तीय क्षेत्रलाई सुदृढ बनाउन लघुवित्त संस्थाहरूलाई थप बलियो बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को आयोजनामा सम्पन्न लघुवित्तका समस्या र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले ग्रामीण अर्थतन्त्र चलायमान बनाउन तथा गरिबी न्यूनिकरणमा लघुवित्तको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएका हुन्।

Shikhar
NIMB

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा अर्थविज्ञ डा. गुणाकर भट्टले लघुवित्त क्षेत्रमा देखिएका वर्तमान समस्याहरू साझा प्रयास र पहलबाट समाधान खोज्नुपर्नेमा जोड दिए। उनले लघुवित्त क्षेत्रमा समस्या मात्र नभई सम्भावनासमेत प्रशस्त रहेको उल्लेख गर्दै अर्थतन्त्र चलायमान बनाउन लघुवित्तको योगदान महत्वपूर्ण रहने विश्वास व्यक्त गरे। केही लघुवित्तमा समस्या आएको भन्दैमा सम्पूर्ण लघुवित्त क्षेत्र नै समस्याग्रस्त भएको ठान्न नमिल्ने बताउँदै उनले सकारात्मक परिवर्तनमा योगदान गरिरहेका लघुवित्तबारे पनि पर्याप्त चर्चा परिचर्चा हुनुपर्ने धारणा राखे।

समस्या र समाधान सँगसँगै अघि बढ्ने उल्लेख गर्दै डा. भट्टले लघुवित्त क्षेत्रले सरकार, नियामक निकाय र सरोकारवालासँग आफ्ना विषयवस्तु सामूहिक रूपमा राख्नुपर्ने सुझाव दिए। स्थानीय तहसम्म पहुँच विस्तार गर्न आवश्यक रहेको उनको भनाइ थियो। उनले नीतिगत पैरवीका लागि साझा उद्देश्य र साझा लाभका विषयमा एकजुट भएर अघि बढ्न आग्रह गरे।

कार्यक्रमको स्वागत मन्तव्य व्यक्त गर्दै साना किसान विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत वासु अधिकारीले नियामक निकायका नीति, विधि तथा परिमार्जित कानुनबारे लघुवित्त क्षेत्रका नेतृत्वलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। पछिल्लो समय कानुनमा भएका बदलावबारे समग्र लघुवित्त क्षेत्रलाई जानकारी होस् भन्ने ध्येयले देशभरका ३५ भन्दा बढी लघुवित्त वित्तीय संस्थाका प्रमुखहरूको सहभागितामा दुईपक्षीय छलफल गरिएको उनले जानकारी दिए। सुधारको सुरुवात आफैँबाट गर्नुपर्ने उल्लेख गर्दै उनले संस्थागत सुशासनमा विशेष ध्यान दिन सबैलाई अनुरोध गरे।

कार्यक्रममा प्रस्तुत दुई कार्यपत्रमाथि टिप्पणी गर्दै नेपाल राष्ट्र बैंकको लघुवित्त सुपरिवेक्षण विभागका उपनिर्देशक पिताम्बर पोख्रेलले लघुवित्त क्षेत्रमा नियमकीय व्यवस्थालाई सहज बनाउन आफूहरू तयार रहेको बताए। लघुवित्त क्षेत्र आफैँमा खराब नभई केही व्यक्तिका गलत कार्यका कारण समस्या देखिएको उनको धारणा थियो। उनले कानुनसम्मत रूपमा सुधारका कार्यहरू अघि बढिरहेको बताउँदै लघुवित्त क्षेत्र, सरोकारवाला र नियामक निकायको सहकार्यबाट यस क्षेत्रको भावी दिशा तय गर्न सकिने बताए।

यस अवसरमा नेरुडे मिर्मिरे लघुवित्त संस्थाका पूर्व प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले लघुवित्त क्षेत्रका समस्या, चुनौती तथा दिगो व्यावसायिक सन्तुलनका विषयमा कार्यपत्र प्रस्तुत गरे। त्यस्तै, नेपाल राष्ट्र बैंकका उपनिर्देशक विवेक कोइरालाले लघुवित्त क्षेत्रका वर्तमान समस्या निराकरणका उपाय र नियामकीय रणनीतिबारे कार्यपत्र प्रस्तुत गरेका थिए। चार्टर्ड एकाउन्टेन्ट विदुर लुइँटेलले लघुवित्त संस्थामा कर्जा नोक्सानी व्यवस्था, सन्दर्भ अवधारणा र त्यसको प्रभावबारे प्रस्तुति राखेका थिए।

कार्यक्रमको समापन गर्दै साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का नायब प्रमुख कार्यकारी अधिकृत पृथ बहादुर थापाले लघुवित्त क्षेत्रमा गहिरो अनुसन्धानको आवश्यकता औंल्याए। सतही धारणा बनाएर होइन, वास्तविकतामा आधारित बहस हुनुपर्नेमा जोड दिँदै उनले सकारात्मक काम गर्ने लघुवित्तलाई प्रोत्साहन र कमजोरी गर्नेहरूलाई सुधारको अवसर दिनुपर्ने माग गरे। लघुवित्तले महिलाको आत्मसम्मान, आत्मविश्वास अभिवृद्धि गर्नुका साथै आयआर्जनमा ठूलो सहयोग गरिरहेको उल्लेख गर्दै उनले विपन्न वर्गमा वित्तीय पहुँच विस्तार र लघु उद्यम प्रवर्द्धनमा लघुवित्तको योगदान महत्वपूर्ण रहेको बताए।

साना किसान विकास लघुवित्त वित्तीय संस्थाले लघुवित्त क्षेत्रमा देखिएका समस्या र चुनौतीका विषयमा केन्द्र, प्रदेश, स्थानीय तह तथा प्रारम्भिक संस्थासम्म पुगेर निरन्तर कार्यक्रम सञ्चालन गर्दै आएको छ। हाल संस्थाले देशका ७७ वटै जिल्लामा सेवा विस्तार गर्दै ग्रामीण क्षेत्रका गरिब किसानहरूलाई आयआर्जनसँग जोड्ने कार्य गर्दै आएको जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया