NIMB Header 2
Nepal Life

सिटिजन बैंकको खुद ब्याज आम्दानी २.२८ प्रतिशतले वृद्धि, जटिल आर्थिक अवस्थाले प्रोभिजनिङ बढाउनु पर्ने बाध्यता

National Life
  • BFIS News
  • 2026 Jan 28 09:40
सिटिजन बैंकको खुद ब्याज आम्दानी २.२८ प्रतिशतले वृद्धि, जटिल आर्थिक अवस्थाले प्रोभिजनिङ बढाउनु पर्ने बाध्यता
Sanima Reliance

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी बढे पनि कर्जा नोक्सानी व्यवस्थाका लागि गरिएको उच्च प्रोभिजनिङका कारण खुद नाफा उल्लेख्य रूपमा घटेको छ।

Shikhar
NIMB

बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा ३ अर्ब १४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी ३ अर्ब रुपैयाँ रहेको थियो, जसअनुसार चालु वर्षमा खुद ब्याज आम्दानी २.२८ प्रतिशतले वृद्धि भएको हो।

तर, जटिल आर्थिक अवस्थाका कारण केही कर्जामा समस्या देखिँदा बैंकले उच्च मात्रामा प्रोभिजनिङ गर्नुपरेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनामै बैंकले १ अर्ब ८३ करोड रुपैयाँ इम्पेरमेन्ट चार्ज व्यहोरेको छ। यसले बैंकको नाफामा दबाब परेको देखिन्छ।

पुस मसान्तसम्म बैंकले ३५ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.७८ प्रतिशतले कम हो। गत वर्षको सोही अवधिमा बैंकले ६६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानीमा सामान्य वृद्धि भए पनि इम्पेरमेन्ट चार्ज उल्लेख्य रूपमा बढेकाले बैंकको खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात ४.८५ प्रतिशतबाट बढेर ६.८६ प्रतिशत पुगेको छ। यससँगै इम्पेरमेन्ट चार्ज १ अर्ब ३८ करोड रुपैयाँबाट बढेर १ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। परिणामस्वरूप सञ्चालन मुनाफा ४४.६८ प्रतिशतले घटेको छ।

यस अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी ३.२४ प्रतिशतले घटेको छ भने कुल सञ्चालन आम्दानी भने ४.६८ प्रतिशतले वृद्धि भएको छ।

नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी (EPS) पनि घटेको छ। समीक्षा अवधिमा प्रतिशेयर आम्दानी ४ रुपैयाँ ३३ पैसाले घटेर ४ रुपैयाँ ६३ पैसामा सीमित भएको छ। पुस मसान्तसम्म बैंकको मूल्य आम्दानी अनुपात ४१.६८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ७९ पैसा रहेको छ। सोही अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १० करोड रुपैयाँ ऋणात्मक रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १४ रुपैयाँ १९ पैसा ऋणात्मक रहेको छ।

१५ अर्ब ५० करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ७२ करोड रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले २ खर्ब १० अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६८ अर्ब २१ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

बैंकका अनुसार खुद व्याज आम्दानी, खुद व्यापारिक आम्दानी, अन्य सञ्चालन तथा गैर–सञ्चालन आम्दानीमा केही वृद्धि भए पनि खुद शुल्क तथा कमिशन आम्दानीमा कमी, कर्मचारी खर्च, परिशोधन तथा ह्रास खर्च र कर्जा नोक्सानी व्यवस्थामा भएको अत्यधिक वृद्धिका कारण गत वर्षको सोही अवधिको तुलनामा खुद नाफा घट्न पुगेको हो।

यद्यपि बैंकले कर्जा असुलीमा क्रमशः सुधार आउने अपेक्षा गरेको छ। आगामी दिनमा कर्जा असुलीमा सुधार भएसँगै बैंकको मुनाफामा पनि उल्लेख्य सुधार आउने विश्वास बैंकले व्यक्त गरेको छ।

व्यवसाय विविधिकरण, गुणस्तरीय सेवा प्रवाह र वित्तीय पहुँच विस्तार बैंकको प्रमुख उद्देश्य रहेको छ। बैंकले दुर्गम तथा ग्रामीण क्षेत्रमा शाखा विस्तार, शाखारहित बैंकिङ, विस्तारित काउन्टर तथा डिजिटल सेवामार्फत बैंकिङ पहुँच बढाउँदै लैजाने योजना अघि सारेको छ। साथै, ग्राहकमुखी नयाँ सेवा तथा सुविधाको विकास गर्दै सेवा गुणस्तर अझ प्रभावकारी र स्तरीय बनाउने बैंकको रणनीति रहेको छ।

हाल सार्वजनिक विवरण अनुसार बैंकको मौज्दात, नाफा वा नगद प्रवाहमा तात्विक असर पार्ने खालको कुनै अवस्था नरहेको बैंकले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया