NIMB Header 2
Nepal Life

खराब कर्जा र बढ्दो जोखिमले प्रभु बैंकको नाफामा दबाब, सञ्चालन मुनाफा २२ प्रतिशत घट्दा चुनौती थपियो

National Life
  • BFIS News
  • 2026 Jan 28 10:52
खराब कर्जा र बढ्दो जोखिमले प्रभु बैंकको नाफामा दबाब, सञ्चालन मुनाफा २२ प्रतिशत घट्दा चुनौती थपियो
Sanima Reliance

काठमाडौं। प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा घटेको छ।

Shikhar
NIMB

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकले १ अर्ब १ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.०८ प्रतिशत कम हो। अघिल्लो वर्षको यही अवधिसम्म बैंकले १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी सामान्य रूपमा बढे पनि खराब कर्जा (एनपीएल) मा वृद्धि भई इम्पेरमेन्ट चार्ज बढेकाले खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.३८ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ४.५९ प्रतिशतले बढेको छ। यद्यपि, कुल सञ्चालन आम्दानी ०.४३ प्रतिशत मात्र बढ्दा सञ्चालन मुनाफा भने २२.०५ प्रतिशतले घटेको छ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा ५.०६ प्रतिशतबाट बढेर ७.९४ प्रतिशत पुगेको छ। यसका कारण इम्पेरमेन्ट चार्ज ८१ करोड ४२ लाख रुपैयाँबाट बढेर १ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ। फलस्वरूप बैंकको सञ्चालन मुनाफा र खुद नाफा दुबैमा गिरावट आएको हो।

पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३५ करोड ६४ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी २८ रुपैयाँ ५१ पैसा ऋणात्मक देखिएको छ। नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा प्रतिशेयर आम्दानी २ रुपैयाँ ७३ पैसा घटेर ८ रुपैयाँ ६२ पैसामा सीमित भएको छ। पुस मसान्तसम्म बैंकको प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ १७ पैसा रहेको छ भने मूल्य–आम्दानी अनुपात २१.२७ गुणा रहेको छ।

२३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोष पछिल्लो ६ महिनामा ४२.८६ प्रतिशतले घटेको छ। सोही अवधिमा बैंकको निक्षेप ०.४२ प्रतिशत घटेको छ भने कर्जा तथा सापटी ०.८३ प्रतिशतले बढेको छ।

बैंकले आन्तरिक तथा बाह्य विभिन्न समस्या र चुनौतीहरूको सामना गरिरहेको जनाएको छ। आन्तरिक रूपमा शाखा सञ्जाल विस्तार र व्यवसायिक प्रक्रियाको जटिलतासँगै सञ्चालन जोखिम व्यवस्थापन, गैर–ब्याज आम्दानी वृद्धि, खराब कर्जाको असुली, तथा जनशक्ति व्यवस्थापन प्रमुख चुनौतीका रूपमा रहेका छन्। बाह्यतर्फ राजनीतिक तथा सामाजिक वातावरण, बैंकिङ क्षेत्रमा बढ्दो प्रतिस्पर्धा, सूचना सुरक्षा जोखिम, परिवर्तनशील व्यवसायिक वातावरण तथा कानुनी संरचनासँग अनुकूलन, साथै राजनीतिक अस्थिरता र दङ्गा–फसादका कारण शाखा, एटीएम सञ्जाल र ग्राहक विश्वासमा पर्ने असरलाई चुनौतीका रूपमा बैंकले औंल्याएको छ।

यी चुनौती न्यूनीकरणका लागि बैंकले आन्तरिक र बाह्य वातावरणको परिवर्तनलाई ध्यानमा राख्दै सावधानीपूर्वक व्यवसाय विस्तार गर्ने, कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम प्रदान गर्ने, ग्राहकको रुचिअनुसार नयाँ उत्पादन तथा सेवा ल्याउने, वैकल्पिक वितरण च्यानलमार्फत गैर–ब्याज आम्दानी बढाउने रणनीति लिएको जनाएको छ। साथै सञ्चालन, बजार र कर्जा जोखिममा प्रभावकारी जोखिम व्यवस्थापन, निगरानी र नियन्त्रणलाई प्राथमिकता दिइएको छ।

डिजिटलाइजेसनमा थप सुधार गर्दै सेवा उत्कृष्टता बढाउने, समय समयमा हुने बाह्य परिवर्तनको विस्तृत विश्लेषण गरी रणनीतिक कार्ययोजना तयार गर्ने, सुरक्षित बैंकिङ अभ्यासलाई निरन्तरता दिँदै ब्याज तथा खराब कर्जा असुलीमा विशेष ध्यान दिने बैंकको रणनीति रहेको छ। राजनीतिक अशान्ति वा दङ्गाका समयमा पनि निर्बाध सेवा प्रवाह सुनिश्चित गर्न व्यवसाय निरन्तरता र संकट व्यवस्थापन योजनालाई थप सुदृढ बनाउनेतर्फ बैंक केन्द्रित रहेको जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया