नेपाली सीईओको नेतृत्वमा एभरेष्ट बैंकले कायम राख्यो वित्तीय मजबुती, ३१ प्रतिशत लाभांश क्षमता
- BFIS News
- 2026 Jan 28 11:05
काठमाडौं। जटिल आर्थिक परिस्थितिमा अधिकांश बैंक तथा वित्तीय संस्थाको वित्तीय अवस्था दबाबमा परिरहेका बेला एभरेष्ट बैंक लिमिटेड भने आफ्नो वित्तीय सुदृढता कायम राख्न सफल देखिएको छ। पञ्जाव नेशनल बैंकको प्रमुख लगानी रहेको यस बैंकले प्राविधिक तथा व्यवस्थापकीय दृष्टिले आफूलाई सशक्त बनाइराखेको छ। नेपाली सीईओ सुदेश खालिङको व्यावसायिक बैंकिङ नेतृत्वले बैंकलाई तुलनात्मक रूपमा थप उचाइमा पुर्याएको विश्लेषण गरिएको छ।
राजनीतिक परिवर्तनसँगै अर्थतन्त्रमा देखिएको जटिलताको प्रत्यक्ष प्रभाव हाल बैंकिङ उद्योगले भोगिरहेको छ। यस्तै चुनौतीपूर्ण अवस्थामा एभरेष्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो। विवरणअनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य रूपमा वृद्धि भएको छ।
बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म २ अर्ब ११ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २.०४ प्रतिशतले बढी हो। गत वर्ष सोही अवधिमा बैंकले २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानीमा सामान्य वृद्धि भएसँगै बैंकको नाफा पनि बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.९६ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिशन आम्दानीमा २०.३८ प्रतिशतको उल्लेखनीय वृद्धि देखिएको छ। यसैगरी बैंकको कुल सञ्चालन आम्दानी ९.७३ प्रतिशतले बढेको छ। यद्यपि, इम्पेरमेन्ट चार्ज भने ३४ करोड ९५ लाख रुपैयाँबाट बढेर ५६ करोड २७ लाख रुपैयाँ पुगेको छ, जसका बाबजुद बैंकको सञ्चालन मुनाफा २.०६ प्रतिशतले वृद्धि भएको छ।
नाफा बढे पनि बैंकको प्रतिशेयर आम्दानी (EPS) भने घटेको छ। समीक्षा अवधिमा प्रतिशेयर आम्दानी १ रुपैयाँ २० पैसाले घटेर ३० रुपैयाँ ८६ पैसामा सीमित भएको छ। पुस मसान्तसम्म बैंकको प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ १५ पैसा रहेको छ भने मूल्य–आम्दानी अनुपात (P/E Ratio) २१.३९ गुणा रहेको छ। सोही अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३४ करोड २८ लाख रुपैयाँ पुगेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ४८ रुपैयाँ ७२ पैसा रहेको छ।
१३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको एभरेष्ट बैंकको जगेडा कोषमा १८ अर्ब ५२ करोड रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्म बैंकले ३ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।
व्यवस्थापन विश्लेषण
व्यवस्थापनका अनुसार नेपाल तथा विश्व अर्थतन्त्र हाल महामारीपछिको पुनरुत्थान, मुद्रास्फीतिको दबाब, भू–राजनीतिक तनाव, जलवायु जोखिम तथा तीव्र प्रविधिगत परिवर्तनको प्रभावमा रहेको छ। सूक्ष्म तहमा घरपरिवार र व्यवसायहरूको निर्णयमा व्यापक आर्थिक अस्थिरताले असर पारिरहेको छ भने उत्पादन, उपभोग र श्रम बजारजस्ता सूचकहरूमा यसको प्रत्यक्ष प्रभाव देखिएको छ।
विश्व अर्थतन्त्र हाल मध्यम तर असमान वृद्धिको चरणमा रहेको छ। विकसित अर्थतन्त्रहरू मुद्रास्फीति नियन्त्रणका लागि कडा मौद्रिक नीतिका कारण सुस्त गतिमा बढिरहेका छन् भने विकासोन्मुख देशहरू ऋणको बोझ, मुद्रा अस्थिरता तथा बाह्य झट्कासँग जुधिरहेका छन्। उच्च ब्याजदर, भू–राजनीतिक तनावका कारण सुस्ताएको अन्तर्राष्ट्रिय व्यापार, बढ्दो सार्वजनिक ऋण तथा ऊर्जा र खाद्य मूल्यको अस्थिरता हालका प्रमुख वैश्विक चुनौतीहरूका रूपमा रहेका छन्।
यस्ता प्रतिकूल अवस्थाका बाबजुद एभरेष्ट बैंकले सन्तुलित जोखिम व्यवस्थापन, विविध आम्दानी स्रोत र सुदृढ व्यवस्थापनका माध्यमबाट आफ्नो वित्तीय अवस्था स्थिर राख्न सफल भएको देखिन्छ।

![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)












.jpeg)




प्रतिक्रिया