Nepal Life

इम्पेरमेन्ट चार्ज बढ्दा एनएमबि बैंकको मुनाफामा दवाव, सञ्चालन आम्दानीमा १५ प्रतिशत सुधार

NMB Bank
  • BFIS News
  • 2026 Jan 29 08:11
इम्पेरमेन्ट चार्ज बढ्दा एनएमबि बैंकको मुनाफामा दवाव, सञ्चालन आम्दानीमा १५ प्रतिशत सुधार
National Life

काठमाडौं। एनएमबि बैंक लिमिटेड (NMB) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा घटेको छ।

Shikhar
NIMB

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकले १ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.७१ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको यही अवधिमा बैंकले २ अर्ब ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी तथा फि–कमिशन आम्दानीमा सुधार आए पनि इम्पेरमेन्ट चार्जमा उल्लेख्य वृद्धि भएका कारण बैंकको खुद नाफा दबाबमा परेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १२.१८ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २१.१७ प्रतिशतले वृद्धि भएको छ। यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी १५.२१ प्रतिशतले बढेको छ।

यद्यपि, सञ्चालन आम्दानी बढे पनि सञ्चालन मुनाफा भने १५.२९ प्रतिशतले घटेको छ। बैंकको इम्पेरमेन्ट चार्ज बढेर १ अर्ब ५५ करोड २२ लाख रुपैयाँ पुगेसँगै सञ्चालन मुनाफा र खुद नाफा दुवैमा गिरावट आएको हो। समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ५६ करोड ४३ लाख रुपैयाँ रहेको छ।

नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी (EPS) पनि घटेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ६८ पैसाले घटेर १७ रुपैयाँ १० पैसामा सीमित भएको छ। पुस मसान्तसम्म बैंकको प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ ७५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात (P/E Ratio) १३.९८ गुणा रहेको छ।

हाल १९ अर्ब २८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको एनएमबि बैंकको जगेडा कोषमा १३ अर्ब ३७ करोड रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्म बैंकले २ खर्ब ९१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया