सूर्यकुण्ड हाइड्रोको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला, ५ लाख ७२ हजार कित्ता जारी
- BFIS News
- 2026 Feb 01 10:49
काठमाडौं। सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आज (माघ १८ गते)देखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन तथा बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी पूँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत बराबरको १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ मूल्यको १३ लाख ७९ हजार ३५० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ६ लाख ८९ हजार ६७५ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र ६८ हजार ९६७ कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरी बाँडफाँट सम्पन्न भइसकेको छ।
अब कम्पनीले दोस्रो चरणमा कर्मचारीहरूका लागि १३ हजार ७९३ कित्ता र सामूहिक लगानी कोषहरूका लागि ३४ हजार ४८४ कित्ता शेयर सुरक्षित गरी बाँकी रहेको ५ करोड ७२ लाख ४३ हजार १०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५ लाख ७२ हजार ४३१ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन छिटोमा माघ २१ गते बन्द हुनेछ भने सो अवधिमा पूर्ण आवेदन नपरेमा ढिलोमा फागुन ३ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ।
आईपीओ निष्काशनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस (CARE-NP BB-) इस्यूअर रेटिङ प्रदान गरेको छ। यस रेटिङले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरेको ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ८४ लाख ४० हजार रुपैयाँ रहेको छ। आयोजनाको प्रतिमेगावाट लागत २१ करोड ५३ लाख १२ हजार ७२७ रुपैयाँ २७ पैसा रहेको छ। सो आयोजनाको विद्युत उत्पादन अनुमतिपत्रको अवधि २६ वर्ष बाँकी रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.७१ वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १६ वर्ष रहेको कम्पनीले जनाएको छ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयमार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालनमा ल्याइएको ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सकिनेछ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया