सुनसरीमा २८ हजार रुपैयाँका नक्कली नोटसहित युवक पक्राउ
- BFIS News
- 2026 Feb 05 13:34
सुनसरी। सुनसरी जिल्लाको हरिनगरा गाउँपालिकाबाट प्रहरीले २८ हजार रुपैयाँ बराबरका नक्कली नेपाली नोटसहित एक युवकलाई पक्राउ गरेको छ।
किराना पसलमा नक्कली नोट प्रयोग भएको सूचनापछि खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्ने व्यक्ति इनरुवा नगरपालिका–१० का २५ वर्षीय बहिस मियाँ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। बिहीबार राति करिब ८ बजेतिर हरिनगरा गाउँपालिका–१ स्थित एक किराना पसलमा सामान खरिदका क्रममा नक्कली नोट प्रयोग गरिएको जानकारी प्रहरीलाई प्राप्त भएको थियो।
सूचना पाएलगत्तै प्रहरी चौकी रामनगर भुटाहाबाट पुगेको टोलीले शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिई जाँच गर्दा उनको साथबाट १ हजार दरका २८ थान नक्कली नोट बरामद गरेको जनाएको छ। बरामद सबै नोट जाली भएको प्रारम्भिक परीक्षणबाट देखिएको प्रहरीले उल्लेख गरेको छ।
पक्राउ परेका मियाँलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ। उनीमाथि मुद्रा सम्बन्धी कसुर (खोटा चलन) अन्तर्गत मुद्दा प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ। साथै, यस घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा पनि अनुसन्धान जारी रहेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)
















प्रतिक्रिया