NIMB Header 2
Nepal Life

राप्तीमा थप २० घडियाल छाडियो

National Life
  • BFIS News
  • 2026 Feb 11 18:49
राप्तीमा थप २० घडियाल छाडियो
Sanima Reliance

नारायणगढ (चितवन), माघ २८ गते । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत रहेको घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका घडियाल जनकौली सामुदायिक वन क्षेत्रस्थित राप्ती नदी प्रणालीमा छाडिएका छन् ।

Shikhar
NIMB

निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार मङ्गलबार २० वटा घडियाल नदीमा छाडिएको हो । तीमध्ये तीन भाले र बाँकी पोथी रहेका छन् । यससँगै चालु वर्ष प्रजनन केन्द्रमा हुर्काइएका कूल १६५ घडियाल राप्ती नदी प्रणालीमा छाडिएको छ । हालसम्म केन्द्रबाट दुई हजार २४० घडियाल विभिन्न नदीमा छाडिएकामा राप्ती नदीमा मात्रै एक हजार ४८५ घडियाल छाडिएको उहाँले जानकारी दिनुभयो ।

निकुञ्ज भएर बग्ने राप्ती नदी घडियालको प्राकृतिक बासस्थानका लागि उपयुक्त मानिन्छ । नारायणी तथा राप्ती नदी किनारबाट सङ्कलन गरिएका अण्डा र केन्द्रमै रहेका गोहीबाट जन्मिएका बच्चालाई केन्द्रमा हुर्काएर प्राकृतिक बासस्थानमा छाड्ने गरिन्छ । हाल प्रजनन केन्द्रमा करिब ६०० घडियाल रहेका छन् ।

नदी किनारबाट सङ्कलित अण्डालाई केन्द्रको कृत्रिम ह्याचरीमा राखी बच्चा उत्पादन गरिन्छ । विभिन्न उमेर समूहका बच्चा घडियाललाई छुट्टाछुट्टै पोखरीमा राखेर हुर्काइन्छ । प्राकृतिक वातावरण अनुकूल भएकाले राप्ती नदीमा बढी घडियाल छाडिँदै आएको छ । गत मङ्सिरमा गरिएको गणना तथा अनुगमनका क्रममा राप्ती र नारायणी नदीमा जम्मा ३६६ घडियाल भेटिएका थिए, तीमध्ये नौ भाले रहेका छन् ।

घडियाल तुलनात्मक रूपमा शान्त स्वभावको हुन्छ र नदी तथा किनार क्षेत्रभन्दा धेरै टाढा जाँदैन । संरक्षणका उद्देश्यले सन् १९७८ देखि निकुञ्जको कसरामा घडियाल गोही प्रजनन केन्द्र सञ्चालनमा छ । केन्द्रमा हुर्काइएका घडियाललाई हरेक वर्ष पाँच वर्षसम्म संरक्षणमा राखी आफैँ आहार खोज्न सक्ने अवस्थामा पुगेपछि प्राकृतिक बासस्थानमा छाड्ने गरिन्छ ।

प्राकृतिक बासस्थानबाट सङ्कलन गरिएका अण्डाबाट ह्याचिङ गरी हुर्काइएका तीनदेखि पाँच वर्ष उमेर समूहका करिब एक दशमलव पाँच मिटर लम्बाइ पुगेका घडियाल नदीमा छाड्न योग्य हुने सूचना अधिकारी थापाले बताउनुभयो ।

केन्द्रबाट छाडिएका घडियालमध्ये थोरै मात्र जीवित रहने गरेका छन् । केही हराउने, केही बाढीले बगाएर भारततर्फ पुग्ने तथा केही विभिन्न कारणले मर्ने गरेका छन् । विशेषगरी नदीमा माछा मार्न प्रयोग हुने जालमा अल्झिएर घडियाल मर्ने समस्या बढ्दो छ । निकुञ्ज र संरक्षणकर्मीले बर्सेनि जालमा फसेका घडियालको उद्धार गर्दै आएका छन् । – रासस

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया