सिटिजन्स बैंक र नेपाल क्लियरिङ विच नेपालपे कार्ड भुक्तानी सक्षम बनाउन सम्झौता
- BFIS News
- 2026 Feb 11 20:22
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच इएफटी कार्ड स्वीच तथा सेवा मार्फत नेपालपे कार्डको भुक्तानी प्रणाली सक्षम बनाउने सम्बन्धमा सम्झौता भएको छ। औपचारिक कार्यक्रममा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौतासँगै सिटिजन्स बैंक नेपालपे कार्डको अक्वाइरिंग र इस्यूइंग दुवैका लागि इएफटी कार्ड स्वीचमा औपचारिक रूपमा आबद्ध हुने पहिलो इएफटी सदस्य बैंक बनेको छ। एनसीएचएलको इएफटी स्वीच नेशनल कार्ड स्वीच (NPS–NCS) सँग एकीकृत भइसकेको छ।
सम्झौतापछि बैंकले आफ्ना ग्राहकका लागि नेपालपे कार्ड जारी गर्न र सो कार्डमार्फत कारोबार स्वीकार गर्न सक्नेछ। पहिलो चरणमा बैंकले आफ्ना १६८ वटा एटीएम र ४९१ वटा पीओएस टर्मिनलबाट नेपालपे कार्डको अक्वाइरिंग सेवा सुरु गर्ने जनाएको छ। त्यसपछि चरणबद्ध रूपमा ग्राहकलाई कार्ड वितरण पनि गरिने योजना छ।
एनसीएचएलले नेपालपे कार्डको व्यावसायिक रोलआउट सुरु गरिसकेको छ। अन्तर्राष्ट्रिय नेटवर्क ‘डिस्कभर’सँगको सहकार्यमा नेपालपे कार्ड विदेशमा समेत प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। नेशनल पेमेन्ट स्वीच अन्तर्गत सञ्चालनमा आएको नेपालपे प्रणालीमार्फत बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र प्रणाली सञ्चालकले जारी गरेका कार्डहरू नेपाल तथा विदेशका एटीएम र पीओएस टर्मिनलमा प्रयोग गर्न सकिनेछ। साथै डिस्कभर नेटवर्कका अन्तर्राष्ट्रिय कार्डहरू पनि नेपालभित्र स्वीकार गरिनेछ।
हाल एनसीएचएलको इएफटी सेवामार्फत १० वटा सदस्य बैंक तथा वित्तीय संस्थाले विभिन्न अन्तर्राष्ट्रिय कार्ड स्किमहरूको कारोबार प्रशोधन गर्दै आएका छन्। इएफटी र नेशनल पेमेन्ट स्वीचबीचको एकीकरणपछि नेपालपे कार्ड पनि सो प्रणालीबाट प्रशोधन गर्न सकिने भएको हो। अन्य सदस्य बैंक तथा वित्तीय संस्थाले समेत नेपालपे कार्ड जारी तथा स्वीकार गर्ने तयारी गरिरहेका छन्। हालसम्म ३४ भन्दा बढी बैंक तथा वित्तीय संस्था नेपालपे नेटवर्कमा आबद्ध भइसकेका छन्।
सिटिजन्स बैंक इन्टरनेसनलले देशभर १९७ शाखा, ३ विस्तारित काउन्टर, ७४ शाखारहित बैंकिङ सेवा र १६२ एटीएम सञ्चालन गर्दै आएको छ। बैंकका १८ लाखभन्दा बढी ग्राहक र ४ लाखभन्दा बढी कार्डहोल्डर रहेका छन्। बैंकले पछिल्लो समय डिजिटल सेवाको विस्तार र आन्तरिक प्रणाली सुदृढीकरणमा जोड दिँदै आएको जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)








.jpg)
.jpg)






प्रतिक्रिया