कालिन्चोक हाइड्रोपावरको आईपीओ फागुन १३ देखि खुल्ने, स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई प्राथमिकता
- BFIS News
- 2026 Feb 13 11:32
काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेड ले फागुन १३ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत बराबरको सेयर सार्वजनिक बिक्रीमा ल्याउन लागेको हो।
कम्पनीले १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको छ। यसमध्ये ५ करोड ५० लाख रुपैयाँ बराबरको ५ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। दोलखा जिल्ला अन्तर्गत बिगु नगरपालिका वडा नं. ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. १ र २ का बासिन्दाले उक्त सेयरमा आवेदन दिन सक्नेछन्।
त्यसैगरी सर्वसाधारण समूहअन्तर्गत छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात ८२ लाख ५० हजार रुपैयाँ बराबरको ८२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको कम्पनीले जनाएको छ। श्रम स्वीकृति प्राप्त गरी विदेशमा कार्यरत नेपालीहरूले उक्त कोटामा आवेदन दिन पाउनेछन्।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। स्थानीय बासिन्दाका लागि सेयर बिक्री छिटोमा फागुन २७ गते बन्द हुनेछ भने माग नपुगेमा चैत १३ गतेसम्म खुला रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने छिटोमा फागुन १७ गते र ढिलोमा फागुन २७ गते निष्काशन बन्द हुने तालिका छ।
आईपीओ निष्काशनका लागि गरिएको क्रेडिट रेटिङमा केयर रेटिङ्ग नेपाल ले कम्पनीलाई ‘केयरएनपी डबल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा औसत स्तरको जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरेको ५ मेगावाट क्षमताको साँगु (सोरुन) खोला जलविद्युत आयोजनाको कुल लागत १ अर्ब २० करोड रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत २४ करोड १४ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २९ वर्ष ५ महिना बाँकी छ। परियोजनाको साधारण लगानी फिर्ता अवधि ९.१९ वर्ष तथा डिस्काउन्टेड आधारमा १५.३६ वर्ष रहेको उल्लेख छ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड ले पाएको छ। स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका अतिरिक्त कम्पनीको कार्यालय, बिगु गाउँपालिका–८, नेपाल बैंक, सिन्धु विकास बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको सिङगटी शाखाबाट आवेदन दिन सक्नेछन्। आवेदन फाराम प्राप्त गर्न २ रुपैयाँ शुल्क तोकिएको छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड को ‘मेरो शेयर’ सफ्टवेयर प्रयोग गरी अनलाइन आवेदन पनि गर्न सकिने व्यवस्था गरिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)
















प्रतिक्रिया