रिलायन्स स्पिनिङ्ग मिल्स र सालपा विकास बैंकको शेयर नेप्सेमा सूचिकृत, सोमबारदेखि कारोबार हुने
- BFIS News
- 2026 Feb 13 18:50
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा दुई कम्पनीको साधारण शेयर एकैसाथ सूचीकृत भएको छ। नेप्सेले मिति २०८२ फागुन १ गते रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेड (RSML) र सालपा विकास बैंक लिमिटेड (SABBL) को साधारण शेयर सूचीकरण गरेको जनाएको छ। नेप्सेका अनुसार दुवै कम्पनीको शेयर आगामी २०८२ फागुन ४ गतेदेखि दोस्रो बजारमा कारोबारका लागि खुला गरिनेछ।
रिलायन्स स्पिनिङ्ग मिल्सको १ करोड ९० लाख कित्ता शेयर सूचीकृत
रिलायन्स स्पिनिङ्ग मिल्सको १०० रुपैयाँ अंकित मूल्यका कुल १ करोड ९० लाख कित्ता साधारण शेयर सूचीकृत भएको छ। यसमध्ये संस्थापक शेयरधनीको ८९.८६ प्रतिशत अर्थात् १ करोड ७० लाख ७३ हजार ४ सय कित्ता र सर्वसाधारण लगानीकर्ताको १०.१४ प्रतिशत अर्थात् १९ लाख २६ हजार ६ सय कित्ता शेयर रहेको छ।
काठमाडौँको कमलादीमा प्रधान कार्यालय रहेको कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको थियो।
सालपा विकास बैंकको ५२ लाख बढी कित्ता शेयर सूचीकृत
त्यसैगरी, सालपा विकास बैंकको १०० रुपैयाँ अंकित मूल्य कायम भएको कुल ५२ लाख २३ हजार ८८० कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत भएको छ। सूचीकरण सम्झौताअनुसार बैंकमा संस्थापक सेयरधनीको ६७ प्रतिशत अर्थात् ३५ लाख कित्ता र सर्वसाधारण लगानीकर्ताको ३३ प्रतिशत अर्थात् १७ लाख २३ हजार ८८० कित्ता शेयर स्वामित्व रहेको छ।
खोटाङको दिक्तेलमा प्रधान कार्यालय रहेको बैंकको शेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको थियो।
ओपनिङ रेन्जमा परिमार्जन, फेस भ्यालुको तीन गुणा मात्रै
नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम माघ २९ गते नै दुवै कम्पनीको शेयर सूचीकरण गर्ने निर्णय गरेको जनाएको छ। यससँगै नेप्सेले ओपनिङ रेन्ज निर्धारणसम्बन्धी व्यवस्था पनि परिमार्जन गरेको छ।
यसअघि कम्पनीको नेटवर्थको तीन गुणासम्म ओपनिङ रेन्ज दिने प्रावधान रहेकोमा अबदेखि फेस भ्यालुको तीन गुणा मात्रै ओपनिङ रेन्ज तोकिएको छ। नेप्सेका अनुसार कम्पनीको नेटवर्थ सकारात्मक भए फेस भ्यालुको तीन गुणा र नेटवर्थ नकारात्मक भए जति नेटवर्थ छ त्यसको तीन गुणा ओपनिङ रेन्ज निर्धारण गरिनेछ।
उदाहरणका लागि, यदि कम्पनीको नेटवर्थ १२० रुपैयाँ भए फेस भ्यालु १०० रुपैयाँका आधारमा अधिकतम ३०० रुपैयाँसम्म ओपनिङ रेन्ज निर्धारण हुनेछ। तर नेटवर्थ ९० रुपैयाँ मात्र भए त्यसको तीन गुणा अर्थात् २७० रुपैयाँसम्म मात्रै रेन्ज तोकिनेछ।
परिमार्जित ओपनिङ रेन्जका कारण रिलायन्स स्पिनिङ्ग मिल्सका शेयरधनीले पहिलो कारोबारमा घाटामा शेयर बिक्री गर्नुपर्ने अवस्था आउन सक्ने देखिएको छ। सालपा विकास बैंकको हकमा भने यस्तो अवस्था नपर्ने बताइएको छ। अब लगानीकर्ताहरूले आगामी फागुन ४ गते सोमबारदेखि यी दुवै कम्पनीको शेयर दोस्रो बजारमा खरिद–बिक्री गर्न सक्नेछन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)
















प्रतिक्रिया