कर्जा नबढेको भाष्य बनाइँदै गर्दा ६ महिनामा १ खर्ब ९९ अर्ब कर्जा प्रवाह, निक्षेपको बाढीले बैंकहरु आत्तीए
- BFIS News
- 2026 Feb 13 20:46
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले कर्जा प्रवाह नभएको धारणा सार्वजनिक रूपमा प्रस्तुत गरिरहे पनि तथ्यांकले भने कर्जा विस्तार निरन्तर भइरहेको देखाएको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकहरूले २.०४ प्रतिशतले कर्जा प्रवाह बढाउँदै कुल १ खर्ब ९९ अर्ब रुपैयाँ बराबर कर्जा बजारमा प्रवाह गरेका छन्। विगतका वर्षमा पनि कर्जा प्रवाह यहि गतिमा हुन्थ्यो।
यही अवधिमा निक्षेप संकलन भने अझ तीव्र गतिमा बढेको छ। बैंकिङ प्रणालीमा ५.७६ प्रतिशतले वृद्धि भई ४ खर्ब २० अर्ब रुपैयाँ निक्षेप थपिएको छ। कर्जाको तुलनामा निक्षेप वृद्धिदर उच्च देखिएपछि बैंकहरू कर्जा विस्तार सुस्त भएको तर्क गर्दै आएका छन्, तर कर्जा प्रवाह नै नभएको दाबी भने तथ्यसँग नमिल्ने विश्लेषण गरिएको छ।
बैंकिङ क्षेत्रका जानकारहरूका अनुसार करिब २ खर्ब रुपैयाँ बराबरको कर्जा प्रवाहलाई नकारात्मक रूपमा लिन नमिल्ने बताइन्छ। आर्थिक गतिविधि अपेक्षाकृत सुस्त भए पनि कर्जा विस्तार पूर्ण रूपमा रोकिएको अवस्था नरहेको उनीहरूको भनाइ छ।
नेपाल राष्ट्र बैंक का अनुसार हाल बैंकहरूको सीडी रेसियो ७४.३४ प्रतिशतमा झरेको छ। विगतमा सीडी रेसियो ८५–९० प्रतिशत पुग्दा तरलता अभाव भन्दै बैंकहरूबीच निक्षेप तानातान हुने अवस्था थियो। अहिले भने सीडी रेसियो ७४ देखि ७८ प्रतिशतको बीचमा रहँदा समेत कतिपय बैंकहरू निक्षेप लिन अनिच्छुक देखिएका छन्।
रेमिट्यान्स आप्रवाहले पनि बैंकिङ प्रणालीमा तरलता बढाउन महत्वपूर्ण भूमिका खेलेको छ। चालु आवको ६ महिनामा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूबाट १ खर्ब ९२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३९.१ प्रतिशतले बढी हो। यस्तो रकमको ठूलो हिस्सा बैंकिङ प्रणालीमै रहने गरेको छ।
क्षेत्रगत रूपमा हेर्दा कर्जा विस्तार उपभोग्य क्षेत्रमा ९.५ प्रतिशतले बढेको छ भने निर्माण क्षेत्रमा ७.५ प्रतिशत वृद्धि भएको छ। यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रमा ६.६ प्रतिशत, औद्योगिक उत्पादनमा ४.५ प्रतिशत, वित्त–बीमा तथा अचल सम्पत्ति क्षेत्रमा १.४ प्रतिशत र सेवा उद्योग क्षेत्रमा १.३ प्रतिशतले कर्जा बढेको छ। कृषि क्षेत्रमा भने १.२ प्रतिशतले कर्जा घटेको देखिएको छ।
कर्जाका प्रकृतिअनुसार मार्जिन कर्जा ८.६ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा ७.८ प्रतिशत, हायर पर्चेज कर्जा ७.१ प्रतिशतले बढेको छ। क्यास क्रेडिट, चालु पुँजी, रियल स्टेट तथा आवधिक कर्जा पनि मध्यम दरमा विस्तार भएका छन्। अधिविकर्ष कर्जा भने २.९ प्रतिशतले घटेको छ।
तरलता व्यवस्थापनतर्फ केन्द्रीय बैंकले समीक्षा अवधिमा विभिन्न उपकरणमार्फत २८ खर्ब ७१२ अर्ब रुपैयाँभन्दा बढी तरलता प्रशोचन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा दोब्बरभन्दा बढी हो। विदेशी विनिमय बजारबाट अमेरिकी डलर खरिदमार्फत मात्र ४९३ अर्ब रुपैयाँ बराबर तरलता प्रणालीमा प्रवाह गरिएको छ।
समग्र तथ्यांकले बैंकिङ प्रणालीमा निक्षेप थुप्रिने र कर्जा विस्तार जारी रहने अवस्था देखाउँदा पनि कर्जा ठप्प भएको भाष्यलाई तथ्यले समर्थन नगर्ने संकेत गरेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)
















प्रतिक्रिया