भरतपुर विमानस्थलमा हवाई इन्धन ‘रिफिलिङ’ सेवा सञ्चालनमा
- BFIS News
- 2026 Feb 19 09:16
काठमाडौं। चितवनस्थित भरतपुर विमानस्थलमा हवाई इन्धन आपूर्ति सेवा सुरु गरिएको छ।
बढ्दो उडान चापलाई मध्यनजर गर्दै नेपाल आयल निगम लिमिटेडले बुधबारदेखि रिफिलिङ सेवा सञ्चालनमा ल्याएको हो।
निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार भरतपुरबाट हुने हवाई यात्रुको संख्या बढेसँगै इन्धन भर्ने सुविधा आवश्यक देखिएको थियो। यात्रु तथा वायुसेवा कम्पनीलाई इन्धन अभावका कारण असुविधा नहोस् भन्ने उद्देश्यले सेवा सुरु गरिएको उनले जानकारी दिए। हाल विमानस्थलबाट दैनिक आठ वटा उडान सञ्चालन भइरहेका छन्।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरले भरतपुरमा दुई वटा रिफिलिङ काउन्टर स्थापना गरिएको र ती काउन्टरबाट दैनिक २२ हजार लिटर हवाई इन्धन उपलब्ध गराउन सकिने व्यवस्था गरिएको बताए। प्रारम्भिक चरणमा सिनामंगलस्थित कार्यालयका छ जना कर्मचारीमार्फत सेवा सञ्चालन भइरहेको छ।
भरतपुरबाट हाल दैनिक भरतपुर–काठमाडौँ–भरतपुर उडान तथा आंशिक रूपमा भरतपुर–पोखरा–भरतपुर उडान सञ्चालन हुँदै आएको छ। बुद्ध एयरका स्टेसन म्यानेजर भक्तबहादुर बस्नेतले रिफिलिङ काउन्टर सञ्चालनपछि विमानलाई इन्धन बोकेर आउनुपर्ने अवस्था हटेको र थप यात्रु बोक्ने क्षमता बढेको बताए।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)














प्रतिक्रिया