Nepal Life

निर्वाचन प्रचारमा एआई दुरुपयोग : सामाजिक सञ्जालमा ‘कृत्रिम भिड’को होड

NMB Bank
  • BFIS News
  • 2026 Feb 19 11:13
निर्वाचन प्रचारमा एआई दुरुपयोग : सामाजिक सञ्जालमा ‘कृत्रिम भिड’को होड
National Life

काठमाडौँ, फागुन ७ गते। प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारका भेटघाट, सभा र कार्यक्रममा देखाइने भिडका तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा प्रसारित भइरहेका छन्। तर यस्ता सामग्रीमध्ये कतिपयमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरी कृत्रिम भिड सिर्जना गरिएको पाइएको छ।

Shikhar
NIMB

सञ्जालमा चर्चितदेखि नयाँ उम्मेदवारसम्मका तस्बिर र भिडियोमा सयौँ व्यक्तिको उपस्थिति देखाइने प्रवृत्ति तीव्र बन्दै गएको छ। झट्ट हेर्दा वास्तविकजस्तै देखिने यस्ता सामग्रीले मतदातालाई भ्रमित पार्ने जोखिम बढाएको छ। उम्मेदवार र आसपासका केही व्यक्ति वास्तविक भए पनि देखाइने भिड भने एआईमार्फत सिर्जना गरिएको हुने गरेको पाइएको छ।

भिड देखाउने प्रतिस्पर्धामा पुराना र नयाँ दुवै राजनीतिक दल सक्रिय छन्। उम्मेदवार स्वयम्भन्दा समर्थकहरू एआई प्रयोग गरी प्रचार सामग्री निर्माणमा अग्रसर देखिन्छन्। सरोकारवालाले यस्तो अभ्यास निर्वाचन आचारसंहिताविपरीत हुन सक्ने र यसले निर्वाचनको समग्र वातावरणमै असर पार्न सक्ने बताएका छन्।

निर्वाचन मामिलाका जानकार रमेश अधिकारीका अनुसार समाजमा ‘नेता वरिपरि भिड देखिनु प्रतिष्ठाको सूचक’ भन्ने धारणा बलियो रहेकाले कृत्रिम भिड देखाउने प्रवृत्ति बढेको हो। विगतमा परम्परागत दलले यस्तो अभ्यासलाई प्राथमिकता दिए पनि अहिले नयाँ राजनीतिक दलले समेत सोही शैलीलाई अझ व्यापक बनाइरहेको उहाँको भनाइ छ।

काठमाडौँ विश्वविद्यालयअन्तर्गतको कृत्रिम बुद्धिमत्ता विभागका उपप्राध्यापक डा. मनोज शाक्यका अनुसार नेपालमा एआईको सकारात्मक प्रयोगभन्दा ‘डिपफेक’सँग जोडेर बुझ्ने प्रवृत्ति बढी छ। डिपफेकमार्फत आफूलाई फाइदा पुग्ने गरी तस्बिर तथा भिडियो निर्माण गरी प्रचार गर्ने शैली देखिन थालेको उहाँले बताउनुभयो। “कुनै पनि हिसाबले डिपफेक प्रयोग गलत हो,” उहाँले भन्नुभयो। नेपालमा एआईसम्बन्धी स्पष्ट कानुनी व्यवस्था नहुँदा दुरुपयोगका घटनामा कारबाही प्रक्रिया जटिल हुने उहाँको भनाइ छ।

अधिवक्ता बाबुराम अर्यालले समर्थक वा अन्य व्यक्तिले पोस्ट गरे पनि उम्मेदवार नै अन्ततः जिम्मेवार हुनुपर्ने बताउनुभयो। यस्ता सामग्रीले भ्रम फैलाएर निर्वाचनलाई प्रभावित पार्न सक्ने भएकाले निर्वाचन आयोगको आचारसंहिताविपरीत हुने उहाँको धारणा छ।

निर्वाचन आयोगको आचारसंहितामा एआई प्रयोग गरी वा नगरी निर्वाचन प्रभावित गर्ने उद्देश्यले भ्रामक सूचना, दुष्प्रचार, अपमान वा द्वेषपूर्ण सामग्री प्रसारण गर्न नपाइने स्पष्ट उल्लेख छ। कुनै सूचना वा सामग्री तोडमरोड गरी सामाजिक सञ्जालमा पोस्ट, सेयर, रिपोस्ट, कमेन्ट वा लाइभ स्ट्रिमिङमार्फत प्रचार–प्रसार गर्न नहुने व्यवस्था गरिएको छ।

सामाजिक सञ्जालको बढ्दो प्रभावसँगै एआई प्रविधिको दुरुपयोग निर्वाचनका लागि नयाँ चुनौतीका रूपमा देखा परेको छ। सरोकारवालाले मतदातालाई सचेत रहन र उम्मेदवारलाई जिम्मेवार प्रचार अभ्यास अपनाउन आग्रह गरेका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया