प्रतिनिधिसभा निर्वाचनका लागि बाँके–भारत सीमा ७२ घण्टाका लागि बन्द
- BFIS News
- 2026 Mar 03 11:47
नेपालगन्ज, फागुन १९ गते । फागुन २१ (बिहीबार) हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बाँके जिल्लासँग जोडिएको करिब ६५ किलोमिटर लामो नेपाल–भारत सीमा ७२ घण्टाका लागि पूर्णरूपमा बन्द गरिएको छ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले जमुनाहा नाका लगायत जिल्लाका सबै सहायक नाकाहरू सोमबार राति १२ बजेदेखि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार सीमा बन्द गर्ने निर्णय हालै सम्पन्न नेपाल–भारत सीमावर्ती सुरक्षा अधिकारीहरूको बैठकको सहमतिपछि गरिएको हो। उनका अनुसार निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै भारतीय प्रशासनले पनि आफ्नो भूभागतर्फबाट सीमा पूर्णरूपमा बन्द गरेको छ।
तोकिएको अवधिभर एम्बुलेन्स वा अन्य अत्यावश्यक सवारीसाधन बाहेक अन्य व्यक्ति र सवारीलाई सीमा नाकाबाट आवागमन गर्न अनुमति दिइने छैन।
जिल्ला प्रहरी कार्यालय बाँकेले जमुनाहा नाकासहितका सहायक नाकामा सुरक्षाकर्मीको संख्या वृद्धि गरी १८ फागुनदेखि २१ फागुन रातिसम्म निरन्तर गस्ती सञ्चालन गरेको जनाएको छ। प्रहरी उपरीक्षक अंगुर जिसीका अनुसार सीमा क्षेत्रका अधिकांश मतदानस्थल अति संवेदनशील रहेकाले सुरक्षा व्यवस्था कडा बनाइएको छ। साथै, दुवै देशका सुरक्षाकर्मीबीच संयुक्त गस्तीसमेत सुरु गरिएको जनाइएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)














प्रतिक्रिया