Nepal Life

सभापति गगन थापाको राजीनामा समाधान होइन : शून्यबाट नयाँ संघर्ष सुरु गर्नुपर्ने बेला - सुनिल शर्मा

NMB Bank
  • BFIS News
  • 2026 Mar 08 08:38
सभापति गगन थापाको राजीनामा समाधान होइन : शून्यबाट नयाँ संघर्ष सुरु गर्नुपर्ने बेला - सुनिल शर्मा
National Life

काठमाडौं। नेपाली कांग्रेसका नेता सुनिल शर्माले पार्टीको वर्तमान संकट समाधानका लागि सभापति गगन थापाको राजीनामा नै निकास नभएको बताएका छन्। उनले अहिलेको परिस्थितिमा भावनात्मक प्रतिक्रिया भन्दा आत्मसमीक्षा र नयाँ ढंगले अघि बढ्न आवश्यक रहेको बताएका हुन्।

Shikhar
NIMB

नेता शर्माले कठिन घडीमा सभापति थापाको राजीनामा माग्नु वा दिनु समाधान नभई क्षणिक भावावेश मात्र हुने उल्लेख गरे। नेतृत्वको हैसियतले सभापतिमाथि नैतिक जिम्मेवारी रहने भए पनि अहिलेको संकटको मूल कारण दशकौँदेखि चल्दै आएको फोहोरी र अवसरवादी राजनीति भएको उनको भनाइ छ। सम्पूर्ण असफलताको दोष एउटै व्यक्तिको काँधमा थोपर्नु राजनीतिक रूपमा न्यायोचित नहुने उनले बताएका छन्।

उनले पार्टीभित्र सबैले आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औँल्याउँदै विशेष महाधिवेशन नभई पुरानै नेतृत्व शैली र संरचनामा चुनाव लडिएको भए पार्टीको अवस्था अझ गम्भीर हुन सक्ने प्रश्न पनि उठाएका छन्। हाल देखिएको पराजय कुनै एक व्यक्तिको कारण मात्र नभई विगतमा भएका गलत निर्णय, जनभावना विपरीतका गतिविधि र पुरानो नेतृत्वको कमजोर कार्यशैलीको दीर्घकालीन परिणाम भएको शर्माको तर्क छ।
शर्माले जनताको मन दुखाउने र विश्वास कमजोर बनाउने कामको जिम्मेवारी पुरानो नेतृत्व र सम्बन्धित व्यक्तिहरूले लिनुपर्ने पनि बताए।

उनले अब विगतलाई दोष दिँदै जिम्मेवारीबाट पन्छिने समय नभएको उल्लेख गर्दै पार्टीको एकता र सहकार्यमा जोड दिएका छन्। उनले नेपाली कांग्रेसको इतिहासमा कोइराला परिवारले लोकतन्त्र, त्याग र संघर्षको प्रतीकका रूपमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गराउँदै वर्तमान संक्रमणकालीन अवस्थामा पनि एकता र विवेकपूर्ण नेतृत्व आवश्यक रहेको बताए।

नेता शर्माले विगतका कमजोरीबाट पाठ सिक्दै शून्यबाट नयाँ संघर्ष सुरु गर्नुपर्नेमा जोड दिँदै जनताको गुमेको भरोसा पुनः जित्न सबैले काँधमा काँध मिलाएर अघि बढ्नुपर्ने बताएका छन्।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया