इरानलाई ट्रम्पको बिनासर्त आत्मसमर्पणको चेतावनी, युद्ध थप फैलिँदै
- BFIS News
- 2026 Mar 08 12:09
काठमाडौँ, फागुन २४ गते । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई तत्काल बिनासर्त आत्मसमर्पण गर्न चेतावनी दिनुभएको छ। आठ दिनदेखि जारी अमेरिका–इजरायल र इरानबीचको युद्ध लम्बिँदै जाँदा ट्रम्पले आत्मसमर्पण नगरे इरानले अकल्पनीय विनाशको सामना गर्नुपर्ने चेतावनी दिनुभएको अमेरिकी सञ्चार संस्था सिएनएनले जनाएको छ।
इरानका राष्ट्रपति मसुद पेजेस्किनले भने कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने अडान व्यक्त गर्नुभएको छ। टेलिभिजन सम्बोधनमार्फत् उहाँले अमेरिकासामु नझुक्ने बताउँदै छिमेकी खाडी राष्ट्रमा गरिएको आक्रमणप्रति क्षमायाचना गर्नुभएको छ।
युद्ध चर्किँदै जाँदा पश्चिम एसिया क्षेत्रमा सैन्य गतिविधि तीव्र बनेको छ। लेबनान, सिरिया र इराकसम्म क्षेप्यास्त्र प्रहार, ड्रोन आक्रमण र विस्फोटका घटनाहरू भइरहेका छन्। दुबई र बहराइनका राजधानीमा पनि शक्तिशाली विस्फोटको आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
यसैबीच अमेरिकी विदेश मन्त्रालयले इजरायललाई १२ हजार बम क्यासिङ बिक्री गर्न ‘आपत्कालीन’ स्वीकृति दिएको छ। अमेरिकी सेनाका अनुसार द्वन्द्व सुरु भएको पहिलो सातामै तीन हजारभन्दा बढी लक्ष्यमा आक्रमण गरिएको छ।
इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणपछि इजरायली सेनाले देशभरि हवाई आक्रमणको चेतावनी जारी गरेको छ। इरानले आफ्नो सर्वोच्च नेता आयातोल्लाहा अली खामेनीको हत्या र संयुक्त सैन्य कारबाहीको बदला लिन इजरायलमाथि लगातार आक्रमण गरिरहेको जनाएको छ।
यसक्रममा लेबनान र सिरिया सीमामा पनि तनाव बढेको छ। तेहरान समर्थित हेजबुल्लाहले इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेपछि इजरायलले लेबनानतर्फ थप सेना पठाएको छ। खाडी क्षेत्रमा पनि आक्रमणको प्रयास भइरहेका छन् भने साउदी अरेबियाले अमेरिकी सैन्य कर्मचारी बसोबास गर्ने हवाई अड्डातर्फ प्रहार गरिएको ब्यालेस्टिक क्षेप्यास्त्र अवरोध गरिएको जनाएको छ।
युद्धको प्रभाव विश्व अर्थतन्त्रमा पनि देखिन थालेको छ। खाडी क्षेत्रमा तेल आपूर्ति अवरुद्ध हुने आशङ्काले कच्चा तेलको मूल्य १२ प्रतिशतले बढेर प्रतिब्यारेल ९०.९२ अमेरिकी डलर पुगेको छ।
दक्षिणी लेबनानमा संयुक्त राष्ट्रसङ्घको शान्ति सेनाको आधार क्षेत्रमा भएको आक्रमणमा घानाका धेरै शान्ति सैनिक घाइते भएका छन्। उता फ्रान्सले पनि भूमध्यसागर क्षेत्रमा हेलिकोप्टर बोक्ने जहाज तैनाथ गर्दै सैन्य उपस्थिति बढाएको जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)














प्रतिक्रिया