Nepal Life

२५ वर्षका प्रशान्त उप्रेती मकवानपुर–२ बाट विजयी, सम्भवतः प्रतिनिधिसभाका कान्छा सांसद

NMB Bank
  • BFIS News
  • 2026 Mar 08 21:18
२५ वर्षका प्रशान्त उप्रेती मकवानपुर–२ बाट विजयी, सम्भवतः प्रतिनिधिसभाका कान्छा सांसद
National Life

हेटौँडा, फागुन २४ गते । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत मकवानपुर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रशान्त उप्रेती विजयी हुनुभएको छ। २५ वर्षको उमेरमै निर्वाचित उप्रेती सम्भवतः यस पटक प्रतिनिधिसभामा पुग्ने सबैभन्दा कान्छा सांसद बन्नुभएको छ।

 

Shikhar
NIMB

नयाँ पुस्ताका उम्मेदवार उप्रेतीले पुराना दलका उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गर्दै आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको हो। देशभरबाट निर्वाचित सांसदहरूमध्ये उहाँ सबैभन्दा कम उमेरका प्रतिनिधि बन्नुभएको छ।

मतपरिणामअनुसार उप्रेतीले ३० हजार ५० मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का महेश बर्तौलाले १८ हजार ८४६ मत ल्याउनुभएको छ। उप्रेतीले बर्तौलालाई ११ हजार २०४ मतान्तरले पराजित गर्नुभएको हो।

प्रतिनिधिसभामा यसपटक म्याग्दी–१ बाट स्वतन्त्र उम्मेदवार महावीर पुन, मनाङ–१ बाट नेपाली काँग्रेसका टेकबहादुर गुरुङ तथा रुकुम पूर्व–१ बाट नेपाली कम्युनिस्ट पार्टीका पुष्पकमल दाहाल ‘प्रचण्ड’ जस्ता ७० वर्षभन्दा माथिका नेताहरू निर्वाचित भइरहँदा मकवानपुरबाट विजयी उप्रेती भने सबैभन्दा कम उमेरका सांसद बन्नुभएको छ।

मनहरी गाउँपालिका–७ निवासी उप्रेतीले विजयपछि प्रतिक्रिया दिँदै परिवर्तन चाहने र देश समृद्ध हुनुपर्छ भन्ने जनताको चाहनाको जित भएको बताउनुभयो। उहाँले हिजोको निराशालाई आशामा बदल्दै समाजमा सकारात्मकता फैलाउनु आफ्नो जिम्मेवारी भएको उल्लेख गर्नुभयो।

उहाँले आफ्नो कार्यकालभर जनतामाझ रहेर जनमुखी ढङ्गले काम गर्ने र जनताका समस्या समाधानका लागि इमान्दार तथा नैतिक रूपमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। फरक राजनीतिक शैलीमार्फत काम गर्ने उहाँको भनाइ छ।

पहिलो प्रयासमै उप्रेतीले लामो समयदेखि वामपन्थी दलहरूको प्रभाव रहेको क्षेत्रमा विजय हासिल गर्नुभएको हो। मकवानपुर–२ लाई २०४८ सालदेखि वामपन्थी दलहरूको बलियो क्षेत्र मानिँदै आएको थियो। यसअघि भएका प्रतिनिधिसभा तथा संविधानसभा निर्वाचनमा पनि यहाँबाट वामपन्थी उम्मेदवारहरू नै विजयी हुँदै आएका थिए।

विसं २०५७ जेठ १० गते जन्मनुभएका उप्रेती हाल काठमाडौं विश्वविद्यालयको शिक्षा सङ्कायमा नेतृत्व तथा व्यवस्थापन विषयमा शिक्षाशास्त्र (एमएड) अध्ययनरत हुनुहुन्छ। यसअघि उहाँले नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटेल म्यानेजमेन्टबाट ब्याचलर अफ ट्राभल एन्ड टुरिजम म्यानेजमेन्ट (बीटीटीएम) उत्तीर्ण गर्नुभएको थियो।

सन् २०१८ मा ग्लोबल कलेज अफ म्यानेजमेन्ट, काठमाडौंबाट व्यवस्थापन विषयमा कक्षा १२ उत्तीर्ण गर्नुभएका उप्रेती यसअघि काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र साहको सचिवालयमा काम गर्दै आउनुभएको थियो। सोही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीले उहाँलाई मकवानपुर–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको थियो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया