सरकारी धरपकडले शेयर बजार तरङ्गित, लगानीकर्तामा त्रास तर आशा कायमै
- BFIS News
- 2026 Apr 16 15:51
काठमाडौँ । पछिल्लो समय सरकारले व्यवसायीहरूमाथि धरपकड तीव्र बनाउँदै लगेपछि शेयर बजारका लगानीकर्तामा त्रासको वातावरण सिर्जना भएको छ। विशेषगरी २०६४ साल यता राज्यका उच्च पदस्थ कर्मचारीदेखि राजनीतिज्ञसम्मको सम्पत्ति छानबिन गर्ने सरकारी निर्णयले आज शेयर बजार थप तरङ्गित बनेको हो।
सरकार सुसासनको पक्षमा उभिँदै विगतका भ्रष्टाचारका जालो तोड्ने अभियानमा सक्रिय देखिएको छ। यस क्रममा उद्यमी–व्यवसायीहरूमाथि पनि नियन्त्रण कडा पारिँदै गएको छ। सार्वजनिक रूपमा चिनिएका केही ठूला व्यवसायी तथा उद्यमीलाई समेत पक्राउ गरिएको छ, जसमा दोस्रो बजारमा सूचिकृत कम्पनीका संस्थापक शेयरधनीहरूको संख्या उल्लेख्य रहेको छ। विशेषगरी मारवाडी समुदायका व्यवसायीहरूलाई लक्षित गरिएको आरोप पनि उठ्न थालेको छ।
सरकारले जुन ढंगले पक्राउ प्रक्रिया अघि बढाइरहेको छ, त्यसको अन्त्य कसरी हुन्छ भन्ने विषय अझै अनिश्चित छ। यद्यपि, हालसम्म लगानीकर्ताहरूले व्यापक रूपमा शेयर डाइभर्सन भने गरेका छैनन्। एक ब्रोकरका अनुसार अहिलेको शेयर बजार कुनै निश्चित समूह वा व्यक्तिको नियन्त्रणमा छैन, बरु लाखौँ लगानीकर्तामा फैलिसकेको छ। त्यसैले केही व्यवसायी पक्राउ पर्दैमा बजार क्र्यास हुने अवस्था नरहेको उनको तर्क छ।
लगातार पक्राउका घटनाले लगानीकर्ताको मनोबल कमजोर बनाएको भए पनि ठूलो परिमाणमा शेयर बिक्री गरेर बजारबाट बाहिरिने प्रवृत्ति भने देखिएको छैन। विश्लेषकहरूका अनुसार वर्तमान धरपकड क्रम विस्तारै समाधानतर्फ उन्मुख भए बजार पुनः पुरानै लयमा फर्किने सम्भावना रहेको छ।
पछिल्ला दिनहरूमा दैनिक ९ देखि १० अर्ब रुपैयाँसम्मको कारोबार भइरहेको छ। तीन महिनाको अवधिमा शेयर बजार २६१४ अंकबाट बढेर २६६० अंकसम्म पुगेको थियो। सरकार गठनपछि केही गिरावट आएर २६७६ अंकसम्म झरे पनि त्यसपछि बजार पुनः सुधार हुँदै २८६६ अंकसम्म उक्लिएको छ। यसले लगानीकर्ताको कमजोर मनोबलका बाबजुद पनि बजारमा सुधारको संकेत देखिएको विश्लेषकहरू बताउँछन्।
आगामी दिनमा लगानीकर्ताहरूको ध्यान अब नयाँ आर्थिक वर्षको बजेटतर्फ केन्द्रित हुने देखिन्छ। बजेट अघि केही अड्कलबाजी (स्पेकुलेसन) हुने निश्चित रहेको र त्यसपछि बजेटको प्रभावअनुसार बजारले दिशा लिने अनुमान गरिएको छ।
हाल बैंकिङ प्रणालीमा रहेको अधिक तरलताले बजारलाई केही समयसम्म कुनै पनि झट्काबाट जोगाउने क्षमता राख्ने देखिन्छ। तर यदि तरलता घट्दै जाने अवस्था आयो भने मात्र शेयर बजारमा गिरावट आउन सक्ने विश्लेषण गरिएको छ। अन्यथा, बजार सुधारकै लयमा अघि बढ्ने अपेक्षा गरिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया